गोरखामा विश्व योग दिवसको उत्साह, २०० बढी सहभागीले गरे योग अभ्यास

आइतबार, ०७ असार २०८३, १७ : ४३

काठमाडौं- १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा आयोजित एकदिवसीय निःशुल्क योग शिविर उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा तथा नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल, हिमालयन वेलनेस फाउन्डेसन र गोरखनाथ कल्याण केन्द्र गोरखाको सह–आयोजनामा भएको शिविरमा करिब २०० जनाको सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित शिविरमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर पुन, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्केलगायत सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आधुनिक र व्यस्त जीवनशैलीका कारण बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा नसर्ने रोगबाट जोगिन योग प्रभावकारी माध्यम रहेको बताए।

“योग शरीरलाई स्वस्थ बनाउने अभ्यास मात्र होइन, मन, विचार र व्यवहारलाई समेत सकारात्मक दिशातर्फ डोर्‍याउने जीवनपद्धति हो,” उनले भने, “प्रत्येक नागरिकले योगलाई आफ्नो दैनिक जीवनशैलीको अभिन्न अंग बनाउन आवश्यक छ।”

प्रजिअ श्रेष्ठले नागरिकको स्वास्थ्य, सचेतना र समग्र कल्याणका लागि जिल्ला प्रशासन कार्यालयले यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

शिविरका मुख्य प्रशिक्षक योगी अशोक शर्मा भट्टले योग, ध्यान, प्राणायाम तथा हठयोगसम्बन्धी विशेष प्रशिक्षण दिएका थिए। उनले नियमित योग अभ्यासले शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई अनुशासित बनाउने उल्लेख गर्दै योगलाई शारीरिक व्यायाममा मात्र सीमित नराखी जीवन रूपान्तरणको माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखे।

उनले हठयोगको इतिहास, सिद्धान्त र अभ्यास विधिबारे जानकारी गराउँदै शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्न हठयोगको महत्वपूर्ण भूमिका रहने बताए।

त्यसैगरी प्रशिक्षक शबनम खड्गी, अच्युतकृष्ण शरण तथा यलिस बन्जारा देवेन श्रेष्ठले योगासन, प्राणायाम, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी प्रयोगात्मक सत्र सञ्चालन गरेका थिए। सहभागीहरूले विभिन्न आसन, श्वास–प्रश्वास अभ्यास तथा ध्वनि चिकित्सामार्फत मानसिक शान्ति, आन्तरिक सन्तुलन र सकारात्मक ऊर्जा प्राप्त गर्ने विधिबारे जानकारी लिएका थिए।

कार्यक्रममा नेपाल योग, साधना र अध्यात्मको प्राचीन भूमि रहेको उल्लेख गर्दै गोरखा गुरु गोरक्षनाथ र माता गोरखकालीसँग जोडिएको ऐतिहासिक तथा आध्यात्मिक केन्द्र भएको धारणा राखिएको थियो। गोरखालाई योग तथा आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरिएको थियो।

शिविरमा सहभागी सुरक्षा निकायका कर्मचारी, सरकारी सेवक तथा स्थानीय नागरिकहरूले योग अभ्यासले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको अनुभव सुनाउँदै यस्ता कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजक संस्थाहरूले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समाजमा स्वास्थ्य चेतना, सकारात्मक सोच, आत्मअनुशासन र आध्यात्मिक जागरण फैलाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

y 2

आइतबार, ०७ असार २०८३, १७ : ४३

प्रतिक्रिया