काठमाडौं - जेन-जी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एउटा निर्णायक मोडको रूपमा स्थापित भएको छ। यसले देखाएको ऊर्जा केवल असन्तुष्टिको अभिव्यक्ति होइन, भविष्यप्रतिको आशा र परिवर्तनको आकांक्षा हो। यदि राजनीतिक दलहरूले यस आन्दोलनलाई आफ्नै स्वार्थमा प्रयोग गरे, भ्रष्टाचार नियन्त्रण गर्न असफल भए, र संरचनागत सुधार नगरी केवल अस्थायी समाधानमा सीमित रहे भने, यो आशा छायामा पर्न सक्छ।
गत भाद्र २३–२४ गतेको जेन-जी आन्दोलनकेवल सडकमा देखिएको असन्तुष्टि मात्र होइन, यो लामो समयदेखि थिचिएको आक्रोश, बेवास्ता र अन्यायको संगठित अभिव्यक्ति थियो। युवा पुस्ताले आफ्ना भविष्यका सपना विफल हुँदै गएको, शासकीय संरचना अविश्वसनीय बन्दै गएको र राजनीतिक नेतृत्वप्रति विश्वास हराउँदै गएको अनुभूति स्पष्ट रूपमा व्यक्त गरे। २३ गतेको युवाको प्रदर्शन राष्ट्रलाई नयाँ दिशातर्फ उन्मुख गराउने प्रयास थियो। यस आन्दोलनलाई क्षणिक विद्रोहको रूपमा मात्र होइन, दीर्घकालीन सुधारको अवसरको रूपमा लिनु आवश्यक छ। यसको मूल मर्म छायामा नपरोस् भन्न सम्पूर्ण नेपाली समाजको जागरूकता अपरिहार्य छ।
जेन-जी आन्दोलनको सार सुशासन, पारदर्शिता, जवाफदेही नेतृत्व र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित छ। यसले युवापुस्ताले अन्धाधुन्ध राजनीतिक नारामा विश्वास नगर्ने र परिणाममुखी सोच राख्ने स्पष्ट सन्देश दिएको छ।
यो आन्दोलनको महत्वपूर्ण मुद्धा, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हो । राज्यका स्रोत, बजेट र अवसरहरू अब व्यक्तिगत स्वार्थ वा दलगत भागबण्डामा सीमित रहन सक्दैनन्। भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र निष्पक्ष अनुसन्धान प्रणाली अनिवार्य छ।
त्यसैगरी, शासकीय संरचनामा परिवर्तनको अपरिहार्यता आन्दोलनको अर्को विषय हो । पारदर्शी, जवाफदेही र समावेशी संरचना बिना भ्रष्टाचार नियन्त्रण, समान अवसरको सुनिश्चितता र दीर्घकालीन राजनीतिक स्थिरता सम्भव छैन। सकारात्मक सुधारले मात्र राष्ट्रलाई दीर्घकालीन विकास र समृद्धितर्फ लैजान सक्छ।
मुलुकमा युवापुस्ताको भविष्य सुरक्षित हुनुपर्छ भन्ने आग्रह आन्दोलनले स्पष्ट रूपमा प्रस्तुत गरेको छ। शिक्षा, रोजगारी, सीप विकास र अवसर सिर्जना नगरेसम्म युवा पुस्ता राष्ट्रको हितमा सक्रिय रूपमा खडा हुने अवस्था कमजोर रहन्छ, जसले दीर्घकालीन विकासमा प्रत्यक्ष असर पार्छ।
त्यसैले जेन-जी आन्दोलनको सफलता वा असफलतामा मुलुकको भविष्य कस्तो हुने भन्ने कुरा निर्भर हुनेछ । यो विषय राजनीतिक दलहरूको मानसिकता र व्यवहारमा पनि निर्भर रहनेछ। विशेषतः तत्कालीन सरकारको अकर्मण्यताका कारण दर्जनौँ युवाले सहादत प्राप्त गरेका छन् भने सयौँ घाइते भएका छन्। आन्दोलनका क्रममा देशको अपार सम्पत्ति मात्र होइन, निजी सम्पत्तिमा पनि ठूलो क्षति पुगेको छ। उद्योग–धन्दा, कलकारखाना, व्यापार र लगानीसमेत गम्भीर रूपमा प्रभावित भएका छन्।
यस्तो परिस्थितिमा राजनीतिक नेतृत्वले आफ्ना विगतका कार्यहरूबारे गम्भीर आत्मसमिक्षा गर्नुपर्ने समय आएको छ। दलहरूले युवा पुस्ताको आकांक्षा अनुरूप नेतृत्व हस्तान्तरण गर्दै पुस्तान्तरणको सिद्धान्तअनुसार नयाँ नेतृत्वलाई अघि बढाउने इच्छाशक्ति देखाउनु आजको आवश्यकता हो। यदि यस्तो कदम चालिएन भने वर्तमान पुस्ता नेतृत्वप्रति अझ बढी निराश हुनेछ।
जेन-जी आन्दोलनले नेपालमा दीर्घकालीन सुधारको ऐतिहासिक अवसर प्रस्तुत गरेको छ। यस अवसरलाई सार्थक बनाउन राज्यले केही आधारभूत सुधारहरू अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्छ।
आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थाहरूको जवाफदेहीपन, नीति तथा बजेटको पारदर्शिता, र नागरिक अधिकार सुनिश्चित गर्न कानुनी तथा शासकीय संरचनामा सुधारको प्रक्रिया तत्काल अघि बढाउनु आवश्यक छ। यसको लागि आन्दोलनको मुख्य मुद्धा प्रत्यक्ष कार्यकारीको निर्वाचन जरुरी छ । जुन विषय यस अघि पनि नागरिक समाज र केही पुराना दलहरुले पनि उठाउँदै आएका थिए ।
अन्तरिम सरकारको मुख्य जिम्मेवारी फागुन २१ मा तय भएको निर्वाचन प्रक्रिया सरल, विश्वसनीय र निर्वाध रूपमा सम्पन्न गराउनु हो । जसले लोकतान्त्रिक अभ्यासप्रति जनविश्वास बलियो बनाउनेछ।
साथै सरकारले दीर्घकालीन सुधार, संस्थागत सुदृढीकरण, र नागरिक विश्वासको पुनःस्थापना गर्दै जेन–जी आन्दोलनको सकारात्मक प्रभावलाई दीर्घकालीन रूपमा कायम राख्नुपर्नेछ। मुलुकले फेरि पनि यस्तो आन्दोलनको सामना गर्न सक्तैन । यो आन्दोलन नै अन्तिम हो भनेर सरकार तथा दलहरुले कदम चाल्न जरुरी छ ।
प्रतिक्रिया