बालेनलाई प्रश्न : लोकप्रियतामै रमाउने कि उत्तरदायित्व वहन गर्ने ?

बुधबार, २३ पुस २०८२, ०९ : ४०

बालेन साह एक समय आशाको नाम थिए। काठमाडौँका मेयर भएर पनि उनी देशभरका प्रिय नेता थिए—पश्चिम दार्चुलादेखि पूर्व जनकपुर अनि काँकडभिट्टासम्म। रिक्सामा टाँसिएका उनका ठुला तस्बिरहरू, सामाजिक सञ्जालमा कोरिए नाराहरू र युवाको भरोसाले उनलाई राष्ट्रिय प्रतीकझै बनायो। पुरानो राजनीतिप्रति वितृष्ण बोकेको समाजले बालेनमा नयाँ विकल्प देख्यो—कडा, निर्भीक र निस्वार्थ समाजसेवी अर्थात् राष्ट्रवादी र विकासवादी।

तर उदय सधैं टिकिरहँदैन, यदि संवेदनशीलता साथमा सँग सँगै नहिँड्यो भने। भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहले बालेन साहको छायाँ बदल्यो। सामाजिक सञ्जालमार्फत आन्दोलनकारीलाई निर्देशित गर्दै उद्वेलित बनाएका उनले अन्ततः नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बेलामा सम्पर्कविहीन भएर गैरजिम्मेवार चरित्र प्रदर्शन गरे । त्यसयता उनी पूर्णतया उदांगो भएर विगतको लोकप्रियतामा निकै ह्रास आएको छ । 

जेन्जी आन्दोलनपछि अपेक्षा थियो— समवेदना, उत्तरदायित्व र स्पष्टता सहितको उनको नेतृत्व। तर त्यही घडीमा उनी मौन देखिए। जनताले रगत र आँसुको भेल बगाउँदा समवेदनाका शब्द आएन, नेतृत्व खोज्दा दिशानिर्देश आएन। लोकप्रियताले जितेको उनको व्यक्तित्वले कठिन घडीमा मानवीय उपस्थितिको परीक्षा पास गर्न सकेन भन्ने आरोप बलियो हुँदै गयो। यहीँबाट हराउँदै गएका बालेन साह पूरै गुपचुप रहे।

नाम उस्तै उहि रह्यो तर विश्वास खुम्चियो। अचेल पुनः राजनीतिमा सक्रिय देखिन थाले पनि पहिले जस्तो ‘असल मान्छे’ भन्ने सर्वसम्मति फर्केन र त्यो सायद संभव छैन। किनकि राजनीति केवल कामको सूची होइन । यो स्टन्टको क्षणिक मनोरञ्जन पनि होईन्, बरु यो संवेदनाको भाषा हो।

बालेन साहको संक्षिप्त कथा एउटा चेतावनी हो। यो युवाहरुका लागि एक गहकिलो शिक्षा पनि हो। उदाउन साहस चाहिन्छ तर टिक्न राजनीतिक चरित्र आवश्यक हुन्छ। यदि सधैं जनताको पीडामा उभिन सकेन भने भीडले बनाएको नेता भीडमै हराउन सक्छ।

आज यक्ष प्रश्न तेर्सिएको छ— हामी नामको पछि लाग्ने कि जिम्मेवारीको ? लोकप्रियताको मोहमै रम्ने कि मानवीय उत्तरदायित्व खोज्ने ? इतिहासले जवाफ नाराबाट होइन, कठिन क्षणमा देखिएको उपस्थितिबाट खोजिरहेको हुन्छ ।

 
 
 
बुधबार, २३ पुस २०८२, ०९ : ४०

प्रतिक्रिया