अपडेट

भोटेकोशी बाढी : १,३४४ शव फेला, ४,८९८ जना अझै बेपत्ता

शनिबार, २० भदौ २०८३, ०८ : २२

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।

फेला परेका शवमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। यसबाहेक ५०१ वटा शवका आंशिक अंगसमेत फेला परेका छन्। ती अंगको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमध्ये २ हजार ९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता नेपालीमध्ये २ हजार ४४८ पुरुष र ४८२ महिला छन्। प्रहरीका अनुसार थप १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार ६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७ हजार ३८७ नेपाली र १ हजार २४४ विदेशी नागरिक छन्। विस्थापित ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

खोज तथा उद्धार कार्यमा ७ हजार २१२ जना प्रहरी परिचालन गरिएको छ। उद्धारका क्रममा ६५ जना प्रहरी कर्मचारीसमेत बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

शनिबार, २० भदौ २०८३, ०८ : २२

प्रतिक्रिया