काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सरकारले उखुको समर्थन मूल्य घटाउने निर्णयलाई किसान विरोधी र गैरजिम्मेवार कदम भन्दै आपत्ति जनाएको छ।
पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा सरकारले किसानको उत्पादन लागत नहेरी मनपरी ढंगले समर्थन मूल्य कटौती गर्नु किसानमाथि अन्याय भएको उल्लेख गरिएको छ।
सरकारको यो निर्णयका कारण किसानहरु माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति केन्द्रले ध्यानाकर्षण भएको बताएको हो ।
सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान तोकेर न्याय दिएको तर अहिलेको सरकारले मूल्य घटाएको आरोप लगाए ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।’
माओवादी केन्द्रले किसानको प्रमुख शक्ति आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भएकोले उनीहरूको हितविपरीत गरिएको निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।
अन्यथा, पार्टी किसानहरूको पक्षमा उभिएर संघर्षलाई अझ व्यापक एवं सशक्त बनाउँदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया