बाढीले सबैभन्दा बढी प्रभावित रसुवामा कति भयो क्षति ?

आइतबार, २१ भदौ २०८३, ०८ : २०

काठमाडौं - भदौ १० मा आएको विनाशकारी बाढीले सबैभन्दा बण्ी क्षति रसुवामा भएको छ । तिब्बतको ल्हेन्दे  खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन्।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ।

श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन्।

यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए।

विपद्का क्रममा फेलापरेका शवमध्ये छ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ।

उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा  गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो।

अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए।

प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठवटा सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ। छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ।

जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ।

थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको समाचार छ।

आइतबार, २१ भदौ २०८३, ०८ : २०

प्रतिक्रिया