नेपालको पर्यटन क्षेत्र : आर्थिक पुनरुत्थान, दिगोपन र राष्ट्रिय समृद्धितर्फको रणनीतिक अवसर

मंगलबार, २९ पुस २०८२, १६ : ०७

नेपालको पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण तथा सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित हुँदै आएको छ। विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय सन्तुलित विकास तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पर्यटन क्षेत्रको योगदान उल्लेखनीय रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय  का अनुसार पर्यटन नेपालका प्रमुख वैदेशिक मुद्रा आर्जन गर्ने क्षेत्रमध्ये एक हो, जसले देशको भुक्तानी सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्दछ।

भौगोलिक दृष्टिले नेपाल स्थलरुद्ध मुलुक भए तापनि यसले अद्वितीय प्राकृतिक, सांस्कृतिक र जैविक विविधता बोकेको छ। उत्तर–दक्षिण १९३ किलोमिटरको दुरीभित्र समुद्री सतहबाट करिब ७० मिटर उचाइमा अवस्थित झापाको कचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्म फैलिएको उचाइगत विविधताले नेपाललाई विश्व पर्यटन नक्सामा विशिष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ। उचाइ, जलवायु, भू–आकृति तथा वनस्पतिको अत्यन्तै फरक–फरक स्वरूप एउटै देशभित्र अनुभव गर्न सकिने दुर्लभ विशेषता नेपालसँग रहेको छ।

संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (UNWTO) ले पर्यटनलाई “एक वर्षभन्दा बढी अवधि ननाघ्ने गरी मनोरञ्जन, व्यवसाय वा अन्य प्रयोजनका लागि आफ्नो सामान्य बसोबास क्षेत्र बाहिर यात्रा गरी बसोबास गर्ने व्यक्तिहरूका गतिविधि” भनी परिभाषित गरेको छ (UNWTO, 1995)। UNWTO का अनुसार विश्वव्यापी रोजगारीको करिब १० प्रतिशत हिस्सा पर्यटन क्षेत्रले ओगटेको छ र दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा पर्यटन क्षेत्रको योगदान स्पष्ट रूपमा स्वीकार गरिएको छ। विशेषतः रोजगारी सिर्जना, स्थानीय संस्कृति प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा पर्यटन नीतिगत रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ।

सन् २०२० मा देखिएको कोभिड–१९ महामारीले विश्वव्यापी स्वास्थ्य, सामाजिक र आर्थिक संकट उत्पन्न गर्यो। पर्यटन क्षेत्र यस महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक रह्यो। महामारीपछिको पुनरुत्थान चरणमा UNWTO ले पर्यटन पुनरुत्थानका लागि लगानीलाई प्रमुख प्राथमिकताका रूपमा पहिचान गरेको छ। विश्व पर्यटन दिवस २०२३ का लागि “पर्यटन र हरित लगानी” (Tourism and Green Investment) विषयवस्तु चयन गर्नुको उद्देश्य पनि महामारीपूर्वको अवस्थामा फर्किन दिगो र वातावरणमैत्री पर्यटनमा लक्षित लगानी आवश्यक रहेको सन्देश दिनु हो।

पर्यटन क्षेत्रको आय व्यय सम्बन्धलाई अर्थतन्त्रको परिपत्र प्रवाह (Circular Flow of Income) सँग जोडेर हेर्न सकिन्छ। पर्यटकहरू पर्यटन सेवाका उपभोक्ता हुन् भने होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सी, यातायात, गाइड, हस्तकला, कृषि तथा स्थानीय उत्पादन आपूर्तिकर्ता सेवा प्रदायक हुन्। यस क्षेत्रमा हुने खर्चले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्छ र बहुगुणक प्रभाव (Multiplier Effect) मार्फत समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ। सरकारको भूमिका नीति निर्माण, नियमन, पूर्वाधार विकास तथा प्रवर्द्धनमा केन्द्रित रहन्छ।

कोभिड–१९ पछिको चरणमा विश्व पर्यटन क्षेत्र क्रमिक पुनरुत्थानको प्रक्रियामा छ। UNWTO का अनुसार सन् २०२२ मा विश्व पर्यटन आगमन र पर्यटन आम्दानी २०२१ को तुलनामा सुधार देखिएको छ। फ्रान्स सन् २०२२ मा ७९.४ मिलियन पर्यटक आगमनसहित विश्वकै प्रमुख पर्यटन गन्तव्य रह्यो। यसबाट करिब ५९.७ अर्ब अमेरिकी डलर आम्दानी भई कुल निर्यातमा १८.३ प्रतिशत योगदान पुगेको छ।

फ्रान्सपछि स्पेन, संयुक्त राज्य अमेरिका, टर्की, इटाली, मेक्सिको, बेलायत, जर्मनी, ग्रीस र अस्ट्रिया प्रमुख गन्तव्यका रूपमा रहेका छन्।
सन् २०२५ मा विश्वका सबैभन्दा बढी भ्रमण गरिएका सहरहरूमा बैंकक, हङकङ, लन्डन, मकाउ, इस्तानबुल, दुबई, मक्का, एन्टाल्या, पेरिस र क्वालालम्पुर पर्दछन्। यी गन्तव्यहरूले आर्थिक लाभसँगै सांस्कृतिक आदान–प्रदान र सम्पदा संरक्षणमा पनि योगदान पुर्याएका छन्।

नेपालले सन् २०१९ मा करिब ११ लाखभन्दा बढी पर्यटक आगमनको ऐतिहासिक उच्च बिन्दु छोएको थियो। तर, महामारीका कारण सन् २०२० मा पर्यटक संख्या २ लाख ३० हजारमा सीमित रह्यो र सन् २०२१ मा झनै घटेर १ लाख ५० हजारमा पुगेको थियो। सन् २०२२ देखि पर्यटन पुनरुत्थान सुरु भई ६ लाख १४ हजार पर्यटक आगमन भयो। सन् २०२३ मा १० लाख १४ हजार, सन् २०२४ मा ११ लाख ४७ हजार र सन् २०२५ मा करिब ११ लाख ५८ हजार पर्यटक नेपाल आएका छन्।

सन् २०२४ मा अन्तर्राष्ट्रिय पर्यटक खर्चबाट करिब १०० अर्ब नेपाली रुपैयाँ (करिब ७०० मिलियन अमेरिकी डलर) आम्दानी भएको अनुमान गरिएको छ। भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, थाइल्यान्ड र क्यानडा नेपालका प्रमुख पर्यटक स्रोत मुलुकका रूपमा रहेका छन्।

पर्यटनसँग सम्बन्धित संस्थागत संरचनामा पनि क्रमिक वृद्धि देखिएको छ। सन् २०२४ मा १८२ वटा तारा स्तरीय होटल रहेका थिए भने सन् २०२५ मा यो संख्या २१४ पुगेको छ। पर्यटक स्तरको होटल १,२३४ बाट बढेर १,३६४ पुगेका छन्। कुल होटल शय्या संख्या ५४,३७० बाट ६२,६४२ पुगेको छ। ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, टुर गाइड र ट्रेकिङ गाइडको संख्यामा पनि स्थिर वृद्धि देखिन्छ, जसले पर्यटन क्षेत्रको संस्थागत विस्तार र रोजगारी सिर्जनालाई संकेत गर्दछ।

पर्यटकको औसत बसाइ अवधि पर्यटनको आर्थिक प्रभाव मापन गर्ने महत्वपूर्ण सूचक हो। सन् १९८० को दशकमा औसत बसाइ अवधि ११–१३ दिन रहेको थियो। २००० र २०१० को दशकमा पनि यो अवधि करिब १२–१३ दिनमै स्थिर रह्यो। महामारीका वर्षहरूमा औसत बसाइ अवधि १५ दिनभन्दा माथि पुगेको थियो भने २०२२–२०२५ मा पुनः करिब १३ दिनमा स्थिर भएको छ। लामो बसाइ अवधि अर्थतन्त्रका लागि सकारात्मक मानिन्छ।

नेपालमा वन क्षेत्र करिब ४४.७४ प्रतिशत रहेको छ र १५ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष क्षेत्र छन्। विश्वका सर्वोच्च १० हिमालमध्ये ८ वटा नेपालमै रहेका छन्। साथै, नेपालमा १० वटा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू रहेका छन्। यी प्राकृतिक र सांस्कृतिक सम्पदाले साहसिक, धार्मिक, सांस्कृतिक, इको पर्यटन र ग्रामीण पर्यटनका लागि विशाल सम्भावना सिर्जना गरेका छन्।

थीम–आधारित पर्यटन सर्किट, क्षेत्रीय सहकार्य, मानव संसाधन विकास, डिजिटल प्रवर्द्धन र दिगो पर्यटन अभ्यासलाई प्राथमिकता दिन सके नेपालले पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा राष्ट्रिय समृद्धिको आधार बनाउन सक्छ।

निष्कर्ष

नेपालको पर्यटन क्षेत्रले वर्तमान पुनरुत्थानको चरणमा महत्वपूर्ण मोड लिएको छ। नीतिगत स्पष्टता, दिगो लगानी, निजी–सार्वजनिक साझेदारी र क्षेत्रीय सहकार्यलाई सुदृढ गर्न सके पर्यटन क्षेत्रले आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र राष्ट्रिय पहिचान निर्माणमा अझ ठूलो योगदान दिन सक्ने स्पष्ट सम्भावना रहेको छ।  (लेखक ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष हुन् ।)

 
 
मंगलबार, २९ पुस २०८२, १६ : ०७

प्रतिक्रिया