टिप्पणी

राजनीतिमा उमेरको बहस

बुधबार, २९ असोज २०८२, १२ : ४९

काठमाडौं - नेपाली कांग्रेसको बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहँदा नेता चन्द्र भण्डारीले सबैको ध्यान केन्द्रित गरे । जेनजि आन्दोलनपछि पार्टी सभापति शेरबहादुर देउवा सपत्नी पहिलोपटक बैठकमा गएका थिए । राजनीतिमा पुस्तान्तरणको बहस अहिले निकै पेचिलो ढंगले चलेको छ । जेनजि विद्रोहले त्यो आवाजलाई झन चर्को बनाइदिएको छ । नेता भण्डारीले भनेका थिए,‘ राजनीतिमा के को पुस्तान्तरण ? के हो पुस्तान्तरण ? जोसँग सपना छ ऊ युवा हो । जोसँग सपना छैन, ऊ जुनसुकै उमेरको भए पनि नेता होइन । मुख्य कुरा विचार, दृष्टिकोण र सिर्जनशीलता महत्वपूर्ण हो । भारतमा ७७ वर्षको मान्छे नेता हुने। रुसमा ७८ वर्षको । चीनमा ८० वर्षको । अमेरिकामा पनि ८१ वर्षको मान्छे नेता हुन सक्तछ ? यहाँ किन नहुने ? क्षमता र दृष्टिकोण सही छ भने उमेरले कुनै असर गर्दैन । ’ उनको भनाईले यतिबेला निकै चर्चा पाएको छ । 
  जोआज राजनीतिक क्षेत्रमा उमेरको हदबन्दी हुनुपर्ने बहस चलेको छ, जुन पुस्तान्तरण र रूपान्तरणसित जोडिन्छ । यसको प्रमुख कारण हो— राजनीतिलाई बढी यथास्थितिवादी, कम जनमुखी र वंशवाद कायम गर्ने तरिका मान्न थालिनु ।

उमेरले धेरै मानिस चलायमान हुन नसक्ने र असान्दर्भिक, पुरातनवादी अनि आजको समय र सन्दर्भका दृष्टिले बेकामे हुने हुँदा नयाँ पिँढीको जमातलाई आकर्षण गर्न नसक्ने भएकाले यस्तो बहस चलेको हो । नेतृत्व दिन नसक्ने व्यक्ति मात्र राजनीतिमा सधैं हावी भइरहनु लोकतन्त्रको रक्षा र विकासका लागि अर्थहीन हुन्छ । नेपालका राजनीतिक दलहरूका नेताहरूले अरूका लागि स्वतः बाटो बनाइदिनुपर्छ । कतिपय दलका दोस्रो वा तेस्रो तहका नेता र अन्य क्षेत्रले पनि यस्तै धारणा राख्दै आएका छन् ।

अब ७० वर्षको उमेर सामान्य भएको छ र धेरै मानिस सधैं सक्रिय अवस्थामै पाइन्छन् । गरिबीमा भएका र ज्यादै विकट ठाउँका बाहेक आज सामान्य जनता औषधिबाट वञ्चित हुनुपर्दैन । टाउको वा आँखा दुखे वा यस्तै सामान्य परीक्षणका लागि पैसावाल र सरकारी कोषमा पहुँच हुनेहरूबाहेक अरूले विदेश जानुपर्दैन । जनताले तिरेको कर र गरिब युवाहरूले विदेशबाट पठाएको रेमिट्यान्समा आश्रित व्यवस्थामा स्वास्थ्यका नाममा हुने दुरुपयोगलाई कहिल्यै समर्थन गर्न सकिने कुरा भएन ।  अहिले स्वास्थ्य सेवामा भएको विकास र शिक्षाको कारण नेपालीहरुको औसत आयु वृद्धि भएको छ । त्यसैले ७० को आसपासका अधिकांश मानिसहरु सत्रिय देखिन्छन् । उनीहरु सजिलै नेतृत्व दिन सक्षम पनि छन् । इमान्दारी, नैतिकता र केही गरौं भन्ने हुटकुटी भने जरुरी हुन्छ । उमेर बढ्दा शरीरका अंग–प्रत्यंग कमजोर हुनु, मक्किनु वा रस सुक्नु आदि प्राकृतिक नियममा पर्ने भए पनि निरोगी रहन अनेक पक्षले त्यति नै महत्त्व राख्ने रहेछन् । ९० वर्षको निरोगी मानिसको चाहना र सक्रियता उसको शारीरिक र मानसिक अवस्थासित सम्बन्धित हुन्छ ।

सिंगापुरका संस्थापक लि क्वान यू त्यसको ज्वलन्त उदाहरण हुन । उनी ९० वर्षको उमेरमा राजनीतिमा सक्रिय थिए । साथै लोकप्रिय पनि थिए । संसारकै विकसित देशको स्तरमा देशलाई स्थापित गराउन बाँचुञ्जेल लागिरहे । त्यसैले मानिसको विचार र मन कहिल्यै बूढो हुँदैन, यदि उसमा अग्रगामी सोच, मानवतावादी दृष्टिकोण र सामाजिक–आर्थिक विषमताको विरोध, भेदभावको अन्त्य गर्ने चाहना छ भने । प्राप्त ज्ञानले मात्र मानिसले आफ्नो अस्तित्वबोध गरी नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनका एजेन्डा तय गर्न सक्तैन । शिक्षा र उच्च शिक्षा हासिल गरे पनि धेरै जनाले समाजका विसंगतिविरुद्ध लड्ने क्षमता राख्तैनन् । त्यसको लागि उसको दृढ इच्टाशक्ति र लक्ष्यप्रति गहीरो समर्पण चाहिन्छ । युवा हुँदैमा यी गुणहरु आफै आएँछन् भन्ने हुँदैन । 

 
बुधबार, २९ असोज २०८२, १२ : ४९

प्रतिक्रिया