काठमाडौं - चमत्कारिक रुपले भएको निर्वाचन र त्यसबाट अत्यधिक बहुमत पाएर दुईतिहाइ मतबाट रास्वपाको एकलौटी सरकार बनेको सय दिन भरखर पूरा भएको छ । यतिबेला सरकार यही सयदिने उत्सब मनाइरहेको छ । सरकारले उपलब्धीको बखान गरेर थाकेको छैन ।
स्वभाविक रुपमा सरकारले आफ्नो कामबारे आफूले दिएका अंक पनि सयकै हाराहारीमा छ । रास्वपाका नेताहरूले नै भन्ने गरेको विगत पैंतिस वर्षमा अरु जसजसले शासन गरे ती सबै सरकारले आफू बनेको सयदिनमा यसरी नै आफूलाई आफैँले बढी नम्बर दिएर आफू सफल भएको भनेर घोषणा गरिरहेकै थिए । यो सरकारले पनि त्यही कुरा दोहोर्यायो । त्यसकारण नयाँ सरकारले पनि परम्परालाई नै निरन्तरता दिएको रुपमा यसलाई लिन सकिन्छ । त्यसो नहँुदो हो त विगतका भन्दा सरकारले आफ्नो मूल्यांकन कुनै वैज्ञानिक तबरबाट गराउथ्यो होला, तर त्यसो भएन ।
सरकारले ठूलो उपलब्धी भनेर यस्तो उत्सव मनाइरहँदा नागरिकको जीवन भने कष्टकर बन्दै गएको छ । बाँच्ने सबै विकल्पहरु बन्द हुँदै गएपछि आत्महत्याको बाटो राजिरहेको देखिन्छ । कुनै पनि राष्ट्रको जीवनमा यो भन्दा असंगतिपूर्ण अवस्था अरु के होला ? सरकार सयदिने उत्सवमा रमाइरहँदा आधारभूत औषधीको अभाव देखिएको छ । बितेका दुई महिनादेखि देशभरी नै क्यान्सरका बिरामीलाई निर्विकल्प मानिएको किमोथेरापी दिनुपर्दा त्यससंग जोडिएको अर्थात् त्यसको महत्वपूर्ण अंग भनेर चिनिने सिसप्लाटिन औषधि बजारमा पूरै अभाव हुँदा पनि सरकारले अहिलेसम्म सम्बोधन गरेन । त्यो मात्रै होइन यदि समयमा नै दिन पाइएन भने मृत्यु अवश्यम्भावी मानिने कुकुरलगायत जनावरले टोक्दा तत्कालै प्रयोग गर्नुपर्ने रेबिजविरुद्धको खोप पनि देशभरीका अस्पतालमा कतै छैन । यस्तो औ षधिको चरम अभाव गएको जेठको प्रारम्भदेखि नै हो । स्वास्थ्यमन्त्री स्वयं चिकित्सकीय क्षेत्रबाट आएको व्यक्तित्व हो । उनले त आपत्कालीन व्यवस्थापन गरेर यसको आपूर्ती बढाउनुपर्ने थियो । तर त्यसो भएन । यता सयदिनको उपलब्धीमा भने उनले पनि आफूलाई आफैँले सय नम्बर दिएको पाइयो । याद राख्नुपर्ने कुरा के छ भने, रेबिजविरुद्धको खोप सरकारले निःशुल्क दिने गर्छ । यसले पनि यो खोपको महत्व बुझाउँछ ।
परिवर्तनको नाममा निर्वाचन जितेर सरकार बनाएको रास्वपाको लागि अग्निपरीक्षा सुरु भैसकेको छ । देशमै रोजगारी सिर्जना गर्ने घोषणा अहिले विस्मृतिमा गैसकेको छ । छाक टार्न समस्या भएका भूई मान्छेका लागि सरकारले लिएका आर्थिक कार्यक्रमहरु नै मृत्युमार्गमा धकेल्ने माध्यम बनेका छन् । तीनजना व्यक्तिहरुले आत्मदाह गर्ने अवस्थामा किन पुगे भनेर गहीरो मन्थन हुनु पर्दछ । किन मान्छे सकसपूर्ण मृत्यु रोज्न बाध्य हुन्छ भन्ने कुराको डाइग्नोसिस नभएसम्म मानव गरिमाको रक्षा हुन सक्तैन भन्ने कुरा राज्यले कहिले बुझ्ने हो ?
प्रतिक्रिया