काठमाडौं– राजनीतिक दल सञ्चालनका लागि आम्दानीको प्रमुख स्रोतमध्ये एक पार्टी सदस्यबाटै संकलित रकम पनि हो । त्यसका अलावा लाभको पदमा रहेका नेता र अन्य शुभेच्छुकहरुले पनि स्वेच्छापूर्वक आर्थिक सहयोग दिने गर्छन् । अझै कम्युनिष्ट पार्टीका नेताहरुले त झन् पार्टीकै लागि आफ्नो पैत्रिक सम्पत्ति समेत विगतमा बुझाएको इतिहास छ ।
देशकै दुई ठूला कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा(एमाले)को संगठित र सुव्यवस्थित पार्टीगत संरचना छ । हरेक पार्टी सदस्यदेखि केन्द्रीय स्तरका नेताहरुले तोकिएको सदस्यता शुल्क र लेबी नियमित तिर्ने गर्छन् । बुधबार मात्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं पार्टी कार्यालयमै उपस्थित भएर आफ्नो एक वर्षको सदस्यता शुल्क र लेबी बुझाएका छन् । उनले आफ्नो एक वर्षको पार्टी सदस्यता शुल्क र लेबी बापतको ३ लाख ३ हजार ६०० रुपैयाँ पार्टी कार्यालयमा पुगेर केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीलाई बुझाएका हुन् ।
अर्को माओवादीमा भने सांगठनिक प्रणाली भद्रगोल भएजस्तै आर्थिक आयआर्जन पनि अस्तव्यस्त रहेको बताइन्छ । यस अघि सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा समेत आर्थिक रुपमा घाटामा रहेको देखिएको थियो ।
एमाले अध्यक्ष ओलीले नियमित रुपमा आफैं लेबी र सदस्यता बुझाए पनि माओवादीमा भने अध्यक्ष प्रचण्डको लेबी र सदस्यता शुल्क स्वतः सांसदको तलबबाट काटिएर पार्टीको खातामा जम्मा हुने गरेको माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय बताउँछन् ।
उनका अनुसार अध्यक्ष प्रचण्डको मासिक १२ हजार रुपैयाँ लेबी बापतको रकम र वार्षिक २५ रुपैयाँ सदस्यता नवीकरण शुल्क पार्टीको खातामा नियमित जम्मा हुँदै आएको छ ।
एमाले अध्यक्ष ओलीको जस्तो देखावटी गर्न आवश्यक नरहेको बताउँदै माओवादी कार्यालय सचिव उपाध्यायले पार्टी अध्यक्षको सदस्यता र लेबीको रकम सिधै पार्टीको खातामा जम्मा हुने गरेको बताए ।
उनले आजको अर्थसँग भने, ‘अध्यक्ष सांसद पनि भएकाले लेबी बापतको मासिक १२ हजार र सदस्यता नवीकरणको वार्षिक २५ रुपैयाँ नियमित जम्मा हुँदै आइरहेको छ ।’ माओवादीमा सदस्यता नवीकरण शुल्क सबैलाई समान रहेको उनको भनाइ छ ।
प्रतिक्रिया