एमाले-माओवादीको पश्चिम बंगाल पथ

शुक्रबार, १० असोज २०८२, १० : ४९

नेपालमा कम्युनिस्ट आन्दोलनको यात्रा संघर्षपूर्ण र गौरवशाली रह्यो। १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलन, गणतन्त्रको स्थापना र संविधान निर्माणसम्म आइपुग्दा एमाले र माओवादी दुवै दल जनतामाझ ऐतिहासिक लोकप्रियता हासिल गर्न सफल भए। २०७४ सालको निर्वाचनमा दुबै दलको संयुक्त वाम गठबन्धनले दुई तिहाइ नजिक बहुमत ल्याउँदा वाम राजनीति आफ्नो चरम उत्कर्षमा पुगेको थियो। तर आज, यही दलहरू क्रमशः विश्वास गुमाउँदै पतनको दिशामा उन्मुख छन्। यस घटनाक्रमलाई बुझ्न भारतको पश्चिम बंगालको वाम अनुभव र पूर्वी युरोपमा समाजवादी पतनसँग तुलना गर्नु उपयोगी हुन्छ।

पश्चिम बंगालको अनुभव

सन् १९७७ मा पश्चिम बंगालमा भाकपा (मार्क्सवादी) नेतृत्वको वाममोर्चा सत्तामा आयो। प्रारम्भिक दिनहरूमा उनीहरूले किसानलाई जग्गा वितरण, श्रमिक अधिकारको विस्तार, शिक्षामा सुधार र स्थानीय तह सुदृढीकरणजस्ता ऐतिहासिक काम गरे। त्यसैले उनीहरूलाई लगातार पाँचपटक चुनाव जित्ने अवसर मिल्यो र ३४ वर्षसम्म सत्तामा बस्न पाए। तर समयसँगै पार्टी नेतृत्व केही व्यक्तिमा सीमित रह्यो, युवा पुस्ता उपेक्षित भयो र कार्यकर्ता ठेक्का–कमिसनको जालोमा फसे।

विकास र जनसेवाभन्दा सत्ता जोगाउने प्रवृत्ति बलियो हुँदै गयो। यसको परिणामस्वरूप २०११ को चुनावमा तृणमूल कांग्रेसले २९४ मध्ये १८४ सिट जित्यो भने भाकपा (मार्क्सवादी) १७६ बाट घटेर ४० मा सीमित रह्यो। वाम दलको लोकप्रियता, जुन २००६ मा ३७% मतमा थियो, २०११ मा ३०% भन्दा तल खस्यो। यसरी तीन दशकसम्म अजेय देखिएको वामपन्थीहरूको गठबन्धनको सरकार २०२५ सम्म आईपुग्दा बिधानसभामा शून्य सिटको अवस्थामा पुगेको छ।

ओेरालो यात्रा

नेपालको वाम राजनीति पनि यस्तै पथमा अग्रसर देखिन्छ। एमालेले २०५१ मा पहिलो पटक सरकार नेतृत्व गर्दा वाम शक्तिप्रतिको जनआकांक्षा प्रष्ट देखिएको थियो। माओवादीले २०६२६३ को जनआन्दोलनपछि पुरानो राजतन्त्रलाई ढाल्दै गणतन्त्र स्थापना गर्न ठूलो योगदान दियो। २०६४ मा उनीहरू पहिलो संविधानसभा निर्वाचनमै सबैभन्दा ठूलो दल बने (२२९ सिट, ३०प्रतिशत)। 

एमालेले २०७० को निर्वाचनमा १७५ सिट जितेर बलियो उपस्थिति देखायो। तर २०७४ मा दुबै दलले एकताबद्ध भएर ऐतिहासिक विजय हासिल गर्दा वाम राजनीति उत्कर्षमा पुगेको थियो— एमाले १२१ र माओवादी ५३ गरी जम्मा १७४ सिटसहित प्रतिनिधिसभामा स्पष्ट बहुमत आएको थियो। तर पाँच वर्षभित्रै परिस्थितिले तीव्र मोड लियो। २०७९ को निर्वाचनमा एमाले ७८ सिटमा खस्कियो भने माओवादी ३२ मा सीमित रह्यो। दुबै दल विभिन्न दलसँग गठबन्धन गर्दा पनि १२०  सिटमा रोकिए। मत प्रतिशतमा पनि २०७४ को ६०५ भन्दा बढीबाट ४०५ भन्दा तल झरे। यसले जनविश्वास गुम्दै गएको स्पष्ट देखाउँछ।

कमजोरीः मूल नेतृत्वमा 

यो पतनको मूल कारण नेतृत्वमै केन्द्रीकृत छ।  केपी शर्मा ओली र प्रचण्ड दुवै नेताले पार्टी र जनताका एजेन्डा,  विकास, सुशासन  र जनजीविकामा सुधारभन्दा पद र सत्ता जोगाउने खेलमा बढी ध्यान दिए। बारम्बारको फुट र पुनःगठबन्धन, अवसरवादी गठजोड र नेतामुखी निर्णयले पार्टीहरू जनतादेखि टाढा बन्दै गए। भ्रष्टाचार, ठेक्का–कमिसन संस्कृति, परिवारवाद र कार्यकर्ताभन्दा आफन्तलाई प्राथमिकता दिने प्रवृत्तिले असन्तोष चुलायो। विचारधारात्मक स्पष्टता हराउँदै जानु र जनतासँगको दूरी बढ्नु नै प्रमुख कमजोरी बने।

जेनजी पुस्ताको संदेश 

यही समय नयाँ पुस्ता, विशेष गरी जेन्जी पुस्ता, सक्रिय रुपमा प्रतिरोधका स्वर उठाउँदैछ। २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूले प्रमुख शहरहरूमा जित हात पारे। काठमाडौं, धरान, जनकपुरलगायत स्थानमा स्थापित दलका ठूला नेताहरूलाई हराउँदै नयाँ पुस्ताले विकल्प खोजिएको सन्देश दियो। सामाजिक संजालमा उनीहरूको आवाज बुलन्द छ, र सडकमा आन्दोलनमार्फत पुराना दलको नेतातन्त्रविरुद्ध आक्रोश प्रकट भइरहेको छ। 

यो सब घटनाक्रमले नेपालका कम्युनिस्टहरूलाई पश्चिम बंगालको चेतावनी सम्झाउँछ। त्यहाँ पनि प्रारम्भिक लोकप्रियता किसान–श्रमिक सुधारका कारण थियो, तर सत्ता–जोगाउने प्रवृत्ति, नेतृत्वको दम्भ र भ्रष्टाचारले पतन ल्यायो। नेपालमा पनि उस्तै कारणहरू देखिँदैछन्। युवा पुस्ता उपेक्षित छ, कार्यकर्ता अवसरवादमा फसेका छन्, नेतृत्वमा दम्भ छ, अनि जनता विकल्प खोज्दैछन्।

आत्म समीक्षाको बाटो

यदि एमाले र माओवादीले अझै आत्मसमीक्षा गरेनन् भने, आगामी निर्वाचनमा उनीहरू पश्चिम बंगाल जस्तै ‘बढारिने’ अवस्थामा पुग्न सक्छन्। तर अझै ढिलो भएको छैन। भ्रष्टाचार नियन्त्रण, पारदर्शिता कायम, युवा पुस्ताको आकांक्षा सम्बोधन, नेतृत्व हस्तान्तरण , शिक्षा–स्वास्थ्य–रोजगारीमा ठोस सुधार र विचारधारात्मक स्पष्टता ल्याउने हो भने जनताको विश्वास पुनः स्थापित गर्न सकिन्छ। इतिहासले प्रष्ट सन्देश दिएको छ- सत्ता जोगाउने खेलमा रमाउने दलहरूलाई जनता क्षमा गर्दैनन्। नेपालका कम्युनिस्टहरूले यो सन्देश नबुझे, उनीहरूको आगामी यात्रा पश्चिम बंगालको वाम पथभन्दा फरक हुने छैन। (ढकाल माओवादी केन्द्र, पाल्पाका जिल्ला सचिव हुन्)

 
 
 
 
 
 
शुक्रबार, १० असोज २०८२, १० : ४९

प्रतिक्रिया