काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा सञ्चालित हस्ताक्षर अभियानप्रति चर्को आलोचना सुरु भएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको पक्षमा जनताबाट हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई सामाजिक सञ्जालमा तीव्र रुपमा प्रश्न उठ्न थालेका छन् ।
रविका कट्टर विरोधी मानिने एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पैसा उहाँले ठग्नुभएको होइन” भनेर पीडितहरूसँगै हस्ताक्षर गराउनु बेस । पीडितको पीडामा नेताको मुक्ति अभियान चलाउनु न्यायको खिल्ली उडाउनु हो ।’ उनले थप लेखेका छन्, ‘नेताको गुलाम बन्नु होइन, पीडित जनताको पक्षमा उभिनु न्याय हो । यदि न्यायलाई नाटक बनाइन थालियो भने मकै पोल्ने ती आम बचतकर्ताहरूको श्राप लाग्छ ।’
पत्रकारिता क्षेत्र र राजनीतिमा विवादास्पद ढंगले चर्चामा आएका लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा मात्रै छैनन्, उनलाई अहिले पुर्पक्षका लागि कारागारमा राखिएको छ । ठगी प्रकरणमा मुछिएका विभिन्न व्यक्तिहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेको समयमा लामिछानेको पक्षमा ‘जनमत निर्माण’ गर्ने प्रयासप्रति आलोचकहरूले प्रश्न उठाएका हुन् ।
‘न्यायको फैसला अदालतमा हुन्छ, भीडमा होइन’ भन्ने स्पष्ट सन्देशसहित एमाले नेता महेश बस्नेतले यस्ता हस्ताक्षर संकलन अभियानलाई ‘न्यायप्रति हस्तक्षेप’ र ‘आम मानिसको पीडासँग खेलवाड’ भन्दै विरोध जनाएका छन् ।
प्रतिक्रिया