सन्दर्भ : जेनजी आन्दोलन

स्वतन्त्रता सेनानीहरुमाथिको आक्रमण खेदजनक

सोमबार, ०६ असोज २०८२, १२ : १०

काठमाडौं - विश्व इतिहासमा बिरलै देखिने घटना नेपालमा भदौ २३ र २४ गते २७ घण्टाको अन्तरालमा भएको छ । सामान्यतया कुनै पनि आन्दोलन सफल भएपछि आन्दोलनकारीहरुको सरकार बन्ने गर्दछ । नेपालमा पनि बिगतमा यही नै भएको थियो । अन्यत्र पनि यही न हुने गर्दछ । तर नेपालमा भएको जेन जि आन्दोलनको सफलतापछि जो सत्ता सम्हाल्न पुगेका छन् । तिनीहरु जेन जि होइनन् । न त आन्दोलनका सरोकारवाला हुन । अन्तरिम प्रधानमन्त्री कुन पुस्ता र विचारको प्रतिनिधित्व गर्दछिन् ? उनको सरकारका मन्त्रीहरु के जेन जि हुन ? यसले यो आन्दोलनको खास मकसद के थियो भनेर मानिसहरुलाई सोच्न बाध्य बनाएको छ । 

अहिले सामाजिक सञ्जाल र मिडियाहरुमा आएका समाचार अनुसार,जेन–जी आन्दोलनको आह्वानकर्ताले आगजनी, तोडफोड र हाम्रो काम होइन भनिरहेका छन् । उनीहरूकै भनाइमा अहिलेको प्रणालीको पनि विरोध होइन । तर आन्दोलनमा भएका क्रियकलापहरु हेर्दा यो घटना विद्यमान व्यवस्थालाइ जरैदेखि फाल्ने उद्देश्य रहेको देखिन्छ । एकै दिन  एकै समयमा देशभरि आगो बलेको छ । वडा कार्यालयदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा आगो लगाइएको छ । यो आकस्मिक कसरी हुन सक्तछ ? 

वार्तामा जे जस्ता पात्र र प्रवृत्तिहरु देखापरे त्यसले पनि यो आन्दोलन जेनजिको हातबाट फत्किएको वा जेनजिलाई प्रयोग मात्र गरिएको हो भन्ने बुझ्न गाह्रो छैन । अर्कोतिर नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने वीर गणेशमानदेखिका प्रजातन्त्रका अर्थात् परिवर्तनका प्रतीक मानिएका महापुरुषहरूका ऐतिहासिक भवनहरू जले । यसरी जल्ने र जलाइनेमा वास्तवमा नै सबै राणाकालदेखि पञ्चायत कालसम्म नागरिकहरूलाई स्वतन्त्र बनाउने महापुरुषहरू थिए । जस्तो विराटनगरको स्वतन्त्रता र नागरिक आन्दोलनका प्रथम कर्मशील व्यक्तित्व कृष्णप्रसाद कोइरालाले बनाएको घर, चाक्सीबारीमा गणेशमान सिंहका पुर्खाले बनाएको घर जहाँ निरङ्कुश पञ्चायती शासनबाट मुक्तिको विगुल फुकिएका थियो र बोडेमा साधुसन्तजस्ता नेता कृष्णप्रसाद भट्टाराई ‘किसुनजी’को कुटी जलाइयो । पुष्पलालको शालिक ढालियो । 

यी महापुरुषहरूप्रति यतिबेला आन्दोलनरत कसैले पनि यस प्रकारको अपमान गर्नुपर्ने कारण थिएन । तर जनताका लागि लडेका यस्ता वीर पुरुषका यस्ता ऐतिहासिक महत्वका स्थान जलाइए । यता नागरिक अधिकारका लागि लड्ने, जेलनेल निर्वासन भोगेका नेताहरूको घर, स्मारक, राष्ट्रिय सम्पदामा छानीछानी आगो लगाइँदा यो परिवर्तनलाई देखी नसहनेहरूले भने सानोभन्दा सानो पनि क्षति व्यहोर्नु परेन ।

यस्ता प्रकारका घटनाहरुबाट नै प्रशस्त श(का गर्न सकिन्छ । जेनजिलाई मोहरा मात्र बनाइएको त हैन ? कलिला यसवाहरुकोबाँधमा बन्दुक राखेर पड्काउने तत्व को हो समयक्रममा पहिचान होला । तर वर्तमानका घटनाक्रमहरुबाट पनि केही अनुमान गर्न सकिन्छ । योआन्दोलनमा काठमाडौं महानगरका प्रमुख बालेन साहको भूमिका सुरुदेखि नै अध्ययन गर्ने हो भने शंकाको सुइृतिर उनीतिर पनि सोझिन्छ । उनले फेसबुक स्टाटसबाट जेनजिहरुको मनोबल उठाउने काम गरिरहेकै थिए । जब आन्दोलन उत्कर्शमा पुग्न थालेको थियो , उनलाई फोनै गरेर युवाहरुले नेतृत्व गर्न अनुरोध गरे । उनले स्विकार गरेनन् ।

जब सिंहदरवार लगायत धरोहरहरु जलेर ध्वस्त भए त्यसपछि उनले तपाईहरुको आन्दोलन सफल भयो भनेर विजयीभावमा अर्को स्टाटस लेखे । साथै उनले प्रधानसेनापपतिसित वार्तामा बस्न र वार्ताृको सर्त संसद बिघटन राख्न निर्देशन दिए । आन्दोलन गर्न पर्दाभित्रबाट युवाहरुलाई उकास्ने बालेन न त घाइेतहरुलाई भेट्न अस्पताल गए  न त आर्यघाटमा श्रद्धान्जली दिन नै गए । तर पनि उनी सत्ताको चाँबिर हातमा लिएर बसिरहेका छन् । अझै. पनि केही युवाहरु बालेनलाई धुरी मानिरहेका छन् । यो भन्दा दुर्दशा के होला ? यो आन्दोलनमा गणेशमान सिंहको घर जलाइएको छ, जहाँ २०४६ साल माघ ५, ६ र ७ गते देशविदेशका नेताहरूलाई बोलाएर सम्मेलन गरिएको थियो र त्यही सम्मेलनबाट २०४६ फागुन ७ गतेदेखि प्रजातन्त्र पुनस्र्थापनाका लागि वारपारको जनआन्दोलन गर्ने प्रस्ताव पारित भएको थियो । यसलाई त खरानी समेत नरहने गरी कोट्टयाई कोट्टयाई जलाइयो ।

परवर्तन चाहने आजको जेनजि पुस्ताले जान्न गणेशमान सिंहको बारेमा जान्न जरुरी यस कारण छ कि उनी त्यस्तो व्यक्ति हुन्, जो पञ्चायतविरुद्धको जनआन्दोलनको सर्वोच्च कमान्डर थिए । उनकै कमान्डबाट चलेको जनआन्दोलनले नेपाली जनतालाई रैतीबाट नागरिक बनाएको थियो । त्यसबेला सिंहको यो नेतृत्वलाई त्यसबेलाका सात बामपन्थी दलहरूले पनि स्वीकारेका थिए र संयुक्त बाममोर्चा बनाएर यो आन्दोलनमा सरिक भएका थिए । पञ्चायतविरुद्धको त्यो आन्दोलनको रथजस्तो थियो चाक्सीबारीको एउटा कुनामा गणेशमान सिंहले चढ्ने गरेको थोत्रो जिप । त्यसलाई ‘डेमोक्रेसी जिप’ भनिन्थ्यो । त्यो जिपको पनि अवशेष बाँकी रहेन । यसको अर्थ हो, यस्तो आगजनीकर्ताहरू अहिलेका सबैभन्दा कान्छो पुस्तालाई नेपाली जनता रैतीबाट कसरी नागरिक भए भनेर देखाउन चाहँदैन । यो भवन त्यस्तो हो, जो नेपाली जनता राजाका रैती भएर बस्न चाहँदैनन् मात्र होइन, सार्वभौमसत्ता जनताको हातमा हुन्छ भन्ने सन्देश दिइरहेको हुन्थ्यो । यो भवनमा पाँच पटक दोहो¥याएर आगो लगाइएको थियो । त्यसकारण यो एउटा भवन डढेको रूपमा मात्र लिन हुँदैन । कोइराला निवास र किसुनजीको आश्रमको आगलागी पनि यस्तै हो ।

नेपालको राजनीतिक र सामाजिक इतिहासमा वीपी, पुष्पलाल , गणेशमान र कृष्णप्रसाद भट्टराईलाई निषेध गर्दा देशको गौरव बढ्छ ? के विदेशी दलाल र एजेण्टहरुलाई देशको जिम्मा लगाएर आजका जेनजिहरुको देशप्रतिको दायित्व पुरा हुन्छ ? के उनीहरुको विद्रोह विदेश शक्तिकेन्द्रका प्याधाहरलाई मुलुक सुम्पिने हो ? त्यसैले जेनजिहरुले आन्दोलनको उद्देश्य, उपलब्धी र त्यसको रक्षाको लागि गम्भीर समीक्षा गर्न जरुरी होला  ।  


 

 
 
सोमबार, ०६ असोज २०८२, १२ : १०

प्रतिक्रिया