काठमाडौं- फ्रान्सले सार्वजनिक स्थानमा धूमपान पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
सरकारको नयाँ नियमअनुसार पुस्तकालय, स्विमिङ पुल र विद्यालयबाहिर पनि धूमपान गर्न अनुमति दिइने छैन । यो नियम पहिले जुलाई १ देखि लागू हुने भनिएको थियो, तर अब जुन २९ देखि लागू गरिएको छ ।
बालबालिकालाई चुरोटको धुवाँबाट जोगाउन यो कदम चालिएको हो । यद्यपि, यस नियममा ई–चुरोटबारे केही उल्लेख छैन । यदि कसैले यो नियम तोड्यो भने उसले १३५ युरो जरिवाना तिर्नुपर्ने बताइएको छ । यद्यपि, क्याफे र बारहरू, बाहिरका ठाउँहरू (टेरेसहरू) मा यो प्रतिबन्ध लागू हुने छैन ।
फ्रान्समा प्रत्येक वर्ष चुरोटबाट हुने रोगका कारण लगभग ७५ हजार मानिसहरूको मृत्यु हुन्छ । हालै गरिएको एक सर्वेक्षणमा, ६२ प्रतिशत मानिसहरू सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध लगाउने पक्षमा देखिएका थिए ।
फ्रान्सले सन् २००८ देखि रेष्टुरेन्ट र नाइटक्लब जस्ता ठाउँहरूमा धूमपान प्रतिबन्ध लगाएको थियो । सरकारले २०३२ सम्ममा सुर्तीजन्य पदार्थमुक्त पुस्ता सिर्जना गर्ने लक्ष्य राखेको छ । बेलायत, स्विडेन र स्पेन जस्ता अन्य युरोपेली देशहरूले पनि सार्वजनिक स्थानहरूमा धूमपानमा कडा नियमहरू लगाएका छन् ।
स्विडेनले २०१९ मा रेस्टुरेन्ट, बस स्टप र विद्यालयहरू नजिक धूमपान प्रतिबन्ध लगाएको थियो । स्पेनले क्याफे र रेष्टुरेन्टहरूबाहिर पनि धूमपान प्रतिबन्ध लगाउने भएको छ । -एजेन्सी
प्रतिक्रिया