काठमाडौं - जेन-जि आन्दोलनले निकास पाउने संभावना बढेको छ । उनीहरुले उठाएका मागहरु समयमै स्रम्बोधन गर्ने प्रयत्न भएको भए संभवतः यति ठूलो राष्ट्रिय क्षति नहुन सक्थ्यो । तर जे हुनु भैसक्यो । अब मुलुकलाई निकास दिन किञ्चित पनि विलम्ब गर्नुहुँदैन । राज्य सञ्चालकहरु यति भ्रष्ट र बदनाम भैसकेका थिए कि कोही न कोहीले यिनीहरुलाई बढार्ने आन्दोलन गर्न अत्यावश्यक भएको थियो । त्यो काम जेनजि पुस्ताबाट भयो । यसलाई इतिहासको आवश्यकता भनेर स्विकार्न जरुरी छ ।
यद्यपी अहिलेसम्म पनि व्यापक परिवर्तनको अपेक्षाबाट जन्मिएको परिवर्तनकारीहरूको अभियानलाई अराजकताको आगोले खरानी पार्ला कि भन्ने डर बढ्दो छ । जसले यस्तो आन्दोलनको आह्वान गरेका थिए उनीहरूले नै सरकारी सम्पत्ति तोडफोड र आगजनी नगरौँ भन्दाभन्दै राजधानी काठमाडौंका प्रमुख सरकारी निकायहरू जसरी ध्वस्त भए यो आफैँमा राष्ट्रको नोक्सानी हो । आन्दोलनकारीहरूले पनि यसो नगरौँ भन्दाभन्दै जे–जे गरियो त्यो आफैँ एउटा अध्ययनको विषय भएको छ । छोटो अवधिमा जति मानवीय क्षति भयो त्यसलाई जति निन्दा गरे पनि कमै ठहर्छ तर त्यसको बदलामा राष्ट्रिय भौतिक संरचनाई जसरी खरानी बनाउने काम भयो त्यो परिवर्तनकामीहरूको आकांक्षालाई गिज्याउने खालकै छ । कतैबाट पनि यस्तो कामलाई सहन सकिँदैन । अहिले यो वर्गको नेतृत्व गरिहेको भनेर चिनाउनेहरूले यसको जिम्मेवारी लिऊन् ।
आन्दोलनका नाममा भएका बेथिति र अराजकताले निम्त्याएको बिध्वंसको गहीरो छानविन त गर्न गर्नै पर्दछ । भाद्र २३ गतेको घटना आन्दोलन थियो भने २४ गतेको घटना आन्दोलन नभएर अराजकता थियो । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि जेनजीको मुख्य ऐजेण्डा पुरा भएको थियो । तर त्इसपछि नै सिंहदरवार, संसद भवन लगायत राष्ट्रका पहिचान बनेका संरचनामा आगो लगाइयो । यसका पछाडि आन्दोलनकारी युवाहरुको हात हुनै सक्तैन । अब बन्ने सरकारले यी घटनाहरुको उचित छानबिन गरेर दोषीहरुलाई कडा कारबाही गर्नुपर्दछ । तर एउटा सत्य के हो भने अब ठूला भनिएका दलका प्रमुख नेताहरुबाट जुनुकै अवस्थामा पनि मुलुकको नेतृत्व हुन सक्तैन । पुराना दलहरुको योगदान नभएको होइन । आजसम्मको अवस्थामा मुलुकको लोकतान्त्रिक प्रणालीलाई ल्याउन उनीहरुले इतिहासमा गरेको योगदानलाई सम्मान गर्नुपर्दछ । यसको अर्थ उनीहरुले आफ्नो दलको आन्तरिक लोकतन्त्रलाई कुल्चेर दल कब्जा गरिरहुन भन्ने किमार्थ होइन । राजनीतिमा खासै मतलव नभएको मदमस्त पुस्तालाई सडकमा आउन बाध्य पार्ने ठूला दलका शीर्ष नेताहरुको अहम् , निरङ्कुशता र भ्रष्ट शासनशैली नै हो । त्यसकारण उनीहरुलाई बिदा गरेर अपेक्षाकृत स्वच्छ छविका नेताहरुले पुराना दलको नेतृत्व गर्न सकून् । त्यसपछि पुराना दलहरुको भूमिका देशको लागि आवश्यक हुन स्रक्तछ । अन्यथा ती दलका शीर्षनेतासँगै दलहरुको औचित्य पनि समाप्त हुनेछ ।
यो आन्दोलनको बहानामा अवाञ्छित तत्वहरुले फाइदा उठाउनेतर्फ गम्भीर ध्यान दिन जरुरी छ । प्रधानसेनापतिले दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेको विषय निकै अर्थपूर्ण रहेको छ । यसले अरु शंकाहरू जन्माउँदै छन् । उनीहरु आन्दोलनसँग सरोकार नै नभएका समूह हुन । यद्यपी हिंजो रातभर राष्ट्पतिले गरेको परामर्शबाट एउटा सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ । अब मुलुकलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन । सरकारबिहीनताको अवस्थामा रहनु भनेको ठूलो संकटलाई निम्तो दिनु जस्तै हो । हरेक ठूला परिवर्तनहरुमा स्वार्थ रोटी सेक्ने तत्वहरुले टाउको ण्ठाउन त खोज्दछनु नै । त्यसैले सबैले परिवर्तनको परिणामलाई रक्षा गर्न चासो राख्नु पर्दछ । मुलुकको स्वाधिनता र सार्वभौमिकता बचाउनु यतिबेला सबै नेपालीको अहम् जिम्मेवारी हो ।
प्रतिक्रिया