सन्दर्भ : जेनजी आन्दोलन

नेतृत्व, शक्ति र पुस्तान्तरण : प्रचण्ड र नेपाली राजनीति

सोमबार, ०६ असोज २०८२, १३ : ४३

कमरेड प्रचण्ड नेपालको राजनीतिक इतिहाससँग गहिरो रूपमा गाँसिएका नेता हुन्। माओवादी जनयुद्धको नेतृत्व, शान्ति प्रक्रिया, र गणतन्त्रको स्थापनामा उनको भूमिका ऐतिहासिक छ। दशकौँको संघर्षले उनलाई केवल पार्टी नेता मात्र नभई, देशको राजनीतिक संरचनामा एउटा प्रभावशाली हस्ताक्षर बनाएको छ। उनका कदमहरूले नेपाली राजनीति परिवर्तनको मार्ग तय गरेको छ र उनी नयाँ राजनीतिक यथार्थको प्रतीक बनेका छन्।

तर वर्तमान राजनीति फरक छ। प्रचण्डलाई मात्र ढाल बनाएर वरिपरि रहेका नेताहरूले आफ्नो कमजोरी लुकाउने प्रवृत्ति बढेको देखिन्छ। संगठनमा देखिएको अव्यवस्था, सरकार चलाउँदाका  असफलता, नीति निर्णयमा अस्पष्टता—यी सबैमा प्रचण्डलाई दोष दिनु सामान्य व्यवहार बनिसकेको छ। इतिहासले देखाएको छ, नेता मात्र इतिहास होइन, अनुयायी र वरिपरिको नेतृत्वले पनि जिम्मेवारी लिनु जरुरी हुन्छ।

विश्व राजनीतिमा पनि यस्तै उदाहरण देखिन्छ। सुरुमा लोकप्रिय र परिवर्तनकारी नेता मानिएका व्यक्तिहरू लामो समयसम्म सत्ता केन्द्रमा रहँदा आफ्नो प्रतिष्ठामा प्रश्न उठाउने अवस्था आइपरेका छन्। उदाहरणका लागि अमेरिकी राष्ट्रपति लिंडन बी। जोन्सन प्रारम्भमा साहसी र जनप्रिय मानिन्थे, तर लामो समय सत्ता , भियतनाम युद्धमा असफलता र विवादास्पद निर्णयले उनलाई बदनाम बनायो। सोभियत नेता स्टालिनले पनि प्रारम्भमा पार्टीमा बलियो योगदान दिए तापनि अत्यधिक शक्ति केन्द्रित नेतृत्व र दमनकारी नीतिले इतिहासमा नकारात्मक छवि बनायो। यस्ता उदाहरणले देखाउँछन् कि व्यक्तिगत शक्ति मात्र टिकाउ रहँदैनस वरिपरिको नेतृत्व र संस्थागत संस्कारले नै स्थायित्व सुनिश्चित गर्दछ।

नेपालमा हालैको राजनीतिक परिवेशमा, जेनजी (Gen Z) आन्दोलनले पनि पुस्तान्तरणको माग उठाएको छ। उनीहरूले भ्रष्टाचारयुक्त राजनीति, दलाली र नेतृत्वको केन्द्रीकरणलाई चुनौती दिएका छन्। जेन जि आन्दोलनले स्पष्ट संकेत दिएको छ कि केवल पुराना नेतृत्वको अनुभवले मात्र जनताको विश्वास कायम राख्न सक्दैन, नयाँ नेतृत्व र विचारलाई अवसर दिनु अब अपरिहार्य छ। यसले प्रचण्ड लगायतका पुराना नेताहरूलाई पनि नेतृत्वको परिपक्वता देखाउने अवसर दिएको छ- जसमा आफ्नो अनुभव बाँड्ने र संगठनलाई नयाँ पुस्तासँग समायोजन गर्ने क्षमता आवश्यक छ।

यस परिपेक्षमा प्रचण्डले आफ्नो नेतृत्व र शक्ति केन्द्रित संरचनालाई पुनर्विचार गर्नु अत्यावश्यक छ। पद हस्तान्तरण गर्नु कमजोरीको संकेत होइन, बरु नेतृत्वको परिपक्वता र संगठनलाई अगाडि बढाउने क्षमताको द्योतक हो। यो कदमले केवल माओवादी पार्टी बलियो बनाउने मात्र होइन, समग्र लोकतन्त्र र जनताको विश्वास पनि पुनर्स्थापित गर्न सक्छ।

नेपाली राजनीतिको परिप्रेक्ष्यमा यो कदम विशेष महत्व राख्छ। जब नेता केवल व्यक्तिगत शक्ति वा पदमा केन्द्रित हुन्छन्, संगठनमा असन्तुलन र जनताको विश्वासमा कमी आउँछ। तर यदि प्रचण्डले नयाँ नेतृत्वलाई अवसर दिन्छन् र आफ्नो अनुभवलाई मार्गदर्शनको रूपमा प्रयोग गर्छन्, तब पार्टी बलियो हुने मात्र होइन, लोकतन्त्र र जनताको हित पनि सुनिश्चित हुन्छ। नेल्सन मण्डेलाले दक्षिण अफ्रिकामा पद हस्तान्तरण गर्दा लोकतन्त्र र राष्ट्रिय एकतालाई प्राथमिकता दिए, जसले उनलाई न केवल पार्टीमा बल्कि सम्पूर्ण देशमा सम्मानित नेता बनायो।

अन्ततः नेता इतिहास बनाउँछन्, तर संगठन र जनता इतिहास टिकाइराख्छन्। प्रचण्डले आफ्नो योगदान र नेतृत्वलाई इतिहासमा सुरक्षित बनाइसके, अब उनको जिम्मेवारी वरिपरिको नेतृत्व र सम्पूर्ण नेपाली जनताको लागि मार्गदर्शन र स्थिरता सुनिश्चित गर्नुमा छ। जेनजी आन्दोलनले पुस्तान्तरणको माग उठाइसकेको सन्दर्भमा, प्रचण्डले नयाँ पुस्तालाई अवसर दिने निर्णयले माओवादी पार्टीको दीर्घकालीन मजबूती र लोकतन्त्रको स्थायित्व दुवै सुनिश्चित गर्न सक्छ।

विश्व राजनीतिले देखाएको छ, नेतृत्वको परिपक्वता केवल पदमा बसेर होइन,अनुभव बाँडेर,जिम्मेवारी हस्तान्तरण गरेर र संगठनलाई भविष्यका लागि तयार पारेर मापन हुन्छ । प्रचण्डको वर्तमान निर्णयले यही परिपक्वता र नेतृत्वको वास्तविक मूल्य दर्शाउन सक्छ। यसरी उनी केवल पार्टीको नेता नभई, सम्पूर्ण नेपाली जनताको अभिभावकको रूपमा पनि स्थापित हुन सक्छन् । ( ढकाल माओवादी केन्द्र, पाल्पाका जिल्ला सचिव हुन्।)

 
 
 
 
 
सोमबार, ०६ असोज २०८२, १३ : ४३

प्रतिक्रिया