मनसुनजन्य प्रकोपबाट बच्ने सरकारको तयारीबारे

आइतबार, ३१ जेठ २०८३, ११ : २७


काठमाडौं - यस वर्षको मनसुन प्रारम्भका संकेतहरू देखिन थालेका छन् । सरकारले मनसुनको समयमा हुने प्राकृतिक विपत्तिहरुबाट कसरी सुरक्षित रहने भन्ने बारेमा के कस्तो तयारी गरेको छ । बिगतका घटनाहरुबाट शिक्षा लिंदै रोकथाम तयारीका कामहरु गर्नुपर्ने हुन्छ । हाम्रो मौसम पूर्वानुमान प्रणाली भरपर्दो छैन, मेसिनरीहरूमा खिया लागेका छन् । दलहरूका मेसिन ठीक हुने, देशको मेसिन काम नलाग्ने यो अतीतको अनुभव हो । प्रशासनयन्त्र निकै कमजोर रहेको अतीतको तीतो अनुभव छ ।

नयाँ सरकार आएपछि राज्य संयन्त्रको परिचालन पनि नयाँ तरिकाले हुन्छ होला भन्ने उत्सुकता रहनु स्वभाविक हो । यसपटक उस्तै प्रकृतिका तीन मन्त्रालय गाभेको छ । सहरी विकास, भौतिक तथा यातायात, खानेपानीलाई मर्ज गरी पूर्वाधार विकास मन्त्रालय बनाएको छ र यसकै लागि सबैभन्दा बढी बजेट ३ खर्ब ३ अर्ब विनियोजन गरेको छ । यसो भनौँ, बाढी–पहिरो जोखिम न्यूनीकरणकै लागि मात्रै पनि ३४ अर्बभन्दा बढी रकम विनियोजन गरेको छ । सधैँजसो सडक गल्ने, पहिरोले खाइदिने, सवारी साधन मात्रै नभई यात्रुहरूलाई समेत निकै दुख दिने गरेको छ, मनसुनले । वर्षाले, बाढीले, पहिरोले, चट्याङले, आगलागीले, हुरीबतासले धेरै क्षति पुर्‍याएका छन् । प्राकृतिक वितण्डा असह्य छ, जसरी मानव निर्मित वितण्डा देशले धेरै भोग्यो । सरकार नयाँ आएर मन्त्रालय मर्ज गरेर सिंहदरबार सजग भएर मात्रै विपत्ति त कम नहोलान्, तर यसपालि अधिक गर्मी हुने समयमा सरकार नयाँ आएपछि र आउँदै गर्दा विगतजस्तो अति पीडा सहनु परेको छैन । 

नयाँ सरकारले ल्याएको बजेटले आम नेपालीलाई थला पारेको छ । भान्छामा भ्याट, बिरामीमा भ्याट, विद्यालयमा भ्याट, यसो भनौँ हरेक श्वास–प्रश्वासमा भ्याट छ र आइतबारे बिदाले झन् पीडा थपेको छ । वर्षामा मात्रै होइन, हिउँदमा पनि सुख्खा पहिरो वा अन्य विपत्ति धेरै रहे अतीतमा देशमा । यो बजेटबाट किसान बढी प्रभावित छन् । बाली पूरै बगाएको विगत छ । बाली बीमा नाम मात्रको छ । सरकारसँग स्वास्थ्य बीमाकै भुक्तानी गर्ने पैसा छैन भनिएको छ । किसान बीमा, बाली, मल, बीउ, कीटनाशक औषधि कता हो कता । पशुधन झन् चौपट छ । बर्ड फ्लुको समस्या फेरि बल्झिएको छ । अण्डा, मासु, दूधमा आत्मनिर्भर भनिरहँदा यही चिन्ता बढी छ । पशु चौपायाहरू असुरक्षित छन् । किलो दाम्लोसहित पशु बगाएको अतीत छ । गोठहरू सुरक्षित छैनन् । पशु चिकित्सकहरू, प्राविधिक सरसल्लाह दिने जनशक्ति सम्बन्धित स्थानमा समयमा पुग्न नसकेको विगत छ । गोठै बगाइदिने र पशुपन्छीको आहार अस्वस्थकर हुँदा मानिसले अखाद्य तथा विषाक्त वस्तु खानुपर्दा नयाँ–नयाँ रोगको जटिलता थपिएका छन् । अन्नबालीमा रैथाने जातलाई प्रश्रय दिन सकिएको छैन । हाइब्रिडको भन्दा यिनमा उत्पादन कम हुने हुन्छ । परालको मूल्य बढ्दा बजारमा समस्या छ । सरकारले रैथाने जातका बीउबिजन संरक्षण गर्न किसानलाई अन्य देशले दिएजस्तो अनुदान दिन सकेको छैन । किसानले पाउने अनुदान कागजपत्र मिलाउन सक्ने बिचौलियाले पाउने, किसानले नपाउने अवस्था छ । सरकार रकम छैन भन्छ, कसेर कर असुल्छ ।

बजेटले मध्यमवर्गलाई भने राहत दिएको छ । गरीब तथा निम्नवर्गका लागि यो बजेट कागलाइ बेल पाक्यो हर्स न विस्मात जस्तो भएको छ । राज्यको स्थायी सरकार मानिने संस्थागत कर्मचारीतन्त्रलाई बालेन सरकारले विश्वस्त गराउन सकेको छैन । प्रशासनयन्त्र ‘पर्खौँ, हेरौँ, नसके घर फर्कौँ’ भन्ने मनस्थितिमा छ । कुनै पनि सरकार सफल हुनको लागि प्रशासनयन्त्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन राजनीतिज्ञ थिएनन् । उनी हलिउडका नायक थिए । तर अमेरिकी इतिहासमै सबैभन्दा सफल राष्ट्रपति बन्ने अवसर उनैले प्राप्त गरे । उनले कर्मचारीतन्त्रलाई विश्वासमा लिएकोले नै सफल बनेको बाइन्छ । त्यसैले टिमवर्कलाई बलियो बनाएर प्रशासन चलाउँदा नै सरकार सफल बन्ने हो ।  
निकट भविष्यमा मनसुनको कारण बाढी, पहिरो र डुबानको समस्या आउन सक्छ । यसको रोकथामको लागि बलियो र राम्रो टिमवर्क भएको कर्मचारीतन्त्र आवश्यक हुन्छ ।

आइतबार, ३१ जेठ २०८३, ११ : २७

प्रतिक्रिया