वर्षाको कहर

अविरल वर्षाका कारण देशभर १० करोडको भौतिक क्षति, यातायात क्षेत्र सबैभन्दा धेरै प्रभावित

मंगलबार, २१ असोज २०८२, ११ : २५

काठमाडौं– हालै मुलुकमा भएका अविरल वर्षा, बाढी–पहिरो र जेनजी आन्दोलनले यातायात क्षेत्रसँगै अन्य क्षेत्रलाई आर्थिक रुपमा मारमा पा¥यो भने भौतिक क्षति पनि उतिकै भएको छ । २०८२ साल असोज १७ गते साँझबाट १९ गते विहानसम्म मनसुन सक्रिय भई मधेश र बागमती प्रदेशका अधिकांश बर्षामापन केन्द्रहरुमा भारी देखि अति भारी बर्षा तथा कोशी प्रदेशका अधिकांश बर्षामापन केन्द्रहरुमा मध्यम देखि अति भारी वर्षा मापन हुँदा मुलुकभरका राजमार्ग अवरुद्ध हुँदा यातायात व्यवस्था तहसनहस बनेसँगै उनीहरुले आर्थिक मार खेप्नुपरेको हो । 

२०८२ साल असोज ३ गते शुक्रबार नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिकै खसेको पहिरोले राजमार्ग अवरुद्ध बनाएसँगै ढुवानी सेवा प्रभावित बनायो भने यातायात क्षेत्रमा समेत गम्भिर क्षति पु¥यायो । २०८२ साल असोज १३ गते मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनः अवरुद्ध हुँदा दशैं लक्षित मालबस्तु ढुवानीमा प्रत्यक्ष प्रभाव पा¥यो भने यातायात क्षेत्रमा समेत यसको असर देखियो । 

२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यातायात क्षेत्रमा भएको आगजनी र तोडफोडका कारण यातायात क्षेत्रले ठुलै नोक्सानी बेहोर्नु प¥यो । हालै भएका यी तीन घटना (अविरल वर्षा, बाढी–पहिरो र ‘जेनजी’ प्रर्दशन) ले यातायात सेवा अस्तव्यस्त बनायो भने यो क्षेत्रले ठुलै नोक्सानी बेहोर्न बाध्य भयो । शनिबार बिहानदेखि आइतबार बेलुकासम्म बाढी, पहिरो, चट्याङ तथा दुर्घटनामा ५२ जनाले ज्यान गुमाए भने ७ जना बेपत्ता भएका छन् ।

भारी वर्षाको चपेटामा यातायात क्षेत्र

बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ साल असोज १७ गते साँझबाट १९ गते विहानसम्म मनसुन सक्रिय भई मधेश र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा भारी देखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा मध्यम देखि अति भारी वर्षा मापन भएको छ । उल्लेखित अवधिभरको २४ घण्टे (२०८२ साल असोज १८ गते विहान साढे ४ बजे देखि २०८२ साल असोज १९ गते बिहान साढे ४ बजे) अधिकतम वर्षा महेशपुर, रौतहटमा ३५८ मी.मी. मापन भएको हो । 

अविरल वर्षाका कारण २०८२ साल असोज १८ गते अपरान्हबाट बागमती, त्रिशुली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका नदीहरुमा जलसतहले सतर्कता तह पार गरेको थियो । २०८२ साल असोज १९ गते सप्तकोशी नदीले खतरा तह पार गरेको थियो । यसका सहायक नदीहरु मुख्यतया तमोर, सुनकोशी र अरुण नदीहरुले समेत खतरा तह पार गरेको थियो । कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरुमा समेत खतरा तह पार गरेको थियो । कोशी नदी चतरा केन्द्रमा बहाब खतरा तहको नजिक रहेको थियो । 

२०८२ साल असोज २० गतेसम्म भारी वर्षा र बाढीपहिरोको कारण देशका विभिन्न राजमार्गको १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका छन् । संखुवासभास्थित कोशी राजमार्गको भोटखोला–४ बरुणखोला र संखुवासभाकै मकालु–४ एकुवामा २०८२ साल असोज २० गते सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

त्यसैगरि ओखलढुंगाको मानेभन्जयाङ गाउँपालिका–६ र ७ को सीमा भएर बग्ने भँडारे खोलामा पनि बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ । सिद्धिचरण लोकमार्गमा पर्ने उदयपुरको कटारी नगरपालिका–१४ को दलदले र कटारीको विभिन्न ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । त्यस्तै धनकुटाको बाख्रीबास र साँगुरीगढीका विभिन्न ठाउँमा वर्षाको कारण मध्यपहाडी र कोशी लोकमार्ग अवरुद्ध भएका छन् । 

त्यसैगरि इलामको इलाम नगरपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएका छन् । त्यसैगरि रसुवाको नेपाल चीन जोड्ने नाका, पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसीस्थित अरनिको राजमार्ग, काभ्रेको रोसीस्थित बीपी राजमार्ग, मकवानपुरको बकैया–११ घट्टेपाखास्थित कान्ति लोकपथ, मकवानपुरकै भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथ, मकवानपुरको इन्द्रसरोवर–३ स्थित कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौँ सडक पनि २०८२ साल असोज २० गते पूर्णरुपमा अवरुद्ध भएका छन् । 

सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरेस्थित मदन भण्डारी लोकमार्गमा भने एकतर्फी गाडी चलिरहेका छन् । त्यसैगरि सिन्धुलीकै फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोसी–१ नेपालथोकस्थित बीपी राजमार्ग २०८२ साल असोज २० गते पूर्णरुपमा अवरुद्ध अबस्थामा छन् । विभिन्न राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा तहसनहस भएका छन् । नागरिकले यातायात सेवा लिन नपाएसँगै यातायात व्यवसायीले समेत आर्थिक भार खेप्नुपरेको छ । 

‘भारी वर्षाले श्रमिक साथी (यातायात क्षेत्रका मजदुर) ले ज्यान जोखिममा राख्नु प¥यो । कष्टकर अवस्थामा रहनु प¥यो ।’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले आजको अर्थलाई भने, ‘१–२ दिन गाडी बन्द हुँदा ब्याजले गर्दा व्यवसायी आर्थिक मारमा परे । प्राकृतिक प्रकोपले सडक बगायो । पूर्वाधारमा समेत क्षति पुग्यो ।’ 

अविरल वर्षाको क्षति, क्षति न्युनिकरणमा व्यवसायीको सुझाव

असोज १७ र १८ गते आएको अविरल वर्षाले गर्दा १० करोड रूपैयाँ बराबरको क्षति पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरणले देखाएको हो । कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । यसले गर्दा होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको छ । ५०० हेक्टर धान खेतमा क्षति भएको छ । 

झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति पुगेको छ । यसको क्षतिको लागत ७५ लाख रूपैयाँ अनुमान गरिएको छ । मेची नदीले ठाउँ–ठाउँमा रहेको स्परहरूमा क्षति पु¥याएको कारण ५० लाख रूपैयाँ बराबरको क्षति अनुमान गरिएको छ । केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका वडा–६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण गरिएको छ । 

कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पु¥याउँदा अनुमानित २५ लाख रूपैयाँको क्षति लागत राखिएको छ । लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका वडा १ मर्यादपुरमा करिब ६० मीटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मीटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको छ । त्यस्तै २०० वटा घर गोठ डुबान भएका छन् । यहाँ अनुमानित क्षतिको लागत ६० लाख रूपैयाँको गरिएको छ । 

महोत्तरीको रातो नदीले बलवा नगरपालिका वडा–२, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मीटर तटबन्ध बगाएको छ । त्यस्तै लोहारपट्टी नगरपालिका वडा–६ लोहारपट्टीमा ४०० मीटर, महोत्तरी गाउँपालिका वडा ६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिका–१, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको छ । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको छ । अनुमानित क्षतिको लागत ८ करोड रूपैयाँ गरिएको छ । 

अविरल वर्षा, बाढी–पहिरो र ‘जेनजी’ प्रदर्शनका कारण यातायात क्षेत्रलाई ठुलो आर्थिक धक्का लाग्यो । ७ दिनसम्म चलेको ‘जेनजी’ आन्दोलनले धेरै संरचना जल्यो । यसमा यातायात क्षेत्र पनि उत्तिकै प्रताढीत बन्यो । 

‘जेनजी आन्दोलनले हेटौंडास्थित नारायणी यातायात प्रा.लि.को कार्यालयमा पाकिङ्गमा राखेको सवारी–साधनमा नोक्सानी पुग्यो । यसबाट ६० देखि ६५ लाख रुपैयाँको क्षति पुग्यो । सुर्खेतमा ४० वटा गाडी तोडफोड भए ।’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए, ‘प्राकृतिक प्रकोप र आन्दोलनबाट हुने क्षतिलाई इन्स्योरेन्सले कभर गर्दछ । यस्तो बेला सरकारले पनि राहत प्याकेज ल्याउनुपर्दछ ।’ 

क्षति कम गर्न फण्डको आवश्यकता परेसँगै यसको सुनिश्चितता समेत गरिनुपर्छ । ०.५% (शून्य दशमलव पाँच प्रतिशत) को दुर्घटना बास्केट फण्डको आवश्यक रहेको छ । १% (एक प्रतिशत) को फण्ड बीमा कम्पनीको हुनुपर्ने देखिन्छ । फण्डको अभाव वा पर्याप्त फण्ड नभए फिल्डमा (सडकमा) ५० पैसा छुट्याए पब्लिक लोड कम हुन्छ भने फण्ड पनि जुट्दछ । यसरी यातायात क्षेत्रमा हुने आगजनी, तोडफोड र प्राकृतिक विपत्तीका कारण हुने क्षतिलाई न्युनिकरण गरेर लैजान सकिने सुझाव यायायात व्यवसायीले दिएका छन् । 

अविरल वर्षाका कारण भएको मानवीय क्षति

दशैंलगत्तै भएको बाढीपहिरोका कारण ठुलो मानवीय क्षति भयो । शनिबार बिहानदेखि आइतबार बेलुकासम्म बाढी, पहिरो, चट्याङ तथा दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । जसमध्ये ४८ को मृत्यु कोशी प्रदेशमा भएको हो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा उच्च सतर्कता अपनाइएकाले तुलनात्मक रूपमा कम क्षति भएको हो । सबैभन्दा ठुलो क्षति इलाममा भएको छ । जहाँ ३७ जनाले ज्यान गुमाएका छन् । एकजना बेपत्ता छन् । २० जना घाइते भएका छन् । 

देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा ८–८ जना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा ५ जना, माङसेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जना गरी ३७ जनाले ज्यान गुमाएका हुन् । बाढीपहिरोमा परी कोशी प्रदेशमा शनिबार राति र आइतबार गरेर ४३ जनाले ज्यान गुमाएका छन् । जसमा १५ जना पुरुष, १७ महिला, ३ बालक र ८ बालिका रहेका छन्  । मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् ।    
 

 
 
 
मंगलबार, २१ असोज २०८२, ११ : २५

प्रतिक्रिया