तीन वाम पार्टीका नेता एउटै मञ्चमा, सबैको ध्यान बुटवलतिर

बुधबार, ११ भदौ २०८२, १४ : ३६

काठमाडौं– नेपालका प्रमुख वामपंथी पार्टीहरुमा आन्तरिक अन्तरविरोध बढ्दै जाँदा नयाँ ध्रुवीकरणको विषयमा बहस समेत तीव्र गतिमा अघि बढेको छ ।

यसैबीच एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा अन्तरविरोध चलिरहँदा तीन पार्टीका प्रभावशाली नेताहरुको अन्तरक्रिया कार्यक्रम बुटवलमा हुन लागेको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसी सहितको अन्तरक्रिया कार्यक्रम  रुपन्देहीको बुटवलमा हुन लागेको हो ।

शहिद बेपत्ता स्मृति प्रतिष्ठान, नेपालद्वारा बिहीबार बुटवलस्थित एसिशयन होटेल योगीकुटीमा आयोजित वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमको व्यापक तयारी भइरहेको छ ।

पछिल्लो समय माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपमहासचिव शर्माको अन्तरविरोध बढ्दो छ । अर्कोतिर एकीर्कत समाजवादीभित्र पनि अध्यक्ष माधव नेपाल र अर्का सम्मानित नेता झलनाथ खनालबीच असन्तुष्टि बढिरहँदा नेकपाका महासचिव विप्लवले नयाँ कम्युनिष्ट केन्द्रको चर्चा गरिरहेका छन् ।

यही समयमा हुन लागेको यो अन्तरक्रिया कार्यक्रमलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाका महासचिव विप्लवसी, एकीकृत समाजवादीका महासचिव भुसाल र माओवादी केन्द्रका उपमहासचिव शर्माले केही समयअघिदेखि सामूहिक रुपमा अन्तरक्रिया कार्यक्रम गर्दै सहकार्यलाई अघि बढाएका छन् ।

 
 
 
 
 
बुधबार, ११ भदौ २०८२, १४ : ३६

प्रतिक्रिया