प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो दशबुँदे प्रतिबद्धता पत्रमा पूर्व-पश्चिम राजमार्गलाई पूर्व-पश्चिम महेन्द्र राजमार्ग भनेर उल्लेख गरेका छन । प्रधानमन्त्रीले महेन्द्र राजमार्ग भनेर उल्लेख गरेपछि नेपाली राजनीतिक बजारमा यो विषयले मुख्य स्थान पायो। यसका पक्ष र विपक्षमा तर्कबितर्क सुन्न र पढ्न पाईएको छ ।
एकथरि मानिसले प्रधानमन्त्रीको यो कदमलाई पञ्चायती यात्रा, महेन्द्र पथीय बाटोमा बालेन सरकार भनेर कडा आलोचना सहित त्यसको विरोध गरिरहेका छन् । अर्कोथरि मानिसहरूको तर्क त्यो राजमार्ग राजा महेन्द्रको शासन कालमा शिलान्यास भएकोले सरकारको यो निर्णयले महेन्द्रको इतिहासको सम्मान गरेको भन्दै प्रधानमन्त्री बालेन साहलाई धन्यवाद दिएका छन् ।
तर, आम सर्वसाधारण नेपाली जनताको ठाउँबाट हेर्दा यो बहसमा दुवैथरि तर्कको कुनै अर्थ छैन । अहिले महंगी, ईन्धन अभाव, बेरोजगारी र आर्थिकमन्दीले मुलुक थिलथिलो परेको बेला नेपाली जनतालाई पुरानो नाम राखे के हुन्छ ? नयाँ बदले के हुन्छ ? त्यो सरोकारको विषय होइन । यो नामले नेपाली जनताको दैनिक जीवनमा खास अर्थ राख्दैन । त्यसैले गरिखाने वर्गसँग यो निर्णय र बहसको खास सरोकार छैन । त्यसकारण यस्ता निर्थक बहसमा समय खर्चिनुभन्दा नयाँ विषय, जो अहिले जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्छ त्यता छलफल, बहस र निर्णयमा जान जरुरी छ । सरोकारवालाहरूको ध्यान त्यता जानु पर्दछ ।
पहिलो कुरा, कुनै पनि देशका मेघा प्रोजेक्टहरू एउटै शासन वा शासकको पालामा शुरु भएर पूरा हुँदैनन् । त्यो शुरु गरेर सम्पन्न गर्दासम्म धेरै सरकार, शासन ब्यवस्था आउने-जाने क्रम हुन्छ । त्यो अवस्थामा कसलाई यसको श्रेय दिने ? अवधारणा अगाडि ल्याउने लाई दिने कि ? नीतिगत निर्णय गर्नेलाई दिने ? शिलान्यास गर्ने लाई दिने कि ? बीचमा निरन्तर काम अगाडि बढाउनेलाई दिने ? अथवा सम्पन्न भएर उद्घाटन गर्नेलाई दिने ? यसको कुनै वस्तुनिष्ठ आधार छैन ।
यस्ता कुराले खाली विवाद मात्रै सिर्जना गर्दछ । र, समाज विभाजित हुन्छ । यसले अनावश्यक बहसमा समय खर्चिन पुग्छ । हाम्रो देशमा हरेक पटक शासन ब्यवस्था, सरकार बदलिएपछि आयोजना, सम्पदा, कैयौं ठाउँको नाम बदल्ने, कैयौ ऐतिहासिक सम्पदा भत्काउने जस्ता अतिवादी प्रवृत्ति निरन्तर चलिरहेको छ । पञ्चायती शासनमा शासकले देशलाई आफ्नो बिर्ता जसरी नामकरण गर्ने, पञ्चायती शासन निर्विकल्प भए जसरी त्यही अनुसारका स्तम्भ निर्माण गर्ने गरे । पञ्चायती शासन ढलेपछि बहुदलवादीहरूले त्यस्ता अतिवादी कामको बाढी नै चलाए । गणतन्त्र प्राप्तिपछि फेरि अर्को प्रकारले विगतको गलत अतिवादी कामकै निरन्तरता दिइयो ।अहिले जेनजी विद्रोहका जगमा भएको निर्वाचनपछि बनेको सरकार पनि त्यही विगतको अतिवादी प्रवृत्ति दोहोर्याउँदै छ । यो भनेको अति डरलाग्दो रोग हो।
यसरी पुराना संरचना र प्राकृतिक साँस्कृतिक धरोहरहरूको नाम बदल्दै जाने हो भने ती सबैको पहिचान मेटिन सक्छ ।आज एउटा, भोलि अर्को, पर्सी अर्को नामकरण गर्दै जाने हो भने त्यस सम्पदाको ऐतिहासिक पक्ष हराउँदै जान्छ । यसरी पहिचान मेटेर हामी हाम्रो सम्पत्तिलाई बेनामी बनाउन उद्यत नहोऊ । अझ पुरानोको विकल्पमा आएका नयाँले पनि त्यही मार्ग नै अपनाउने हो भने नयाँ र पुरानाका बीचको अन्तर के रहन्छ ? त्यसकारण कुनै ठाउँ विशेषको नाम त्यसको ऐतिहासिकतासँग जोडिएको हुन्छ । उदाहरणका लागि पाल्पा जिल्लाका प्राय सबै ठाउँको नाम मगर भाषामा रहेका छन् । अहिले ती ठाउँमा मगर कति छन् वा छैनन् त्यो गौण कुरा हो । तर त्यसको ऐतिहासिकता भने ती नाम र पहिचानसँग जोडिएको विषय हो ।
त्यसकारण कुनै पनि कुराको ऐतिहासिकता मेट्ने कार्य नगरौं । अरु कुनै पनि ठाउँको नामकरण शासक, प्रशासक वा व्यक्तिका नाममा राख्ने कुरा पनि वैज्ञानिक हैन । त्यसरी राख्ने हो भने त काठमाडौंको नाम पनि मञ्जुश्री राख्न पर्ला नि ? त्यसकारण त्यता बहस गर्नु उपयुक्त छैन । जनताको जनजिब्रोमा स्थापित नाम नै वास्तविक नाम हुन् । तसर्थ, हामीले दस्ताबेजमा नाम बदल्ने होडबाजी नगरौं । त्यसले समाजलाई विभिन्न कित्तामा विभाजित गर्दछ । यो कुरा नयाँको दाबी गर्नेहरूले विशेष रुपमा बुझ्न जरुरी छ ।
अहिले बालेन सरकारले घोषणा गरेको प्रतिबद्धतामा पूर्व-पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग भनिए पनि हिजो गणतन्त्र प्राप्तिपछि पूर्व-पश्चिम लोकमार्ग भनिए पनि जन जिब्रो मा स्थापित नाम पूर्व-पश्चिम राजमार्ग नै हो । त्यसकारण पनि जनबोलीमा स्थापित भैसकेका नाम बदलेर दस्ताबेजीकरण गरे पनि त्यसले व्यावहारिकतामा मान्यता पाउँदैन । यो सत्यता शासकहरुले बुझ्न जरुरी छ।
शासन, सत्ता, सरकार , प्रधानमन्त्री, मन्त्री अस्थायी कुरा हुन् भने ऐतिहासिकता, जनबोली स्थायी कुरा हुन् । हामी स्थायी मार्गमै हिँड्नु पर्दछ । हो, कहिलेकाही नयाँ र फरक काम हुँदा त्यसबेलाको सन्दर्भ आउन सक्दछ, त्यसलाई हामी सहजरुपमा लिनु पर्दछ । तर त्यसका लागि पुरानाको नाम बदलेर हैन, नयाँ काम गरेर आफ्नो पहिचान छाड्न सकिन्छ ।
नेपालको सबैभन्दा पुरानो राजमार्ग भनेको हुलाकी राजमार्ग हो, जो अझै पूरा भएको छैन । तर त्यसको नाम हुलाकी राजमार्ग नै हो । हो, यदि साच्चै गर्ने हुटहुटी र ईच्छाशक्ति भएर आफ्नो कार्यकालको पहिचान स्थापित गर्न मन छ भने भए अन्य काम गरेर स्थापित हुने प्रशस्त अवसर छ । अहिले झण्डै दुई तिहाईको सरकार चलाइरहेको रास्ट्रिय स्वतन्त्र पार्टीको बाचा (घोषणा) पत्रमा ३५ हजार किमि पक्कि सडक ५ बर्ष भित्रमा निर्माण गर्ने उल्लेख छ । तिनै सडक निर्माण गरेर आफू अनुकुलका नाम राखे हुन्छ । त्यसो गर्दा न विरोध हुन्छ न बहस नै । त्यो सामान्यतया न्यायोचित पनि हुन्छ । नत्र आफूले केही नगर्ने बनिसकेका संरचनाको दस्ताबेजमा नाम बदलेर मात्रै कुनै बहादुरी हुँदैन ।
यो कुरा सबै दलले र अझ पुरानाका खराबीविरुद्ध विद्रोह गरेर आएको शक्तिले बुझ्न जरुरी छ । त्यसकारण देश र जनताका समस्या एकातिर छन् । यतिबेला सुशासनको प्रश्न गम्भीर छ। ती सबै छोडेर बनिसकेका संरचनाको नाम बदलेर नयाँ बनिन्छ भन्ने नसोचौं । त्यसैले यस प्रकारको निरर्थक बहसमा लाग्नुको कुनै अर्थ छैन ।
प्रतिक्रिया