फाइल फोटो
काठमाडौं– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि प्रहरीले यात्रु तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
नेपाल प्रहरीले शनिबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै वर्षा जारी रहेकाले सडकको अवस्था जोखिमपूर्ण रहेको जनाएको हो।
प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्था मूल्यांकन गरेपछि मात्र सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिनेछ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोला–टोखा–छहरे सडकखण्डमा पनि रातको समयमा यात्रा थप जोखिमपूर्ण हुने भएकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
यता, चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा खसेको पहिरो पन्छाएपछि उक्त सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले अन्य केही मुख्य राजमार्ग तथा सडकखण्डसमेत अवरुद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सडक निकायबाट सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
सडकको अवस्था जुनसुकै बेला थप बिग्रन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र प्रहरी तथा सडक निकायले दिएको निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ।
प्रतिक्रिया