काठमाडौं– कफी प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा लगानी खोज्ने भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको छोरा विजयसहित कफी व्यवसायी महासंघको जम्बो टोली अष्ट्रेलिया पुगेको छ ।
भ्रमण टोलीमा पालुङटारका पूर्वनगरप्रमुख सहित कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारी, महासचिव सन्तोष पोखरेल, बुटवलका कुकर क्याफेका सञ्चालक, भाइब्रेन्ट क्याफे र बुइङका हाउस, काठमाडौंका सञ्चालक समेत रहेका छन् ।
गोरखाको पालुङटार नगरपालिकाका पूर्वअध्यक्ष दिपक कँडेल समेत सहभागी रहेको आठदेखि दश जनाको उक्त भ्रमण टोली कफी उत्पादनका लागि अन्तर्राष्ट्रिय रुपमा लगानी खोज्ने भन्दै तीन वर्षे भिसा लगाएर अष्ट्रेलिया पुगेको हो । त्यस टोलीमा रहेकाहरु मध्ये कतिपय उतै अवैधरुपमा बस्ने प्रयोजनका लागि ठूलै आर्थिक रकम खर्चेर गएको बताइएको छ ।
स्रोतका अनुसार मन्त्री अधिकारीको छोरा विजयसहित अष्ट्रेलिया पुगेको कफी व्यवसायी महासंघको आठदेखि दश जनाको टोलीमा रहेकाहरु मध्ये केहीलाई अवैध रुपमा उतै बसाल्ने गरी खर्चको जोहो गरेर लगिएको हो । यसको मुख्य हर्ताकर्ता कफी व्यवसायी महासंघका अध्यक्ष र महासचिव रहेका छन् । उनीहरुले भ्रमण टोलीमा रहेका अन्यसँग करोडौं रकम असुलेर त्यहाँ लगेको स्रोतको दाबी छ ।
यस विषयमा जानकारी लिन कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलसँग ह्वाट्सअपमार्फत सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
कृषि मन्त्री रामनाथ अधिकारीसँग सम्पर्क गर्दा उनले आफ्नो छोरा विजय कफी व्यवसायी महासंघमा आबद्ध रहेको जिकिर गरे । तर, अहिले अष्ट्रेलिया गए/नगएको बारेमा भने आफूलाई जानकारी नभएको उनले बताए ।
उनले आजको अर्थसँग भने, ‘कफी व्यवसायी महासंघमा विगत आठ वर्षदेखि आबद्ध छ, तर अहिले अष्ट्रेलिया गए/नगएको बारेमा भने जानकारी भएन ।’
(यो समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले आफूहरु नेपालको कफी प्रबर्धनको उद्देश्यले सात जना अष्ट्रेलियामा आएको र सबै कार्यक्रम सकाएर शनिबार स्वदेश फर्किन लागेको जानकारी गराएका छन् । सं. )
प्रतिक्रिया