काठमाडौं– रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
बाढीपछि सुरुङभित्र थुनिएका ती चिनियाँ नागरिकलाई ११ दिनको प्रयासपछि नेपाली सेनाको उद्धार टोलीले शनिबार जीवितै उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। नेपाली सेनाले उद्धारपछि उनको तस्वीरसमेत सार्वजनिक गरेको छ।
आयोजनाको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीमार्फत भइरहेको छ। उद्धार गरिएका व्यक्ति आयोजनाको निर्माणमा संलग्न प्राविधिक वा कामदार हुनसक्ने अनुमान गरिएको छ। यद्यपि उनको परिचय र भूमिकाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
यसअघि बिहीबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जना नेपाली कामदारको जीवितै उद्धार गरिएको थियो। सञ्जय साह र कविर महर्जनलाई लामो प्रयासपछि सुरुङबाट बाहिर निकालिएको थियो।
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा कामदार फसेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली निरन्तर परिचालन भइरहेको छ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा अझै केही व्यक्ति सम्पर्कविहीन रहेको भन्दै सुरक्षा निकायले खोजी तथा उद्धार अभियानलाई तीव्रता दिएका छन्।
प्रतिक्रिया