अपडेट

भोटेकोशी बाढी : ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार

शनिबार, २० भदौ २०८३, १३ : ५४

नुवाकोट– नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीको विनाशकारी बाढीका कारण घरभित्र पुरिएकी एक महिलाको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

बिदुर नगरपालिका–१० की चन्द्रिका श्रेष्ठलाई शनिबार प्रहरीले घरभित्रबाट सकुशल उद्धार गरेको हो। बेत्रावतीस्थित आनन्द श्रेष्ठको घर पहिरोले आधा पुरिएको अवस्थामा थियो।

नुवाकोटका प्रहरी उपरीक्षक ९एसपी० विपिन रेग्मीका अनुसार घरभित्रबाट मानिसको आवाज आएको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि प्रहरीले पहिरो पन्छाउँदै उत्खनन गर्दा चन्द्रिका श्रेष्ठलाई जीवितै फेला पारेको हो।

११ दिनसम्म पहिरोभित्र पुरिएर पनि जीवित रहन सफल श्रेष्ठलाई उद्धारलगत्तै उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।

भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी र पहिरोका कारण कैयौँ घर तथा संरचना पुरिनुका साथै ठूलो संख्यामा मानिस प्रभावित भएका छन्।

११ दिनपछि महिलाको जीवितै उद्धार भएपछि स्थानीय बासिन्दा र उद्धारमा खटिएका सुरक्षाकर्मीहरूमा खुसी छाएको छ।

शनिबार, २० भदौ २०८३, १३ : ५४

प्रतिक्रिया