काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो दोस्रो त्रैमासको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ प्रणालीमा निक्षेप सङ्कलन र कर्जा प्रवाह, बीमा प्रिमियम सङ्कलन तथा व्यापार सेवामा भएको विस्तारले तेस्रो त्रैमासको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिएको छ।
यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही घरेलु उत्पादन क्षेत्रको सुस्तताका कारण समग्र आर्थिक वृद्धिदर अपेक्षाकृत मध्यम स्तरमै सीमित भएको कार्यालयले जनाएको छ।
तेस्रो त्रैमासमा वर्गीकृत १८ आर्थिक गतिविधिमध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धि भएको छ। सबैभन्दा उच्च वृद्धि विद्युत् तथा पेट्रोलियम क्षेत्रमा देखिएको छ, जहाँ २४.५ प्रतिशतको विस्तार भएको छ। त्यसपछि वित्तीय तथा बीमा, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापार क्षेत्रले पनि उल्लेखनीय वृद्धि हासिल गरेका छन्।
कृषि क्षेत्रको समग्र वृद्धिदर १.५८ प्रतिशत रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने ०.०४ प्रतिशतले संकुचित भएको तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार समीक्षा अवधिमा नेपालको अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया