नेपालको राजनीतिक इतिहासमा भदौ २३ र २४ का दिनहरूले एउटा नयाँ मोड दिए । दशकौँदेखि राजनीतिक मञ्चमा हावी पुराना पात्र र दलहरूको जरो यसपटक बन्दुक र बारुदले होइन, मोबाइल, इन्टरनेट र डिजिटल चेतनाले हल्लाइदियो । यो थियो “जेनजी विद्रोह”।
यो विद्रोह कुनै आकस्मिक घटना थिएन । तर नेपालका कतिपय नेताहरूले २३ गते मात्र ‘जेनजी’ शब्द सुनेका थिए । यस्ता असंगठित आन्दोलनहरू अविकसित मुलुकहरूमा मात्र होइन, विकसित देशहरूमा पनि गम्भीर मुद्दाहरूका कारण देखा पर्छन् । उदाहरणका रूपमा, अरब स्प्रिङ, अमेरिकाको “अकुपाई वाल स्ट्रिट” आन्दोलन, युरोप हुँदै दक्षिण एशियाली मुलुकहरू पाकिस्तान, श्रीलंका, म्यानमार र बङ्गलादेशसम्म “नेपो बेबी”, “नो करप्सन” जस्ता अभियानहरू चलेका थिए । यी सबै आन्दोलनहरूमा सामाजिक सूचना तथा सञ्चार माध्यमहरूको व्यापक प्रयोग भएको पाइन्छ ।
यो पुस्ताको उत्पत्तिको कथा अमेरिकाबाट सुरु भएको मानिन्छ । सन् १९९७ देखि २०१२ बीच जन्मिएको यो पुस्ता डिजिटल संसारसँगै हुर्किएको, स्वतन्त्रता र न्यायका मूल्यमा बाँच्ने पुस्ता हो । उनीहरूले देखेका थिए,राज्यका हरेक तहमा चरम भ्रष्टाचार, बेतिथि, अराजकता र सत्ताधारीहरूको विलासी जीवनशैली । संविधानसभामार्फत जारी भएको संविधानले दशक पार गर्दा कैयौँ पटक सरकार फेरिए, तर जनजीवनमा सुधार आएन । उल्टै, एनसेल, वाइडबडी, यती,ओम्नी,सुनकाण्ड, बूढीगण्डकीजस्ता बहुचर्चित भ्रष्टाचारका सयौं काण्डहरूले शासनप्रति अविश्वास झन् गहिरो बनायो ।
अर्कोतर्फ, बेरोजगारी र परनिर्भर अर्थतन्त्रले युवामनमा असन्तोषको आगो दन्काइरहेको थियो । वर्षेनि लाखौँ युवा विदेशिन बाध्य भइरहेका थिए । उनीहरूको पसिनाको रेमिट्यान्स सत्ताधारी र बिचौलियाको विलासितामा खर्चिनु घोर अन्याय थियो । यही असन्तोष सामाजिक सञ्जालमार्फत ‘डिजिटल विद्रोह’ मा रूपान्तरण भयो ।
सरकारले जब सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो, त्यसले विद्रोहको आगोमा घिउ थप्यो । डिजिटल प्लेटफर्महरू प्रयोग गर्दै युवाहरूले भदौ २३ मा देशव्यापी शान्तिपूर्ण प्रदर्शन गरे । तर दम्ब र अहंकारमा अडिएको सरकारले दमन, गोली र लाठीचार्जद्वारा जवाफ दियो । ७६ जनाले ज्यान गुमाए र हजारौँ घाइते भए ।
उपलब्धीहरु
यो विद्रोहले पुरानो राजनीतिक ढाँचा हल्लाइदियो र नेपाली समाजको चेतनामा ऐतिहासिक परिवर्तन ल्यायो ।
पहिलो, यसले प्रमाणित ग¥यो कि नयाँ पुस्ता अब मौन दर्शक होइन । उनीहरू राजनीतिप्रति असन्तुष्ट होइनन्, बरु वैकल्पिक दृष्टि र नयाँ सोचका वाहक हुन् । सामाजिक सञ्जाल, डिजिटल माध्यम र स्वतन्त्र पत्रकारिताको प्रयोगमार्फत उनीहरूले सत्य खोज्ने र सत्तालाई प्रश्न गर्ने साहस देखाए ।
दोस्रो, राज्यसत्ताको चरित्र उजागर भयो,जसले लोकतन्त्रको आवरणभित्र नागरिक स्वतन्त्रतालाई दबाउने प्रवृत्ति लुकाइरहेको थियो । जेन्जी विद्रोहले लोकतन्त्रलाई चुनावी अभ्यास नभई ‘उत्तरदायित्व र जवाफदेहिता’ को प्रक्रियाका रूपमा पुनः परिभाषित ग¥यो ।
तेस्रो, यो आन्दोलनले देखायो कि सामाजिक सञ्जाल र डिजिटल नेटवर्किङ मनोरञ्जनका माध्यम मात्र होइनन्, तिनीहरू राजनीतिक सचेतनाका शक्तिशाली हतियार बन्न सक्छन् । फेसबुक, टेलिग्राम, डिस्कर्ड, ट्विटर (एक्स) र टिकटक जस्ता प्लेटफर्महरूले युवालाई छिटो, सुसंगठित र साझा उद्देश्यमा जोड्ने माध्यम बने ।
चौथो, विद्रोहले राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको राजनीतिक चेतना र नागरिक हैसियतलाई चिनायो । विश्वभरका मिडियामा यो आन्दोलनले स्थान पायो, जसले नेपालको लोकतान्त्रिक छविबारे नयाँ बहस सुरु ग¥यो र थाती रहेको कार्यकारी राष्ट्रपति र पुर्णसमानुपातिक ब्यबस्थाको माग जोडजोडले उठ्यो ।
पाँचौँ, यसले पुराना राजनीतिक दलहरूलाई आत्मसमीक्षातर्फ धकेल्यो । युवा पुस्ताको क्रान्तिकारी ऊर्जा र तर्कशक्ति अब कुनै दल वा विचारले बेवास्ता गर्न सक्दैन भन्ने सन्देश स्थापित भयो । यस अर्थमा, जेन्जी विद्रोह नेपाली इतिहासमा डिजिटल पुस्ताको जागरणको प्रतीक बन्यो ।
क्षतिहरु
तर यो विद्रोहले राजनीतिक चेतनाको नयाँ अध्याय लेख्दै गर्दा यसको मूल्य अत्यन्तै महँगो भयो । पहिलो, मानव क्षति सबैभन्दा गम्भीर थियो । केही घण्टाको दमनमा ७६ जनाले ज्यान गुमाए र हजारौँ घाइते भए । अधिकांश पीडितहरू युवा वर्गका थिए, जसको भविष्य र परिवार दुवै संकटमा पर्यो ।
दोस्रो, भौतिक सम्पत्तिको विनाश व्यापक भयो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टी कार्यालयहरु देखि निजी घर, व्यावसायिक केन्द्रसम्म आगजनीका निशाना बने । अनुमानित खर्बौँ रुपैयाँ बराबरको क्षतिले देशको अर्थतन्त्र थप दबाबमा पर्यो ।
तेस्रो, राजनीतिक क्षति पनि गहिरो रह्यो । सरकार ढल्यो, सत्तामा शून्यता उत्पन्न भयो र शासनप्रति जनविश्वास झन् कमजोर बन्यो ।
चौथो, सामाजिक क्षति स्वरूप समुदायबीच विभाजन बढ्यो । शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हिंसाको प्रवेशले नागरिकबीच अविश्वास, डर र द्वन्द्व फैलायो ।
पाँचौँ, मानसिक र मनोवैज्ञानिक क्षति पनि कम थिएन । युवाहरूमा निराशा, भय र भविष्यप्रतिको अनिश्चितता गहिरिँदै गयो । यसरी, जेन्जी विद्रोहले चेतनाको दीप बाल्दा पनि देशलाई आर्थिक, सामाजिक र भावनात्मक रूपमा गम्भीर घाउ दियो ।
निष्कर्ष
जेनजी विद्रोह सडकको आवाज मात्र होइन,सडकको रगत पनि हो,सोचको पुनर्जागरण पनि हो । यसले पुरानो सत्ता र शैलीलाई प्रश्न गर्यो र नयाँ पुस्ताको सम्भावनालाई उजागर गर्यो । यो पुस्ताले पहिलो पटक सत्ता र जनताको बीचको दूरीलाई डिजिटल माध्यममार्फत मेटाउने प्रयास गर्यो । उनीहरूले परिवर्तनको माग नारामा होइन, व्यवहारमा उतार्ने संकल्प गरे । तर यदि यो चेतना दीर्घकालीन रूपान्तरणमा परिणत हुन सकेन भने अर्को निराशाको चक्र फेरि सुरु हुनेछ ।
नेपालको भविष्य अब फेरि जेनजी पुस्ताको हातमा छ । उनीहरूले विद्रोहलाई नीतिमा, असन्तोषलाई दृष्टिमा, र डिजिटल ऊर्जालाई राष्ट्रनिर्माणमा रूपान्तरण गर्न सके भने, यो ‘विद्रोह’ नेपालको पुनर्जागरणको आरम्भ बन्न सक्छ । यो पुस्ताले यदि स्वतन्त्र विचार, पारदर्शिता र सामूहिक उत्तरदायित्वलाई अपनायो भने, नयाँ नेपालको इतिहास यही पुस्ताको हातले लेखिनेछ ।
प्रतिक्रिया