मजदुर दिवस

अन्तर्राष्ट्रिय मजदुर दिवसको महत्व र सान्दर्भिकता

शुक्रबार, १८ बैशाख २०८३, ११ : ५७

काठमाडौं - प्रत्येक वर्ष मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनका लागि युरोप, अमेरिकालगायत विश्वभरी नै मजदुरले गरेको संघर्षको सम्झना र आफ्ना हक अधिकार सुनिश्चित गराउन दबाब दिने उद्देश्यले यस दिनलाई उपयोग गरिँदै आएको छ। नेपालमा पनि २००७ सालपछि मजदुर दिवस मनाउन थालियो। २०४६ सालको राजनीतिक परिवर्तनपछि भने यो दिनलाई राष्ट्रिय पर्वकै रूपमा सार्वजनिक बिदा दिन थालियो।

मूलतः सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको ऐतिहासिक वाक्याशंको नेपाली रूपान्तरण ‘एक दिन त्यस्तो हुनेछ। जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ।’ यसरी १९औं शताब्दी लाग्नुअगावै सन् १८८६ को मे ४ मा अमेरिकाको सिकागोमा हे मार्केट काण्ड भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धित मुद्दाका लागि विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। यसरी जतिबेला श्रमजीवी वर्गले आफ्नो अधिकार के हो भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गर्दै गरेका अवस्थामा उठेको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ। 

सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घण्टासम्म काममा लाग्नुपर्ने बाध्यता व्यहोरेका थिए। जसविरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो। अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा ग¥यो। फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा सन् १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवी वर्गको समाजवादी राज्य सत्ता स्थापना भयो। 

सन् १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो। तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारण ग¥यो। त्यति मात्र होइन, रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो। अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ। यसरी मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो। 

शनिबारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यालय समयको निर्धारण गरी आठ घण्टा गराउन यसै दिन धेरै श्रमिकले ज्यान गुमाएका थिए। अमुक श्रम शहिदहरूको सम्झना पनि गर्न जरुरी छ। विगत वर्षहरूमा जसरी यो वर्ष पनि नेपाली श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मेको रौनकता देखिएको छ। विश्वभरिका श्रमिकहरूले आफ्नो विजयोत्सवको रूपमा मनाइने यो दिवसले सधैं नै उत्तिकै महत्त्व राख्छ। यो दिवसले १३४ वर्ष पार गरी १३५औं वर्षमा प्रवेश गर्न लागेको छ। 

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको साथ नहुने भए २००७ सालदेखि २०४६ अनि २०६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ। अब त श्रमको परिभाषा नै फराकिलो भएको छ जसमा धेरै नेपाली अटाउँछौं। विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ। यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरूमध्येको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसिनाको उपज हो। अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ। पहिला धेरै उत्पादनलाई धेरै श्रम शक्ति लगाउनुपर्ने अवस्था थियो भने अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको छ। 

अहिले आणविक ऊर्जाको युग छ। विद्युतीय सञ्चारजगतले विश्व खाएको छ। वर्तमान युग साइबर युग हो। अर्कोतिर आतंकवादले विश्व हल्लाइरहेको अवस्था छ। नयाँ–नयाँ आर्थिक शक्ति राष्ट्रहरूको उदय भइरहेको छ। आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ। यस्तो अवस्थामा देशको ट्रेड युनियन आन्दोलनको नेतृत्व पंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ। 

ट्रेड युनियन आन्दोलनमा पनि खुलाबजार अर्थनीतिको प्रभाव परेको छ, श्रमजीवी वर्गको चिन्तन प्रणालीमा पनि अवसरवादी र उपभोक्तावादी प्रवृित्त देखापरेको छ। समाजको अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको छ। अहिले देशको ट्रेड युनियन आन्दोलनमाथि दोहोरो जिम्मेवारी सिर्जना भएको छ। एकातिर आन्तरिक रूपमा आफैंभित्र निरन्तर भ्रष्ट हुँदै गएको चिन्तन प्रणाली र चरित्रलाई शुद्धीकरण गर्नु जरुरी छ भने अर्कोतिर बाह्य रूपमा लामो समयदेखि अस्थिर बनेको राजनीतिक खिचातानी अन्त्य गरी श्रमजीवी वर्गको पक्षमा नयाँ संविधानको कार्यान्वयन र स्थानीय तहलगायत तीनै तहका सरकार चनाखो हुनुपर्ने बेला आएको छ।
यतिबेला मजदुरवर्ग आफ्नो हक र अधिकारको लागि विशेष चनाखो हुनुपर्ने अवस्था आएको छ । विश्वमा बढ्दै गएको प्रविधि र लोकतन्त्रका नाममा निर्वाचित तानाशाहहरु सत्तामा आएका छन् । उनीहरुले मजदुरवर्गको अधिकार खोस्न खोजिरहेका छन् । नेपालमा पनि नव गठित सरकारले ट्रेड युनियन खोल्न पाउने अधिकारमाथि धावा बोलेको छ । लोकतान्त्रिक अधिकारहरु नै खोसिने अवस्थामा श्रमिकहरुको अधिकार स्वतः खोसिन सक्छ । त्यसैले कार्ल माक्र्सले भने जस्तै ‘विश्वका मजदुरहरु एक हौं’ भन्ने वाक्यांश सबैले स्मरण गर्न जरुरी छ ।  

शुक्रबार, १८ बैशाख २०८३, ११ : ५७

प्रतिक्रिया