नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना

बुधबार, १७ असार २०८३, ११ : ५२

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय लिएर अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिइएको छ । कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सहयोग तथा वाइवी सलुसन्सको प्रशिक्षण साझेदारीमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठकुराठीले पछिल्लो समय आइटी तथा कम्प्युटर इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरू जानअन्जानमा साइबर सुरक्षा र साइबर अपराधमा पर्दै गइरहेकोले त्यस्ता घटनाहरू न्यूनीकरण गर्न साइबर सुरक्षा सचेतना अपरिहार्य भएको बताए । 

उनले साइबर सुरक्षा, डिजिटल सुरक्षाको महत्व तथा बढ्दो साइबर जोखिमबारे विद्यार्थी तथा सहभागीहरूमा सचेतना अभिवृद्धि गर्न सरकार, नियामक निकाय, विश्वविद्यालय तथा कलेज र सरोकारवालाहरू लागिपर्नु पर्ने समेत बताए ।

WhatsApp Image 2026-06-30 at 16.59.03

त्यसैगरी, नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरूलाई आइटी तथा साइबर अपराध, साइबर सुरक्षा र साइबर कानुनको  ज्ञान दिन कार्यक्रम गरिएको जानकारी दिँदै पछिल्लो समय नेपालमा पनि साइबर अपराध, वित्तीय अपराध तथा आइटीबाट गलत कृयाकलाप भइरहेकोले त्यस्ता विषयमा आइटी अध्ययन गरिरहेका विद्यार्थीहरू बढी सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । यस्तै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिन यस्ता सचेतनामुलक कार्यक्रमहरू समयसमयमा दिइने प्राचार्य भण्डारीले बताए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने गरेको छ । व्यवहारिक, जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षण विधिद्वारा अध्ययन अध्यापन हुने यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी मान्यता दिएको छ ।
 

बुधबार, १७ असार २०८३, ११ : ५२

प्रतिक्रिया