बैंक तथा वित्तीय संस्थाको अवस्था : निष्कृय खाता ६ करोड माथि, खातावाला अपराधीको चंगुलमा पर्ने डर

सोमबार, ३० असार २०८२, ०९ : ४६

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निष्कृय खाताको संख्या बढेर वितीय अपराध बढाउने डर बढ्दो छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत निष्कृय खाता बढेको जनाइएको हो । नेपालको जनसंख्या ३ करोड हाराहारी रहेको अवस्थामा निष्कृय खाता ५ करोडमाथि पुगिसकेको छ । नेपालको हालको जनसंख्यालाई भाग लगाउँदा प्रति व्यक्ति दुई वटा निष्कृय खाता पुग्ने देखिएको छ । तर नेपालमा वितीय पहुँच ७० प्रतिशत नागरिकसम्म मात्र पुगेको अवस्था छ । 

यसरी निष्कृय खाता बढ्दा वितीय अपराधको श्रृखलामा बढोत्तरी हुने त्रास पनि उत्तिकै छ । मानव तस्करी, लागूऔषध तस्करी, भष्ट्राचार, सम्पत्ती शुद्धिकरणको मुद्दा जस्ता जघन्य अपराधमा निष्कृय खाताको प्रयोग हुन सक्ने जोखिम बढ्दो छ । निष्कृय खाताको संख्यालाई न्युनिकरण गर्न तर्फ ध्यान नगए वास्तविक खातावालाले कानूनी झमेला झेल्नुपर्ने र अपराधिक गिरोहले लाभ उठाउन सक्ने प्रष्टै देखिएको छ ।

के हो निष्कृय खाता ?

खातावालाले खाता खोलेको केहि समय रकम जम्मा गरिसकेपछि त्यसलाई जानी–नजानी स्थिर छोड्छन् वा खाता बन्द गर्नुको सट्टा खाता व्यालेन्स शून्य वा नाम मात्रको मूल्यमा झर्न दिन्छन् । अन्ततः ती खाता निष्कृय खाता भइदिन्छन् । अधिकांश बैंक तथा वितीय संस्थाहरुले बचत खाता, चालू खाता र अन्य प्रकारका निक्षेप खाताहरुलाई निष्कृयको रुपमा वर्गीकृत गर्दछन् जहाँ ती खाताहरुमा निश्चित समयावधि पछि सुरुको लेनदेन जस्तै व्याज र शुल्क बाहेक अन्य कुनै क्रियाकलाप हुँदैन । 

यो अवधि बैंक तथा वितीय संस्थापिच्छे फरक पर्न जान्छ । तर सामान्यतया ६ महिना वा सोभन्दा बढी हुन्छ । निष्कृय खातामा पैसाको प्रयोगलाई उचित मानिदैंन् । अधिकांश बैंकहरुले निष्कृय खातामा थोरै शुल्क लिन्छन् । हामीले औपचारिक रुपमा खाता बन्द गरेनौं भने शुल्क लाग्न जारी रहन्छ जुन हामी आफैले बैंक तथा वितीय संस्थालाई भुक्तान गर्नका लागि जिम्मेवार रहन्छौं । निष्कृय खाता भएकाहरुलाई ए.टि.एम. जस्ता निश्चित सेवाहरु प्रदान गर्न बन्द गर्न सक्दछन् ।

बैंकमा निष्कृय खाताको अवस्था र जोखिम

बैंक तथा वितीय संस्थामा निक्षेपतर्फ निष्कृय खाता ५ करोड ९४ लाख पुगिसकेको छ । नेपालको हालको ३ करोड जनसंख्यालाई भाग लगाउँदा यो निष्कृय खाता प्रति व्यक्ति २ वटा पुग्दछ । तर ७० प्रतिशत मात्रै वितीय पहुँच भएको मुलुकमा यत्रो निष्कृय खाता हुँदा वितीय अपराधको जोखिम उच्च छ । यदि बैंकको तथ्याङ्गकमा निष्कृय खाताहरुको सम्पर्क जानकारी पुरानो छ र हामीले आफ्नो बैंकलाई समयमै सूचित गरेको छैन भने बैंकले हामीलाई सम्पर्क गर्ने कुनै तरिका छैन र त्यसैले बयान÷सूचनाहरु हाम्रो पुरानो ठेगाना वा सम्पर्क नम्बरमा पठाइरहन सक्छ जुन अरुले पढ्न सक्दछन् । 

हामीले बैंकको महत्वपूर्ण सूचनाहरु र सन्देश पनि छुटाउन सक्छौं । निष्कृय खाताहरुको क्रियाकलापका ट्रयाक राख्नका लागि हामीलाई कम प्रोत्साहन हुने भएकाले हाम्रो लेनदेनहरु अनुगमन गर्न बयानहरु मिलाउनमा कम सर्तक हुन सक्छन् । यसले अनाधिकृत कारोबार केहि समयका लागि ओझेलमा पर्न सक्ने जोखिम बढी हुन्छ । निष्कृय खाताहरु वितीय अपराधमा जोडिन सक्ने सम्भावना उच्च हुन्छ । 

‘बैंक तथा वितीय संस्थामा धेरै खातावालाले नो योर कस्टमर (के.वाइ.सी.) फर्ममा आफ्ना विवरण दिएका हुन्छन् । सहि समयमा के.वाइ.सी. अद्यावधिक नगरेको हुन सक्दछ । बैंक तथा वितीय संस्थाको डेटावेसमा भएको खातालाई एक–एक गरि बैंकका कर्मचारीले निरिक्षण र अनुगमन गर्न सम्भव हुदैन् । यी खाताबाट एक वा दुई वटा घटना घट्न सक्ने अवस्था रहन्छ ।’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले आजको अर्थलाई जानकारी गराए । मानव तसकरी, लागूऔषध तस्करी, भष्ट्राचार, सम्पत्ती शुद्धिकरण लगायतका वितीय क्षेत्रसँग जोडिएका अपराधहरु निष्कृय खाताबाट सञ्चालन हुन सक्दछन् । 

‘सम्भवतः सक्रिय खाताबाट पनि यस्ता वितीय अपराध हुन सक्दछन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई कारोबारको ५ प्रतिशत रकम दिने प्रलोभनमा उनीहरुको खाताको गलत प्रयोग गरि वितीय अपराध भएका घटना धेरै छन् । ती नागरिकलाई झुक्याउएर सक्रिय खाताबाट पनि वितीय अपराध भएका छन् । कानूनी झमेलामा फसेका घटना धेरै छन् । तर यस्ता घटना सक्रिय खाताको तुलानामा निष्कृय खातामा धेरै हुने गरेको पाइएको छ ।’, बैंकिङ्ग विज्ञ अनलराज भट्टराईले आजको अर्थलाई बताए । 

जोखिम न्यनीकरणमा नियामक निकायको भूमिका र विज्ञको सुझाव

‘नेपाल राष्ट्र बैंकले निष्कृय खातामा अन्य व्यक्तिले खाता सञ्चालन गर्ने (मनी म्युल) प्रवृत्तिले सिर्जना गरेको जोखिमसमेतलाई दृष्टिगत गरी निष्कृय खातालाई न्युन गर्न कार्ययोजना बनाई लागू गरिने छ । २० वर्षभन्दा बढी प्रयोगमा नआएका खातामा रहेको रकम कोषमा ल्याइनेछ । उक्त रकम हकवालाले दाबी गर्न आए पाइने व्यवस्था छ । यसले निष्कृय खाताबाट हुने वितीय अपराधका जोखिमलाई केहि प्रतिशत हल गर्ने छ ।’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले जानकारी गराए । राष्ट्र बैंकको कार्ययोजनाले निष्कृय खाताबाट हुने समस्यालाई कम गर्न पहिलो चरणमा स्थितिको समीक्षा गर्नेछ । दोस्रो चरणमा जोखिमलाई कम गर्दै लैजाने तयारी गरेको छ । तेस्रो चरणमा समयरेखामा आधारित रहि जोखिम कम गराउनेतर्फ ध्यान केन्द्रित रहने छ । आर्थिक वर्ष २०८२÷०८३ को मौद्रिक नीति आगामी साउन १ गतेबाट लागू हुँदै गर्दा यो विषयले निरन्तरता पाउने छ । 

बैंक तथा वितीय संस्थाको के.वाई.सी. फारममा ग्राहकले आफ्नो मोबाइल नम्बर प्रदान गरि सम्पूर्ण वितीय कारोबारको सूचना त्यही नम्बरबाट लिने गर्दछ । तर सम्बन्धित ग्राहकले उक्त मोबाइल नम्बर ६ महिनासम्म नचलाए अर्को व्यक्तिलाई सेवाप्रदायकले दिने गर्दछ । यसबाट सम्पूर्ण वितीय विवरण अर्को नागरिकको हातमा पुग्दछ । सूचना चुहावटसँगै वितीय अपराधको जोखिम बढ्न सक्दछ । यस जोखिमलाई न्युनिकरण गर्नका लागि सेवाप्रदायक कम्पनीले मोबाइल नम्बर अर्को नागरिकलाई हस्तान्तरण गर्न नहुने व्यवस्था मिलाउनुपर्ने हुन्छ । 

एउटै ग्राहकले विभिन्न बैंक तथा वितीय संस्थामा धेरै खाता खोलेको हुनसक्दछ । नेपाल सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्र जस्तै सेन्ट्रल के.वाइ.सी. को व्यवस्था गरि युनिक आइडि नम्बर बनाए निष्कृय खाताको समस्यामा कमी आउनसक्दछ । ‘ओपन बैंकिङ्गको विकासले डाउनलोड गरिएको एउटै एपबाट विभिन्न बैंक तथा वितीय संस्थामा भएका खाताको विवरण थाहा पाउन सकिन्छ । यसबाट ग्राहकले आफ्नो सम्पुर्ण खाताको विवरण थाहा पाउन सक्दछ । निष्कृय खाता हुने समस्याबाट छुटकारा पाउन सक्दछ ।’, बैंकिङ्ग विज्ञ अनलराज भट्टराईले बताए ।                 
                     
        
 

 
 
 
 
 
सोमबार, ३० असार २०८२, ०९ : ४६

प्रतिक्रिया