काठमाडौ–त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको हो ।
विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी हुन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए ।
निर्णायकहरूमा प्र.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए । प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाएका थिए । प्रतियोगी सात समूहको गीतहरूको मूल्याङ्कनकर्ताहरूको मूल्याङ्कनका आधारमा पार्वती भट्टले प्रथम द्वितीय तृतीय हुने समूहको घोषणा गरेकी थिइन् ।
सातौँ समूह प्रथम भए पनि सबै समूहका गीतहरू उत्कृष्ट भएको र थोरै नम्बरमा फरक रहेको कुरा बताएकी थिइन् । प्रथम द्वितीय तृतीय हुने समूहलाई पुरस्कार र अन्य समूहका विद्यार्थीहरूलाई सान्त्वना पुरस्कार कार्यक्रमका प्रमुख अतिथि कृष्ण कँडेल, विशेष अतिथि रमेश दाहाल र कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख मुना राना थापाले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिलाई कदरपत्रसहित र मूल्याङ्कनकर्ताहरू तथा विशेष अतिथि एवं अतिथिहरूलाई मायाको चिनो वितरणसहित सभापतिको मन्तव्यमार्फत कार्यक्रम समापन गरिएको थियो ।
प्रतिक्रिया