टिप्पणी

पैंसा राख्न स्टेशन बनाउनेबाट कसरी सुशासनको आशा गर्ने ?

सोमबार, २८ पुस २०८२, १४ : ५०

काठमाडौ - कुनै भवितव्य आइपरेन भने आउँदो फागुन २१ गते प्रतिनिधिसभाको लागि निर्वाचन हुने करिब निश्चित जस्तै भएको छ । त्यसैले राजनीतिक दलहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । पुराना दलहरु र नयाँ दलहरुको बीचमा राजनीतिक धु्रविकरणको सुरुवात हुन थालेको छ । सबैभन्दा धेरै करिब १७ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि चुनाव लक्षित कार्यक्रम गर्दै देशव्यापी अभियान चलाएको छ । 

यही अभियान अन्तर्गत उक्त पार्टीले माघ २६ गते कर्णाली प्रदेशको रुकुम पश्चिममा एकता सभाको नाममा चुनावी कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमको समाचारलाई सबै सञ्चार माध्यमहरुले महत्वका साथ सम्प्रेषण गरे । किनकी रुकुम पश्चिम जनार्दन शर्माको गृह जिल्ला हो । त्यहाँ उनको गहीरो प्रभाव छ । उनी जनताको सुख दुखमा साथ दिने नेताको रुपमा चिनिन्छन् । अहिले उनी नेकपामा छैनन् । ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ स्थापना गरेर उनले प्रचण्डसितको दशकौंको सहकार्य तोडेका छन् । 

रुकुमको सभामा प्रचण्ड, माधव नेपाल लगायतका नेताहरु पुगे र तिनीहरुले सुशासन र समाजवादका लामा भाषण गरे । प्रचण्ड र उनका जिल्लास्तरका कार्यकर्ताले त पुरै समय जनार्दनको आलोचनामा खर्च गरे । तर उनीहरुको प्रलापलाई आम नेपाली र रुकुमेली जनताले नबुझ्ने कुरा भएन । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टी र तिनीहरुले बनाएको सरकारले अरु सबै कुरा गर्न सके पनि सुशासन र समाजवाद ल्याउन सक्तैन । यी ऐजेण्डाहरुको बहस गर्न पनि उनीहरु योग्य छैनन् ।

माधव नेपाल ललिता निवास प्रकरणमा मुछिएका मात्र होइनन् विशेष अदालतमा भ्रष्टाचार मुद्धा समेत दर्ता भएको छ । ३५ लाख धरौटी राखेर उनी छुटेका अभियुक्त हुन । उनको थोरै पनि राजनीतिक नैतिकता र संस्कार  हुन्थ्यो भने तत्काल पार्टीको अध्यक्षबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सक्थे । बरु उनी मुद्धालाई कमजोर बनाउन र बलियो संरक्षण खोज्न प्रचण्डसित मिल्न आए । प्रचण्डलाई पनि पाको नेता चाहिएको थियो । आफूलाई भारतीय संस्थापनले त्यति विश्वास नगर्ने हुँदा उनीहरुको विश्वासिलो मान्छे माधव नेपाललाई पार्टीमा ल्याउँदा फाइदा हुने उनले देखे । एउटा भ्रष्टाचार आरोपमा मुद्धा खेपिरहेको नेतासँग मिलेर प्रचण्डले मुलुकमा कस्तो खालको सुशासन ल्याउन खोजेका हुन ?

अर्को अनौठो कुरा त के छ भने प्रचण्ड आफै पैंसा राख्ने विभिन्न स्टेशन बनाउने नेता हुन । उनले आफ्नै मुखले एउटा अन्तर्वार्तामा आफूले कहिले पनि पैंसा एकै ठाउँमा राख्ने नगरेको बताएका थिए । उनले नामै लिएर केही पैंसा छोरी गंगाको घरमा, केही अरु कमरेडहरुको घरमा राख्ने गरेको बताएका थिए । के यस्ता नेताले नेतृत्व गरेको पार्टी र सरकारले मुलुकमा सुशासन कायम गर्ने समाजवादको यात्रामा जाने संभव हुन्छ ? 

रुकुमको सभाको अर्को चाखलाग्दो प्रसंग हो जनार्दनलाई भगौडा भन्नु । प्रचण्डको बारेमा एक पूर्व माओवादी कार्यकर्ताले भने,‘ विचरा प्रचण्ड अहिलेसम्म आफै भागिरहेका छन् । उनको एउटा निर्वाचन क्षेत्रसम्म पनि छैन । उनी आफू निर्वाचन लडेका कुनै क्षेत्रप्रति जवाफदेही बन्न सकेका छैनन् । उनी जहाँबाट चुनाव लडे त्यहाँ फर्केर पनि गएका छैनन् । किन भने अर्को चुनावमा उनी अर्कै क्षेत्रबाट उम्मेदवार बन्छन् । यदि उनी लोकप्रिय र राजनेता नै हुन्थे भने मुलुकको जुनसुकै क्षेत्रबाट चुनाव लड्ने हिम्मत गर्नुपर्दथ्यो । काठमाडौंको कुनै पनि क्षेत्रबाट जितेर देखाउन अनि स्विकार गर्न सकिएला साँच्चिकै प्रचण्ड राजनेता रहेछन् भनेर । कहाँ सुरक्षित क्षेत्र छ भनेर भाग्दै जानेलाई कायर र अवसरवादी मात्र भन्न सकिन्छ । ’

रुकुमकै सभाबाट उनले रुकुम पूर्वबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । यो अपेक्षित नै थियो । किनभने रुकुम पूर्वभन्दा प्रचण्डको लागि सुरक्षित स्थान देशभरि कतै पनि छैन । त्यहाँ उनी आफैले चलाएको ‘जनयुद्ध’ मा शहीद भएका योद्धाहरुको पुत्र सन्दीप पुनसँग प्रतिष्प्रधा गर्न गैरहेका छन् । एउटा शहीद पुत्रसँग लड्न जाने प्रचण्डको घोषणालाई शहीद तथा बेपत्ता र घाइते योद्धाहरुले ठिक मानिरहेका छैनन् । स्थानीय एक घाइते योद्धाले प्रचण्डको यस्तो घोषणा सुनेर आफूलाई निकै दुख लागेको बताउँदै भने,‘ उहाँ जस्तो नेता त राजधानी लगायतका ठाउँबाट लड्नुपर्ने हो । उहाँलाई भोट हालेर के गर्ने ? उहाँ फेरि फर्केर रुकुम आउने होइन । एउटा शहीद पुत्रलाई अवसर दिनुपर्नेमा उसकै भाग खोस्न आउनु ज्यादै दुखद हो । म त प्रचण्डलाई भोट हाल्न सक्तैन । ’  
 

 
सोमबार, २८ पुस २०८२, १४ : ५०

प्रतिक्रिया