छानबिनमा कैफियत भेटिएन

कोरला नाकाबाट आयात गरिएका बिवाइडीका ईभीलाई ‘क्लिन चिट’, नियन्त्रणबाट सबै सवारी मुक्त

मंगलबार, ०२ असार २०८३, ११ : ३३

काठमाडौं- मुस्ताङको कोरला नाकाबाट नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधन (ईभी) माथिको छानबिनका क्रममा प्रारम्भिक रूपमा कुनै कैफियत नदेखिएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सबै सवारीसाधन फुकुवा गरेको छ। सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमका अनुसार जोमसोम र कोरला नाकामा नियन्त्रणमा राखिएका ईभीहरू आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाएर फुकुवा गरिएको हो।

गत जेठको दोस्रो र तेस्रो सातामा कोरला नाकाबाट बिवाइडीका ७७५ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा सवारीको मुस्ताङ भन्सार कार्यालयले जाँचपास गरिसकेको थियो। आयात प्रक्रियामा अनियमितता हुन सक्ने आशंकापछि सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो।

उक्त सवारीसाधन साइमन इंकले आयात गरेको थियो। प्रकरणबारे छानबिन गर्न अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गत मूल्याङ्कन शाखाका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

समितिले गत जेठ २१ गतेदेखि मुस्ताङ, पर्वत र कास्कीमा नियन्त्रणमा रहेका सवारीसाधनको स्थलगत अध्ययन तथा अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक प्रतिवेदनमा कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।

यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ तथा कोरला नाकामा ३९४ गरी कुल ७७५ सवारीसाधन नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारीसाधन फुकुवा गरिएको हो। उनले प्रारम्भिक छानबिनबाट कैफियत पुष्टि नभएपछि सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए।

गिरीका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये आइतबार र सोमबारसम्म २२३ वटा गन्तव्यतर्फ पठाइसकिएको छ भने ४३ वटा मात्र बाँकी छन्। सशस्त्र प्रहरीले कोरला नाकामा रहेका जाँचपास भइसकेका सवारीसाधनलाई पनि क्रमशः गन्तव्यतर्फ पठाइने तथा जाँचपास हुन बाँकी सवारीसाधनको आवश्यक भन्सार प्रक्रिया पूरा गरी ढुवानी गरिने जनाएको छ।

करिब दुई सातासम्म नियन्त्रणमा रहेका बिवाइडीका विद्युतीय सवारीसाधन फुकुवा भएसँगै आयातकर्ता कम्पनीलाई राहत मिलेको छ भने ईभी आपूर्तिको प्रक्रिया पनि पुनः सामान्य बन्ने अपेक्षा गरिएको छ।

मंगलबार, ०२ असार २०८३, ११ : ३३

प्रतिक्रिया