काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य नीति निर्माता, बौद्धिक तथा अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिनुभएको छ । जनसङ्ख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ क्रियाशील नेपालीसँग छलफल गरेका हुन् ।
नेपाली राजदूतावासको आयोजनामा बैंकककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्योपचार प्रणाली, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य बिमाबारेमा थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ । दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा थप उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे ।
“हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयत्नशील छौँ, तपाईँहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ”, मन्त्री पौडेलले भने ।
थाइल्याण्डका लागि नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरु चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास तथा नीति निर्माणसँगै व्यवसायमा संलग्न रहेका उल्लेख गर्दै उहाँहरूको अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको मार्गप्रशस्त गर्ने बताए ।
अन्तक्र्रियामा सहभागी स्वास्थ्य सेवाप्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताउनुभयो । साथै, सहभागी स्वास्थ्य बिमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए । मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया