टिप्पणी

समाजलाई हेर्ने एउटा वैकल्पिक दृष्टिकोणबारे

बुधबार, १२ कार्तिक २०८२, १३ : ४४

 काठमाडौं - मानिस, समाज र राजनीतिमा अन्योन्याश्रित सम्बन्ध छ । समाज आफैमा विभिन्न सम्बन्धको जालो हो । समाजशास्त्री इमाइल दुर्खाइमले  समाजलाई एउटा जैविक प्रणालीका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, त्यो जैविक प्रणालीमा हरेक अंग अर्थात् संस्थाले आफ्नो भूमिका कुशलतापूर्वक सन्तुलित तवरबाट पूरा गर्छन् भने मात्रै त्यस्तो समाज स्थिर रूपमा कार्य गर्न सक्ने हुन्छ, अन्यथा समाजको सन्तुलन बिग्रिन्छ । दुर्खाइमले समाजलाई आपसी सहमति र कार्यगत सन्तुलनका आधारमा विश्लेषण गरेका छन् । तर, जब सामाजिक मूल्यमान्यता तथा नैतिकता कमजोर हुन्छ त्यहाँ नीति–नियमविहीनताको अवस्था पैदा हुन्छ भन्ने उनको दृष्टिकोण छ । 

दुर्खाइमको नीति–नियमविहीनताको सिद्धान्तले समाजमा विद्यमान सामाजिक मूल्यमान्यता तथा नैतिकता कमजोर हुँदा उत्पन्न हुने नियमहीनताको अवस्थालाई व्याख्या गर्छ । नेपालमा शिक्षा, रोजगारी र समान अवसर नपाएका कारण युवा पुस्तामा असन्तुष्टि र निराशा बढेको छ । नेपालमा भएको जेनजि आन्दोलनका क्रममा देखिएको लुटपाट तथा चोरीसहितको अराजकता यही अवस्थाको परिणाम हो । समाज नै विचलित व्यवहार गर्दै र नैतिक रूपमा पतन हुँदै ऐन–कानुनले काम गर्न नसक्ने अवस्था बन्दै जाँदा नेतादेखि नागरिकसम्मलाई सँगसँगै भ्रष्ट बनाइरहेको छ ।

राजनीतिलाई सबै नीतिहरुको नेतृत्वदायी  नीति मानिएको छ । त्यसैले राजनीतिमा सुधार आउँदा समाजका सबै पक्षहरुमा सुधार हुन्छ । तर नेपालको दुर्भाग्य नै भन्नु पर्दछ, यहाँको राजनीतिमा कहिल्यै सुधार आउन सकेन । राजनीतिमा स्थिरता र नैतिकताको विकास नै भएन । जसको कारण मुलुकको विकास र समृद्धीले कुनै ठोस गति र उपलब्धी प्राप्त गर्न सकेन । जेनजि आन्दोलनपछि राजनीतिका थुप्रै सिद्धान्त र मोडेलहरुको बारेमा बहस र विश्लेषण हुन थालेको छ । यथास्थितिमा अब मुलुक अघि बढ्न सक्तैन भन्ने एउटा भाष्य निर्माण भएको छ । अनेकौं विकल्पहरुको बारेमा छलफल भए पनि ती विकल्पहरुले आकार लिन सकेका छैनन् । अहिले एउटा विकल्पको बारेमा मओवादीका युवानेता रजमान तामाङले विषय उठान गरेका छन् । आजका मूलधारका दल तथा नयाँ भनिएका दलहरुबाट पनि मुलुकमा कुनै मार्गप्रशस्त हुने कुरामा उनको विश्वास छैन । उनी नयाँ शिराबाट सोच्नुपर्ने बेला आइसकेको बताउँछन् । उनले निम्न मान्यता भएको राजनीतिक दलको आवश्यकता बोध गरेका छन् । जसको प्रारुप यस्तो हुनेछ ः
आधारभूत मान्यता
१. वैचारिक स्वतन्त्रता र विदेशी प्रभुत्वविरुद्धको प्रतिरोध ः
 कुनै पनि विदेशी राजनीतिक, आर्थिक वा सांस्कृतिक प्रभुत्वविरुद्ध स्पष्ट वैचारिक मोर्चा ।
नेपालको विकास र लोकतन्त्र आफ्नो ऐतिहासिक र सांस्कृतिक मूल्यमा आधारित , बिदेशी  नक्कलमा होइन।
राष्ट्रिय हित र स्वतन्त्रताको रक्षा सबै नीतिको केन्द्रविन्दु।
२. सभ्यतामूलक पहिचान र भू–राजनीतिक आत्मनिर्णय
नेपालको सभ्यतामूलक इतिहास, धर्म–संस्कृति, र भूगोललाई राष्ट्रिय नीतिको मेरुदण्ड ।
देशले कुनै पनि शक्ति–केन्द्रको अधीनमा नपरी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउने।
हिमालयीय सभ्यता र आदिवासी–जनजातीय चेतनालाई राष्ट्रिय गौरवका रूपमा पुनर्जीवित गरिने।
३. समुदाय–केन्द्रित शासन र सामूहिक मूल्य ः
व्यक्तिगत स्वार्थभन्दा माथि समुदाय र साझा हितलाई प्राथमिकता दिइने
गाउँ, बस्ती, र स्थानीय तहलाई निर्णयको केन्द्रमा राख्दै “तल्लोबाट माथि” शासन प्रणाली विकास ।
सामूहिक उत्तरदायित्व, परस्पर सहयोग र आत्मनिर्भर जीवनशैलीलाई राजनीतिक संस्कृतिको हिस्सा बनाइने।

४. बहुध्रुवीय विश्व दृष्टि र स्वतन्त्र कूटनीति :
नेपालले विश्वका विभिन्न सभ्यताहरूबीच सन्तुलित र साझेदारीपूर्ण सम्बन्ध विस्तार 
एकपक्षीय शक्ति–केन्द्रहरूको प्रभुत्वभन्दा बाहिर रहेर स्वतन्त्र र स्वाभिमानी परराष्ट्र नीति अवलम्बन।
नेपालको भू–रणनीतिक स्थिति र सभ्यतामूलक योगदानलाई विश्व मञ्चमा पहिचान दिने।
५. आध्यात्मिक राजनीति र आत्मनिर्भर अर्थ–संस्कृति
राजनीति, अर्थनीति र विकासको आधार आध्यात्मिक र सांस्कृतिक मूल्यमा आधारित 
न्म्ए भन्दा पनि सामाजिक न्याय, सांस्कृतिक समृद्धि र वातावरणीय सन्तुलनलाई विकासको मापनका ।
स्थानीय उत्पादन, परम्परागत ज्ञान र पर्यावरणमैत्री अर्थतन्त्रलाई प्रोत्साहान।
शास्त्रीय मान्यता र दर्शनमा आधारित ‘वाद’ को अब औचित्य देखिदैन । युगले परिवर्तनको माग गरेको छ । आजको परिवर्तित समाजमा सामाजिक सम्बन्ध, उत्पादन सम्बन्ध, उत्पादन शक्ति आदिमा अहिले ठूलो परिवर्तन आएको छ । अब पुरानो चश्मा लगाएर आजको समाजको व्याख्या विश्लेषण गर्न सकिदैन । बदलिंदो समाजमा पुरानै मान्यता र दृष्टिकोणका आधारमा परिवर्तनलाई आत्मसात गर्न संभव छैन । त्यसैले समाज बदल्न चाहनेहरु आफै पनि बदलिन जरुरी छ । उपर्युक्त मान्यताको आधारमा बनेको वा ती मान्यताहरु स्विकार गर्ने राजनीतिक दलले मात्र वास्तविक सुशासन दिन सक्तछ ।  
आज समाजले राजनीतिमा मात्र होइन आर्थिक सम्बन्ध र ढाँचाहरुमा पनि विकल्पको खोजि गरिरहेको छ । समाजशास्त्री आर.के. मर्टनले समाजले तोकेको लक्ष्य अर्थात् धनसम्पत्ति वा शक्ति प्राप्त गर्न वैधानिक माध्यम नपाउँदा वा त्यस्तो विकल्प उपलब्ध नहुँदा कुनै पनि व्यक्तिले ‘नवीन माध्यम’ अपनाउन सक्छ भन्ने दृष्टिकोण राखेका छन् । उनको दृष्टिकोणबाट हेर्ने हो भने धनसम्पत्ति तथा शक्ति प्राप्तिको चाहना हरेक व्यक्तिलाई छ, तर त्यसका लागि समान पहुँच र सम्भावना भने उपलब्ध छैन । यस अवस्थामा समाजका हरेक पात्रले वैकल्पिक माध्यमको खोजी गर्छन् । नेपालमा पनि नेतादेखि नागरिकसम्मले आफ्नो अनुकूलता पर्दा भ्रष्टाचार तथा लुटपाटलाई आकस्मिक तवरमा वैकल्पिक माध्यमका रूपमा प्रयोग गरिरहेको देखिन्छ । आज भ्रष्टाचार एउटा घटनाक्रम मात्रै नभई संस्कृतिकै स्वरूपमा विकास हुन पुगेको छ ।

नेतृत्व र समाजबीच दोहोरो भूमिका हुन्छ । नेतृत्वले नैतिकता, उच्चस्तरको सामाजिक मूल्यमान्यता र नीति नियम पालना गर्ने संस्कार स्थापित गर्नुपर्छ भने समाजले पनि कानुनी व्यवस्थाको परिपालना तथा कार्यान्वयन गर्ने संस्कारको विकास गर्नुपर्छ । तर, नेपाल जस्तो देश तथा समाजमा नेतृत्वले पनि उच्चस्तरको नैतिकता प्रदर्शन गर्न सकेको छैन र समाजले पनि कानुनको परिपालनालाई आफ्नो जीवन पद्धतिका रूपमा स्वीकार गर्न सकेको छैन । यस्तो समाजमा नेता र नागरिक दुवै भ्रष्टाचारको अवसर कुरेर बसिरहेजस्तो देखिन्छ । यस्तो अवस्थामा सुशासनको कल्पना कसरी गर्न सकिन्छ ? सामाजिक संरचना र नेतृत्व शैलीमा गहिरोसँग जकडिएको भ्रष्ट आचरणले असंयमित राजनीतिक नेतृत्व र नागरिकलाई एकैपटक भ्रष्ट बनाइदिन्छ, जहाँ एकातर्फ नैतिकता र मूल्यमान्यता पतन हुन्छ, अर्कोतर्फ औपचारिक कानुन कामै गर्न नसक्ने बन्छ । साथै यसले सामाजिक अराजकता पनि सिर्जना गर्न सक्छ । शासनशैलीमा अनेक विकृति देखा पर्दछन् । 

जेन–जी आन्दोलनपछि समाजमा विभिन्न खालका प्रश्नहरु उठेका छन् । आन्दोलनकै उपजको रुपमा बनेको अन्तरिम सरकारले ठीक ढंगले काम गर्न सकेन भने वा सामाजिक सत्ताले आन्दोलनको मर्मलाई बुझेन भने समाज झन जटील मोडमा जाने निश्चित छ । किनकी जेनजी पुस्ताले खोजेका परिवर्तनको क्षेत्र  विशाल छ । अब जेन–जीले खोजेको संवैधानिक परिवर्तन कार्यान्वयन गराउने एक मात्रै बाटो चुनाव हो । तर, विद्रोहमा ७६ जनाको बलिदानी अर्लि इलेक्सनको लागि लागि मात्रै भएको होइन । चुनाव साध्य होइन, साधन हो । जेन–जीले जे परिवर्तन चाहेको छ, चुनावी एजेन्डा बनाएर जनताबाट अनुमोदन गराउने हो । नागरिक सर्वोच्चता स्थापना गराउनका लागि अब चुनावको विकल्प छैन ।

यी सबै विषय नागरिक सर्वोच्चतासँग सम्बन्धित छन् । जनता सचेत, संगठित र सक्रिय रहे भने सरकार मात्रै होइन, पुराना राजनीतिक र प्रशासनिक संरचना पनि सुध्रिन बाध्य हुनुपर्छ । यही चेतना जेन–जी विद्रोहपछिको नेपालमा नयाँ राजनीतिक र सामाजिक रूपान्तरणको आधार बन्दै छ । अब नेपाल जेन–जी विद्रोह पहिले र पछि गरी इतिहासको दुई भागमा बाँडिएको छ । यसको गहीरो अध्ययन हुनु पर्दछ । 

त्यसैले सही राजनीतिक विचार र सिद्धान्तबिना देशले चाहेको परिवर्तन संभव हुन सक्तैन । समाज विकासको सन्दर्भमा द्वन्द्ववादले गरेको व्याख्या अनुसार पुरानोको निषेध मात्र होइन निरन्तरता पनि आवश्यकता पर्दछ । मात्रात्मबाट गुणमा  परिवर्तन हुने क्रममा पुरानोको अवशेष पनि रहन्छ । यो नियमा समाज विकासमा पनि लागु हुने गर्दछ । त्यसैले नेपालको स्वाधिनता र स्वतन्त्र अस्तित्वको रक्षाको लागि नयाँ पुराना सबै शक्तिको एकता र सहकार्यको खाँचो छ । आजको जटी भू–राजनीतिक परिवेशमा निकै वुद्धिमत्तापूर्ण तरिकाले कदम चाल्न आवश्यक छ ।  

 
 
बुधबार, १२ कार्तिक २०८२, १३ : ४४

प्रतिक्रिया