झापामा राहदानी बनाउनेको लर्को, एक महिनामै दुई हजार बढीले लिए राहदानी

मंगलबार, १० भदौ २०८२, ०९ : ०५

झापा– जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।
 
नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अंगीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताए । गत एक वर्षको तथ्यांकले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१÷८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या ३३ हजार २२४ पुगेको सहायक प्रजिअ निरौलाले जानकारी दिए । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए । उक्त आवमा बंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अङ्गीकृतको आधारमा छ सय ७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।

नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन् । साउनमा झापामा पाँच हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ । साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको सहायक प्रजिअ निरौलाले जानकारी दिए ।
 

 
मंगलबार, १० भदौ २०८२, ०९ : ०५

प्रतिक्रिया