विपदमा मानवता प्रदर्शन गरौं

विहीबार, ११ भदौ २०८३, १२ : ०८

काठमाडौं - प्राकृति विपत्ति कसैको नियन्त्रणमा हुँदैन । प्रकृतिले आफ्नो नियम आफैं बनाउँछ । प्रकृति रिसायो भने कसैको केही लाग्दैन । तर मानिसले प्रकृतिको नियमलाई सम्मान गर्दै आफ्नो जीवनयापन भने गर्न सक्तछन् । विपद आइसकेपछि उद्धार र सहयोगमा जुट्नु मानवीय कर्तव्य र दायित्व हो । चीनको तिब्बती क्षेत्र ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले त्यस क्षेत्रका नागरिक मात्र होइन, सिंगो मुलुक विपद्मा डुबेको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङका नागरिकको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न सरकारले बिहानैदेखि काम सुरु गरेको छ। बिचल्लीमा परेका नागरिकको सुरक्षा निकाय तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरी तत्काल उद्धार र घाइतेहरूको उपचार सुरु गरिएको छ। बाढीमा परेर सम्पर्कबाहिर रहेका नागरिकको खोजी र क्षतिको विवरण संकलन सरकारले सुरु गरेको छ। अहिले नै जनधन क्षतिको यकिन गर्न सकिने अवस्था छैन। बाढीले बगरमा परिणत गरेको गाउँ–बस्ती तथा तटीय क्षेत्रलाई हेर्दा अहिलेसम्मकै सबैभन्दा धेरै धनजनको क्षति पुगेको आँकलन सुरक्षा निकायले गरेका छन्। तथापि सरकारले अहिले प्रभावितहरूको उद्धार र उपचारमा नै आफ्नो ध्यान केन्द्रित गरेको छ। सरकारी अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ।

राहत दिने र लिने काम पनि आफूखुशी नगरौं । आधिकारिक र सरकारी संयन्त्रको माध्यमबाट राहत लिने दिने काम गरौं । सरकारले क्षतिग्रस्त सार्वजनिक संरचना र भौतिक पूर्वाधारहरूको तत्काल सञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको समन्वय गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ। राजनीतिक दलहरु पनि यतिबेला वैचारिक मतभेदहरु छोडेर विशुद्ध मानवीय कार्यमा जुटौं । राजनीतिक दलहरुले विगतमा जस्तै यसपटक पनि संकटमा सँगै उभिने घोषणा गरेका छन् । जुन स्वागतयोग्य र सकारात्मक पक्ष हो। विपद पछि मात्र होइन सरकार र दलहरू विपद्पूर्वको तयारीका लागि पनि एक ठाउँमा उभिएर सहकार्य गर्ने संस्कारको विकास गर्न जरुरी छ । 

 मनसुनसँगै हरेक वर्ष ठुला वा साना यस्तै नियति भोग्दै आएका छौं। बाढी र पहिरो हाम्रा लागि अपरिचित र आकस्मिक होइनन्। पुस्तौंदेखि नेपाली समाज यस्ता विपत्तिसँग जुध्दै आएको छ। तर, पनि राज्य विपद् न्यूनीकरणका लागि तयारी र दीर्घकालीन समाधानका लागि नीति बनाउन किन तयार छैन ? प्रश्न त्यहाँ हो। हाम्रा हिमाल, हिमनदीहरू सम्भावना मात्र होइनन्, हामीहरूका चुनौती पनि हुन्। त्यसलाई दृष्टिगत गरी नीति निर्माणमा मात्र होइन, पूर्वाधार बनाउने कुरामा पनि पर्याप्त ध्यान पुगेको छैन।

नेपालका हिमतालहरू सधैं जोखिममा छन्। यसर्थ नेपालले विपद् आएपछि हेरौंला भन्ने होइन, विपद्सँगै संघर्ष गर्दै अस्तित्व जोगाउने तयारीमा लाग्नुपर्छ। अर्थात्, विपद्सँगै बाँच्ने शैली विकास गर्नुपर्ने भएको छ। जुनसुकै बेला, जस्तोसुकै स्वरूपमा आउन सक्ने विपद्विरुद्ध तयार हुनुपर्ने भएको छ। यसका लागि देशको अर्थतन्त्र बलियो बनाउनुका साथै सोहीअनुसारका पूर्वाधार निर्माण, जनचेतनाको विकास र विस्तार गर्नुपर्छ। सरकार, दल, संघसंस्था, निजी क्षेत्र फुटेर होइन, जुटेर मुलुकसामु आइपरेको आपद्को सामना गर्नुपर्ने बेला आएको छ।

 विपत्तिमा परेका पीडितहरुको आँसु पुछ्ने हातसँगै विपद्को जोखिम घटाउने दूरदृष्टि पनि आवश्यक छ। हामीले प्रकृतिलाई दोष दिएर मात्र आफ्नो दायित्व पूरा गर्न सक्दैनौं। सुरक्षित बस्ती, वैज्ञानिक पूर्वाधार, सक्षम पूर्वसूचना प्रणाली र जिम्मेवार शासन निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। विपद्को घडीमा हातेमालो गरौं तर विपद् सकिएपछि फेरि पुरानै बाटोमा नफर्कौं। विपदकोबेला सामाजिक सञ्जालमा जथाभावी सामग्री पोष्ट नगरौं । उत्तेजना फैलाउने र अत्यन्त कारुणिक दृष्यहरु पोष्ट गर्दा परिस्थिति झन विकराल बन्न जान्छ । केवल विपत्तीमा मानवता मात्र प्रदशैन गर्ने हो । भाइरल हुनको लागि सामाजिक सञ्जालको प्रयोग गर्नु किमार्थ क्षम्य कर्म हुन सक्तैन । 

विहीबार, ११ भदौ २०८३, १२ : ०८

प्रतिक्रिया