काठमाडौं - इजरायल–इरान युद्धमा अमेरिका संलग्न भएपछि विश्वै चिन्ता बढिरहेको छ । यसबीच अमेरिकाले इरानको परमाणु केन्द्रमा गरेको हवाइ आक्रमणले अर्को विश्व युद्धको संकेत गरेको रुपमा पनि बुझ्न थालिएको छ । इरानलाई वार्तामा आउन बाध्य पार्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारवाही गर्ने चेतावनी दिएका छन् ।
इरानको परमाणु केन्द्रमा हिजो हमला गरेलगत्तै टेलिभिजनमार्फत सम्बोधन गरेका उनले त्यहाँका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूरै ध्वस्त पारिएको जिकिरसमेत गरे । इरानले अब शान्ति कायम गर्नुपर्ने अन्यथा थप कारवाही गर्ने ट्रम्पको चेतावनी छ ।
‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला हुनेछन्’, उनले भने । सम्बोधनका क्रममा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै ट्रम्पले इजरायलका लागि भयानक खतरा टार्न एकसाथ काम गरेको दाबी गरेका छन् ।
तर इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले आफूहरुले केही समयअघि तीन आणविकस्थलहरू खाली गरिसकेको बताएका छन् ।
अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक केन्द्र फोर्डो, नातान्ज र एस्फहानमा ठूलो र सटिक आक्रमण गरेको बताउँदै उनले आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर दोहोर्याए । तर, इरानले भने अमेरिकी दाबीको खण्डन गरेको छ ।
प्रतिक्रिया