काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल २१ लाख ९६ हजार १४८ वटा बीमालेख जारी गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ लाख ९२ हजार २६१ वटा भन्दा ३ हजार ८८७ वटा बढी हो।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको पहिलो नौ महिनामा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा धेरै बीमालेख जारी गर्ने कम्पनी बनेको छ। कम्पनीले ३ लाख १३ हजार ५७९ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ लाख ७४ हजार २११ वटा बीमालेख जारी गरेको थियो। यस वर्ष कम्पनीको बीमालेख संख्या १ लाख ३९ हजार ३६८ वटाले बढेको छ।
बीमालेख जारी गर्ने कम्पनीहरूको सूचीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा २ लाख ४९ हजार ८६८ वटा बीमालेख जारी गरेको छ।
त्यसैगरी शिखर इन्स्योरेन्सले २ लाख ३८ हजार ६६७ वटा बीमालेख जारी गर्दै तेस्रो स्थान हासिल गरेको छ। नेको इन्स्योरेन्सले २ लाख २५ हजार २८० वटा र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५ हजार ५९४ वटा बीमालेख जारी गरेका छन्।
समग्र तथ्यांकले निर्जीवन बीमा क्षेत्रमा बीमालेख जारी हुने क्रम स्थिर रूपमा बढिरहेको देखाएको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले उल्लेखनीय वृद्धिसहित बजारमा अग्रता कायम गरेको छ।
प्रतिक्रिया