काठमाडौं - नेपाल एउटा कृषिप्रधान मुलुक भएर पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । यो आफैमा राष्ट्रिय अर्थतन्त्रको लागि पीडादायी अवस्था हो । गरेपछि जे पन सम्भव छ भन्ने उदाहरण सल्यानका किसानहरुले देखाएका छन् । आज व्यावसायिक तरकारी खेतीले सल्यानको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै गएको छ । जिल्लाबाट वार्षिक ६५ हजार ५ सय ४९ मेट्रिक टन तरकारी बाहिरिने गरेको छ । जसबाट प्रत्येक वर्ष ५२ करोड रुपैयाँभन्दा बढी रकम जिल्लामा भित्रिने गरेको कृषि विकास कार्यालय सल्यानको तथ्यांकले देखाएको छ । परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक तरकारी उत्पादनतर्फ किसानको आकर्षण बढेसँगै कृषि जिल्लाको प्रमुख आयआर्जनको माध्यम बन्दै गएको हो ।
कृषि विकास कार्यालयका अनुसार वार्षिक एक लाख १९ हजार सात सय ६५ मेट्रिक टन उत्पादनमध्ये आधाभन्दा बढी जिल्ला बाहिर निकासी हुने गरेको छ । यहाँ उत्पादित हुने बेमौसमी तरकारी राप्ती लोकमार्ग हुँदै मुख्य रूपमा दाङ, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौं तथा भारतका सीमावर्ती बजारसम्म पुग्ने गरेका छन् ।
स्थानीय किसानहरु अहिले उत्साहपूर्वक खेतीमा सक्रिय छन् । उनीहरुले बेमौसमी टमाटर उत्पादनलाई प्राथमिकता दिएका छन् । काउली, सिमी, करेला, बोडी, केराउ तथा मुलाको बिउसमेत उत्पादन गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा टनेलभित्र खेती गर्न थालेपछि उत्पादनमा उल्लेखनीय सुधार आएको स्थानीयहरको भनाइ छ । कृषि कार्यालयको अनुदानमा निर्माण गरिएको फलामे टनेलले खेतीलाई सुरक्षित र व्यवस्थित बनाएको किसानहरुको अनुभव छ । बजार मूल्यको अस्थिरता भने किसानका लागि अर्को चुनौती बनेको छ । सिजनको सुरुवातमा प्रतिकिलो २३ रुपैयाँमा बिक्री भएको टमाटर केही समयपछि ५० रुपैयाँसम्म पुगे पनि बजारमा एकैपटक उत्पादन बढेपछि मूल्य फेरि घटेर १५ रुपैयाँ प्रतिकिलोमा झरेको बताइएको छ ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार व्यावसायिक तरकारी खेती विस्तार गर्न आधुनिक प्रविधि, अनुदान, सिँचाइ, टनेल व्यवस्थापन, रोड करिडोर केन्द्रित उत्पादन, युवा लक्षित कार्यक्रम तथा मागमा आधारित कृषि कार्यक्रम सञ्चालन भइरहेका छन् । कपुरकोट, त्रिवेणी, शारदा, सिद्धकुमाख र बागचौरलगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको उनले बताए । कपुरकोट र त्रिवेणी क्षेत्रमा साप्ताहिक हाटबजार सञ्चालन गरिएकाले किसानलाई उत्पादन बिक्री गर्न सहज भएको छ । स्थानीय बजारसँगै बाह्य बजारसम्म पहुँच विस्तार हुँदा किसान व्यावसायिक खेतीतर्फ थप आकर्षित भएका छन् ।
प्रतिक्रिया