काठमाडौं- नेपाल इन्जिनियरिङ कलेजमा हुन गइरहेको नेक इग्नियमको प्रचारप्रसारका लागि कलेजका विद्यार्थीहरूले राजधानीका विभिन्न कलेजहरूमा आकर्षक फ्ल्यास मोब प्रदर्शन गरेका छन् ।
फ्ल्यास मोब भनेको कुनै सार्वजनिक स्थानमा एक्कासी सुरु हुने सामूहिक नृत्य प्रदर्शन हो, जसले मानिसहरूको ध्यान खिच्छ र रमाइलो वातावरण सिर्जना गर्छ । शुक्रबार अभियानअन्तर्गत विद्यार्थीहरूले काठमाडौं उपत्यकाका विभिन्न इन्जिनियरिङ कलेजहरूमा नेपाली लोक, शास्त्रीय तथा आधुनिक नृत्यलाई समेटेर तयार पारिएको ऊर्जा र जोशले भरिएको प्रस्तुति देखाए ।
कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार, ‘नेक इग्नियमको प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउन यो फ्ल्यास मोब आयोजना गरिएको हो । यसले युवाहरूको सृजनात्मकता र सांस्कृतिक चेतनालाई उजागर गर्नुका साथै कार्यक्रम प्रति उत्साह सिर्जना गरेको छ ।’
नेक इग्नियम कलेजले प्रत्येक वर्ष आयोजना गर्ने विशेष कार्यक्रम हो, जसमा नेपाली कला, संस्कृति, सूचना, प्रविधि र इन्जिनियरिङ क्षेत्रलाई समेटिन्छ । यस कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न अवसर प्रदान गर्नुका साथै इन्जिनियरिङ शिक्षाको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा प्लस टू, डिप्लोमा तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरूले सहभागीता जनाउन पाउने छन् । नेक इग्नियम असार १९ गते कलेज परिसरमा हुनेछ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने उत्कृष्ट शैक्षिक संस्था हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक, स्नातकोत्तर सम्मको अध्यापन हुने गरेको छ । कलेजलाई नेपाल इन्जिनियरिङ परिषदले स्थायी अनुमति दिएको छ ।
प्रतिक्रिया