काठमाडौं- काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा गत आवको लेखापरीक्षणबाट बेरुजु शून्य कायम भएको छ । शून्य बेरुजु कायम गरेकोमा महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरेको छ ।
महालेखाको ६७ औं वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान गरे । आव ०८०/८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको लगती बेरुजु शून्य देखिएको भन्दै महालेखाले उनलाई सम्मान गरेको हो ।
गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीयरअन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फर्स्योट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो ।
अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिए । ‘हाम्रोभन्दा पनि कानुनसम्मत तरिकाले काम गर्यौँ,’ उनले भने, ‘कानुनबमोजिम मात्र काम गर्ने दृढसंकल्पले नै यो सम्भव भएको हो ।’
अघिल्लोपटक पनि यो गाउँपालिकाको बेरुजु शून्य नै थियो । जिम्बा गाउँपालिका अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका हुन् ।
गत आव ०८०/८१ मा स्थानीय तहहरूको बेरुजु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख छ ।
प्रतिक्रिया