राजनीतिमा समाज रूपान्तरण प्रधान हो, सत्ता गौण। तर व्यवहारमा राजनीति भने सत्ता प्राप्त गर्ने र जोगाउने खेलका रूपमा बुझिँदै आएको छ । वास्तविक अर्थमा राजनीति सत्ता परिवर्तनको साधन मात्र होइन, समाज रूपान्तरणको प्रभावकारी माध्यम हो। सत्ता बदलिँदैमा समाज बदलिन्छ भन्ने मान्यता आफैंमा अपूरो र भ्रामक छ। जबसम्म सोच, चरित्र, मूल्य र व्यवहार रूपान्तरित हुँदैनन्, तबसम्म सत्ता परिवर्तनले आम नागरिकको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्दैन।
प्रजातान्त्रिक व्यवस्थाको मूल आत्मा जनताको चेतना र सक्रिय सहभागितामा निहित हुन्छ। निर्वाचनमार्फत सरकार बदलिनु प्रजातन्त्रको सामान्य प्रक्रिया हो। तर हरेक निर्वाचनपछि अनुहार फेरिए पनि प्रवृत्ति नफेरिनु नै हाम्रो राजनीतिक समस्याको जड हो। सत्तामा पुगेपछि जनसेवाभन्दा स्वार्थ, इमान्दारिताभन्दा अवसरवाद र सिद्धान्तभन्दा सम्झौता हावी हुने प्रवृत्तिले समाजलाई निराश बनाउँदै आएको छ।
समाज रूपान्तरण भन्नाले केवल आर्थिक सुधार मात्र होइन। यसले सामाजिक न्याय, समानता, नैतिकता, उत्तरदायित्व र पारदर्शिताको स्थापना जनाउँछ। राजनीति गर्ने व्यक्तिको सोच समाजप्रति उत्तरदायी नभएसम्म नीति र कार्यक्रम कागजमै सीमित रहन्छन्। सत्ता परिवर्तनले शासनको स्वरूप बदल्न सक्छ। तर समाज रूपान्तरणले नागरिकको जीवनस्तर, चेतना र विश्वास परिवर्तन गर्छ।
विश्व इतिहासले हेर्दा जहाँ क्रान्ति वा आन्दोलन सत्ता परिवर्तनसँगै सामाजिक मूल्य र चेतनामा परिवर्तन ल्याउन सफल भए, त्यहाँ स्थायित्व र प्रगति सम्भव भयो। तर जहाँ क्रान्ति केवल सत्ता कब्जाको साधन बन्यो, त्यहाँ अस्थिरता, दमन र निराशा मात्र थपियो। त्यसैले परिवर्तनको केन्द्रबिन्दु सत्ता होइन, समाज हुनुपर्छ। समाज सचेत भयो भने सत्ता स्वतः सही दिशामा जान बाध्य हुन्छ।
नेपाली जनताले पटक–पटक परिवर्तनको आशामा आन्दोलन र निर्वाचनलाई साथ दिएका छन्। तर अपेक्षाअनुसारको परिणाम नआउँदा आज जनता निराश भएका छन्। सत्ता परिवर्तनलाई नै अन्तिम लक्ष्य ठानिनु हुँदैन। दलहरूले समाज रूपान्तरणको दीर्घकालीन एजेन्डाभन्दा तत्कालीन सत्ता समीकरणलाई प्राथमिकता दिए। यही कारण राजनीति जनताबाट टाढिँदै गएको हो।
समाज रूपान्तरणका लागि शिक्षा, चेतना र नैतिक नेतृत्व अपरिहार्य हुन । राजनीति गर्नेहरूमा सेवा–भाव, त्याग र इमान्दारिता विकास नभएसम्म कुनै पनि व्यवस्था प्रभावकारी बन्न सक्दैन। साथै नागरिक स्वयं पनि सचेत, प्रश्न गर्ने र उत्तरदायी बन्नुपर्छ। परिवर्तन केवल नेतृत्वबाट होइन, समाजकै सामूहिक व्यवहारबाट सम्भव हुन्छ।
संसदीय व्यवस्था जनताको प्रतिनिधिमूलक शासन प्रणाली हो। यो उत्कृष्ट र आदर्शयुक्त व्यवस्था हो भन्नेमा दुईमत छैन। प्रजातन्त्रमा आवधिक निर्वाचन यसको सुनौलो पक्ष हो, जसले नयाँ जनादेश दिन्छ। तर यो व्यवस्था प्रभावकारी रूपमा सञ्चालन हुन समाज पनि त्यत्तिकै सक्षम, सचेत र नैतिक हुनुपर्छ। सिद्धान्तहीन व्यक्तिहरूले संसदीय व्यवस्था सञ्चालन गर्दा व्यवस्था मात्र होइन, स्वयं मुलुक नै ओरालो लाग्ने खतरा उत्पन्न हुन्छ। व्यवस्था जोगाउने नाममा अपनाइने अलोकतान्त्रिक उपायहरूको मूल्य अन्ततः राष्ट्रले चुकाउनुपर्छ।
नेपालमा वयस्क साक्षरताको अवस्था हेर्दा विवेकी र सूचित जनमत निर्माण चुनौतीपूर्ण देखिन्छ। यद्यपि जनप्रतिनिधिमूलक शासन व्यवस्थाको विकल्प छैन। संसदीय व्यवस्था होस् वा अन्य कुनै प्रतिनिधिमूलक प्रणाली त्यसलाई सही दिशामा अघि बढाउन रूपान्तरणकारी चेतनाको विकास अपरिहार्य छ।
क्रान्ति कुनै निश्चित समयको घटना होइन, यो निरन्तर चलिरहने प्रक्रिया हो। तर त्यो निरन्तरता समाजको संस्कार, मूल्य र चेतनासँग जोडिनुपर्छ। यस सन्दर्भमा हाम्रो प्राचीन चिन्तन परम्परा सुदृढ, समग्र र मार्गदर्शक छ। त्यसलाई जीवन र व्यवहारमा उतार्नु नागरिकको दायित्व हो। विज्ञान र प्रविधिमा उल्लेखनीय प्रगति भए पनि नैतिक र मानवीय पक्षमा समानान्तर उन्नति हुन सकेको छैन। मानिस–मानिसबीचको असमानता झन् गहिरिँदै गएको छ।
यही असमानता घटाउन निरन्तर परिवर्तनको चिन्तन आवश्यक छ ।वर्गसंघर्षको सन्दर्भमा मात्र होइन, पारदर्शी र प्रजातान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि पनि। मानिसबीचको असमानता र अनैतिकता अन्त्य गर्ने एकमात्र बाटो वैध, लोकतान्त्रिक र नैतिक प्रक्रिया हो।
अवैध बाटोबाट प्राप्त उपलब्धि दीगो हुँदैन। किनभने त्यस्तो सत्तालाई जोगाइराख्न अपनाइने उपायहरू प्रजातान्त्रिक हुँदैनन्। क्रान्तिलाई केवल सत्ता परिवर्तनको साधन बनाउनेहरूले न त सत्तालाई प्रजातान्त्रिक बनाउन सक्छन्, न त त्यसलाई दीर्घकालसम्म टिकाउन। त्यसैले क्रान्ति सत्ता परिवर्तनका लागि मात्र होइन, राष्ट्रको उन्नति, जनताको उत्थान र समाज रूपान्तरणका लागि हुनुपर्छ।
“जनताको राज्य स्थापित गर्न जनताकै सहायता चाहिन्छ। कुनै वर्ग वा सम्प्रदायसँग शत्रुता र प्रतिशोध हुनु हुँदैन। नेपालमा बस्ने वा नेपालसँग सम्बन्ध राख्ने सबै हाम्रा दाजुभाइ हुन्। सम्पूर्ण देशको विकास र उन्नति नै हाम्रो अभीष्ट हुनुपर्छ।”
आज मुलुकलाई कुशल, इमानदार र दूरदर्शी राजनेताको आवश्यकता छ। क्षमता हुँदाहुँदै पनि राष्ट्रिय हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिँदा नेतृत्व आलोचनाको पात्र बनेका छन्। जनताका मूल मुद्दा ओझेलमा परेका छन्। चाहे नागरिक सर्वोच्चताको नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउने प्रयास होस् वा प्रतिपक्षलाई निषेध गर्ने अभ्यास यी दुवै जनहितविपरीत छन्।
जनताका काँधमा टेकेर राजनीति गर्ने दलहरूको यथार्थ बुझ्नु आज नागरिकको कर्तव्य हो। यसको अर्थ दलहरूलाई विस्थापित गर्नु होइन, राष्ट्रिय हितप्रति प्रतिबद्ध बनाउनु हो। मुलुकलाई यहाँसम्म ल्याउन दलहरूको योगदान महत्वपूर्ण छ र निकास दिलाउने दायित्व पनि उनैको हो।
दलहरूको विकल्प छैन। त्यसैले दलहरूलाई सही मार्गमा ल्याउने जिम्मेवारी पुनः जनतामाथि आएको छ। कर्तव्य बिर्सिएका दलहरूलाई कर्तव्यबोध गराउने समय हो । अन्ततः राजनीति सत्तामा पुग्ने सीढी होइन, समाज बदल्ने दायित्व हो। सत्ता साधन हो, लक्ष्य होइन। यही सत्यलाई दल, नेता र नागरिक सबैले आत्मसात् गरेमा मात्र वास्तविक लोकतन्त्र र समुन्नत समाज निर्माण सम्भव हुन्छ।
प्रतिक्रिया