साउदीमा अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने

शुक्रबार, १७ साउन २०७६, १० : ३२

काठमाडौँ – साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ ।

नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा महिला र पुरुषबीच भेदभाव हुनेछैन ।

शाही आदेशका अनुसार अब महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर गर्ने अधिकार हुनेछ ।

साथै जागिरमा महिलालाई थप अवसर दिने कुरा भनिएको छ । नयाँ नियम अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ ।

अहिलेसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान वा पासपोर्टका लागि निवेदन दिन कुनै पुरुष अभिभावक (श्रीमान्, पिता वा अन्य पुरुष आफन्त) बाट अनुमती लिनु पर्दथ्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि विभिन्न सुधारको घोषणा गरेका थिए ।

शुक्रबार, १७ साउन २०७६, १० : ३२

प्रतिक्रिया