समाचार

मन्त्रिपरिषद् बैठक : इन्टरमोडल समिति गाभ्ने र लगानी बोर्डमा नयाँ सीईओ नियुक्त गर्ने सरकारको निर्णय

बुधबार, २० साउन २०८३, १३ : ४२

काठमाडौं- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड मा गाभ्न स्वीकृति प्रदान गरिएको छ।

त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा पर्वतका प्राध्यापक डा. खड्कबहादुर केसी तथा सचिवमा भोजपुरका डा. रोजेश श्रेष्ठ नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै, सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने र घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ।

बुधबार, २० साउन २०८३, १३ : ४२

प्रतिक्रिया