काठमाडौं - शहरी विकास मन्त्री नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह रहेका छन् । आइतबार उनै प्रकाशमानमाथि नेपाली कांग्रेसकै सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले संसदमा आक्रोश पोखे । उनले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेको भन्दै ८४ मा प्रकाशमान र अर्थमन्त्री विष्णु पौडेललाई संसदमा देख्न नपाइने पनि घोषणा गरे । तर, शहरी विकास मन्त्रालयले ल्याएको बजेटमा भने उनले भनेको जस्तो बजेट नै नपरेको देखिँदैन। रामेछापमा शहरी विकास मन्त्रालयबाट ६६ योजनाका लागि ८४ करोड ४७ लाख विनियोजन भएको देखिन्छ।
कान्छारामको आक्रोश जिल्लामा बजेट नपरेकोमा हैन कि ७० करोडको ठेक्का तोडिएकोमा हो भन्ने मन्त्रालय स्रोतको दाबी छ ।
निर्माण व्यवसायीसमेत रहेका सांसद तामाङले देशका विभन्न भागमा ठेक्का लिएर अधुरै छोडेकोले उनको निर्माण कम्पनि कालोसूचिमा परेको छ ।
पटक पटकको ताकेता पश्चात् पनि कार्य प्रगति नभएकाले ठेक्का तोड्नु परेको मन्त्रालयले जनाएको छ। तर तामाङले पटक पटक सो ठेक्काको म्याद थप गर्न उपप्रधानमन्त्री सिंहसँग ताकेता गरे पनि कानुन र नियमविपरीत ठेक्काको म्याद थप्न उपप्रधानमन्त्री सिंह तयार भएनन्। जिल्लामा शहरी विकास मन्त्रालयबाट सन्तोषजनक बजेट गएपछि तामाङको आक्रोशको कारण भने नियमविपरीत ठेक्काको म्याद नथपिनु रहेको स्रोतको दाबी छ।
तामाङको कान्छाराम निर्माण कम्पनीले शहरी विकास मन्त्रालय अन्तर्गतको ७० करोडको ठेक्का पाए पनि पटक–पटक म्याद थप्दा समेत काम सम्पन्न नगरेको भन्दै ठेक्का तोडिएको थियो। यही झोकमा उनले आफ्नै पार्टीबाट मन्त्री बनेका प्रकाशमानको उछितो काढेको बताइन्छ ।
प्रतिक्रिया