शिखर इन्स्योरेन्सको नयाँ कीर्तिमान, एकै आर्थिक वर्षमा ६ अर्ब रुपैयाँ बीमा शुल्क संकलन

शुक्रबार, १९ असार २०८३, १४ : ३२

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्दै नेपाली निर्जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।

कम्पनीका अनुसार यो उपलब्धि नेपालको बीमा क्षेत्रको विस्तार, वित्तीय समावेशीकरण तथा आर्थिक जोखिम व्यवस्थापनमा कम्पनीले खेलेको प्रभावकारी भूमिकाको परिणाम हो।

शिखर इन्स्योरेन्सले स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमा योजनाको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। हाल कम्पनीले देशका ७३ जिल्लामा फैलिएका १३१ कार्यालयमार्फत बीमा सेवा प्रदान गरिरहेको छ।

कम्पनीका अनुसार सुदृढ वित्तीय अवस्था, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, प्रभावकारी पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा तथा ग्राहक केन्द्रित कार्यसंस्कृतिले यो सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।

यस्तै, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यासका कारण कम्पनीले नेपाली निर्जीवन बीमा क्षेत्रमा अग्रणी स्थान कायम गर्न सफल भएको दाबी गरेको छ।

कम्पनीले आफ्नो सफलतामा योगदान पुर्‍याउने ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, सेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ।

शिखर इन्स्योरेन्सले आगामी दिनमा पनि नवीनता, उत्कृष्ट सेवा, सुशासन तथा व्यावसायिक उत्कृष्टतालाई निरन्तरता दिँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार, १९ असार २०८३, १४ : ३२

प्रतिक्रिया