टिप्पणी

जेन-जी विद्रोहले संकटमा परेका देउवा, दाहाल र ओली

शनिबार, २८ भदौ २०८२, १३ : ४०

काठमाडौं - जेन–जी पुस्ताको विद्रोहले नेपाली राजनीतिलाई नयाँ गन्तव्यमा लगेको छ । आम नागरिकले कल्पना पनि नगरेको घटना केही घण्टामै भयो । राज्य सञ्चालनको बागडोर सम्हालेका नेताहरुको यति ठूलो बेइज्जती उनीहरुले पनि सोचेका थिएनन् । 
समाजमा परिवर्तन ल्याउने घटनाहरु पूर्व सूचना दिएर भन्दा पनि आकस्मिक रुपमा हुन्छन् भन्ने अहिलेको विद्रोहले दिएको छ । कवि गोपाल प्रसाद रिमालले भने झैं ‘एक जुगमा एक दिन एकचोटी आउँछ ...’ भन्ने कुरा यसपटक पनि पुष्टि भएको छ । इतिहास बदल्ने घटनाहरु प्राय डरलाग्दा नै हुने गर्दछन् । 
जेनजि पुस्ताको विद्रोहले मूलधारको राजनीतिमा भएका मुख्य नेताहरुको औचित्य प्राय ः समाप्त पारिदिएको छ । यो आन्दोलन उनीहरुले नगरे पनि कसैले गर्नै पर्दथ्यो । किनकी शासकहरुको मैमत्तापन यति बढेको थियो कि उनीहरुमाथि आन्दोलनकारीले पासविक कारबाही गार्द पनि सहानुभूति राख्ने मानिस थिएनन् । उनीहरुकै मतदाता र कार्यकर्ता पनि उनीहरुको बचाउनमा उत्रिन सकेनन् ।  संगठित शक्तिका हिसाबाले एसियाकै मजबुत पार्टी एमालेका नेताहरुमाथि सांघातिक आक्रमण हुँदा पनि कार्यकर्ता रक्षा गर्न आएनन् । आफ्नै पार्टी कार्यालयहरुमा आगो बलिरहँदा पनि लाखौं संगठित सदस्य भएको एमालेका कार्यकर्ता निभाउन आएनन् । उता देशको पहिलो ठूलो दल कांग्रेसका सभापति शेर बहादुर देउवाको ज्यानै जाने जस्तो अवस्थामा पनि कोही प्रतिरोध गर्न अघि सरेन । यसको पछाडि प्रष्टै कारण छ, कार्यकर्ता र जनता पनि उनीहरुबाट आजित छन् । कार्यकर्तामा नेताहरुको भ्रष्ट आचरणका कारण नैतिक बल पनि छैन । त्यसैले सबैले रमिता मात्र हेरे । 
शासन व्यवस्था जुन नामको भए पनि तीर्सौ वर्षदेखि एउटै मान्छेलाई नेता मानिरहनुपर्ने अवस्थाले पार्टीहरुमा असन्तोसको आगो भित्रभित्र सल्किरहेको थियो । नेतृत्वमा रहेका मुख्य नेता र तिनका आसेपासे तथा परिवारका सदस्यहरुको मात्र आर्थिक हैसियत फेरियो । आम जनताको अवस्था भने दयनीय बन्दै गएको थियो । नेताका छोराछोरीले करोडौं खर्छ गरेर विदेश सयर गर्ने तर आम जनताका सन्तान भने मजदुरी गर्न देश छोड्नुपर्ने बाध्यता । अर्थतन्त्र केही मुट्ठीभर दलालहरुको कब्जामा गएर आम नागरिकले देशमै केही गर्छु भन्दा लगानी गर्ने पैंसा नहुने । नेताका निकटस्थहरुको पनि आर्थिक हैसियत बढ्दै जाने अवस्थाले नेपाली समाजलाई ठूलो संकटतर्फ धकेलिरहेको थियो । यसलाई जेनजी पुस्ताको विद्रोहले आगो झोसिदिएको मात्र हो । 
 आन्दोलनसँगै सत्ताको धुरीमा रहेका दुई नेतास प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको राजनीतिक औचित्य समाप्त भएको छ। साथै पटक पटक सत्ताको नेतृत्व गरिसकेका विपक्षी दलका नेता प्रचण्डको पनि औचित्य समाप्त भएको छ । उनीहरुले देशलाई अब कुनै पनि किसिमले नेतृत्व दिन सक्तैनन् । यिनीहरु परिक्षण भैसकेका छन् । 

समाजमा राज्यको कुशासनको कारण धेरै विकृतिहरु व्इाप्त भैसकेका थिए । त्यसैले पनि यो विद्रोह अपरिहार्य भैसकेको थियो । जेनजीहरु निमित्त नायक मात्र हुन । तसर्थ के  कुरा भुल्न हुँदैन भने — हजारौं युवाहरू आज सडकमा निस्किनुको तात्कालिक कारण सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध हो। तर त्यो मात्र कारण होइन।

राज्य सञ्चालनमा वर्षौंदेखि जुन बेथिति, कुशासन र भ्रष्टाचार जारी छ र सत्तामा बस्नेहरूले सुधार हुन्छ, हुँदैछ, हामी त्यसतर्फ काम गर्दैछौुं भन्ने झिनो आशा पनि सञ्चार गर्न सकेका छैनन्, युवा असन्तोषको एउटा मुख्य कारण त्यो पनि हो।

यो कुशासनसँगै राज्यका हरेक अंग जसरी दलीयकरणको चपेटामा परेका छन्, जसरी दलका नेता–कार्यकर्ताले कानुन उल्लंघन गरेका छन् र उन्मुक्ति पाएका छन्, त्यसले आम नेपालीको मनमा, विशेषगरी युवाको मनमा नुनचुक छरेको छ।

नयाँ हुन् वा पुराना, हरेक दलले आफ्ना नेताहरूले कानुनको धज्जी उडाउँदा, गैरकानुनी काम गर्दा त्यसको बचाउ गर्दै आएका छन्। जोगाउन खोजेका छन्।

यसले गर्दा आम मानिसलाई लाग्न थालेको छ — कानुन हाम्रा लागि मात्र हो, पहुँच हुनेहरुलाई होइन । 

त्यसले लामो समयदेखि आम मानिसमा असन्तुष्टि थप्दै, चाङ लगाउँदै, चुल्याउँदै लगेको थियो। सामाजिक सञ्जालमा प्रतिबन्ध लागेपछि यो असन्तुष्टि बिस्फोट भएको हो। 

त्यसका बाबजुद जेन–जी पुस्ताले सोमबारको आन्दोलन आह्वान गर्दा बडो संयम र विवेकपूर्वक आफ्ना मागहरू अघि सारेको थियो। कुशासन र भ्रष्टाचारको अन्त्य, कानुनको शासनको पालना, जबाफदेहिता, दलीयकरणको अन्त्य लगायत लोकतन्त्रलाई थप बलियो र परिस्कृत बनाउने सुधारको माग अगाडि सारेको थियो।


लोकतान्त्रिक व्यवस्थामा देशका दुई ठूला दल मिलेर सरकार  बनाउने कुरा नै गलत थियो । यस्तो घटना दुनियाँमा विरलै हुने गर्दछ । यद्यपी नेपालमा भयो । तर त्यतिबेला पनि यी दलहरुले सरकार बनाएर सुधारका कार्यक्रमहरु अघि बढाउने सहमति गरेका थिए । उनीहरुले गरेको सात बुँदे सहमति केवल सत्ता प्राप्तिको माध्यम मात्र बन्न गयो । सरकार झन बदनाम बन्दै गयो । आफ्नालाई काखा र अरुलाई पाखाको व्यवहार सरकारले देखायो । जनतालाई सरकारी सेवा सुविधा सहज र सरल तरिकाले प्रदान गर्ने कुरा गफ मात्रै भयो । प्रधानमन्त्रीमा दम्भ र अहंकारले घर गर्न थाल्यो । यसले जनतामा सरकार मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन गयो ।   

 अब नेपाली समाजले ओली, देउवा र विगत ३५ वर्षदेखि अविच्छिन्न माओवादी पार्टीको नेतृत्व गरिरहेका र अहिलेको बेथितिमा अरू दुई जत्तिकै जिम्मेवार प्रचण्डलाई बेहोर्न सक्दैन।
महाभारतको शान्तिपर्वमा पनि भनिएको छ, कुनै पनि व्यक्तिलाई समयले उतपादन गर्छ र समयले नै अन्त्य गर्दछ । कुनै समयमा यी तीन नेताले समाजको नेतृत्व गरे । त्यतिबेला उनीहरुको उपादेयता थियो । समयक्रममा अब उनीहरुको उपादेयता समाप्त भएको छ । एउटै चिज सधैं रहँदैन । इतिहासमा योगदान गरेको भनेर सधैं त्यसको व्याज खाने कुरा पन अब सम्भव छैन । हामीलाई थाहा भएकै कुरा हो, जहाँनिया राणा शासनको विरुद्ध आन्दोलनको अगुवाइ गरेको पार्टी प्रजापरिषद् नाम गरेको पार्टी अहिले अस्तित्वमा छैन । 
यस कारण पनि हामीलाई लाग्छ — नेपाली राजनीतिमा प्रधानमन्न्त्री ओली र कांग्रेस सभापति देउवाको समय सकिएको छ। उनीहरूको औचित्य समाप्त भएको छ। आजको घटनामा संलग्न नरहे पनि नेपाली राजनीतिको बेथितिको केन्द्रमा रहेका प्रचण्डको पनि समय सकिएको छ।

किनभने, अब यी तीन शीर्ष नेतालाई अघि लगाएर हाम्रो लोकतन्त्र अगाडि बढ्न सक्दैन। उनीहरूलाई धुरीमा राखेर तीन प्रमुख दल पनि कहीँ पुग्न सक्दैनन्। जनताले अब यसलाई स्वीकार पनि गर्दैनन्।
यदि एमाले, कांग्रेस र माओवादी केन्द्रलाई बचाइराख्ने हो भने दोस्रो पुस्ताका इमान्दार र क्षमतावान तथा सबैले रुचाएका नेताहरुले दलको नेतृत्व सम्हालुन । अन्यथा यी दलहरु पनि प्रजापषिद्कै अवस्थामा पुग्ने हुन । 

शनिबार, २८ भदौ २०८२, १३ : ४०

प्रतिक्रिया