अपडेट

कृष्णभिरमा वैकल्पिक ट्रयाकको ब्रेकथ्रु, पृथ्वी राजमार्ग चाडै खुल्ने

आइतबार, २१ भदौ २०८३, १० : १०

काठमाडौं– पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा वैकल्पिक सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सडक विभागको टोलीले आज केहीबेरअघि साविक कृष्णभिरभन्दा माथिबाट करिब २०० मिटर लामो वैकल्पिक ट्रयाकको ब्रेकथ्रु गरेको हो।

ट्रयाकको ब्रेकथ्रु भएसँगै निर्माण उपकरणहरू उक्त स्थानबाट वारपार गर्न सक्ने भएका छन्। अब पहिरोको अवस्था अध्ययन गरी ड्रेन निर्माण वा अन्य आवश्यक काम बाँकी भए पूरा गरेर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको सडक विभागले जनाएको छ।

सडक विभागका एक अधिकारीका अनुसार ट्रयाक खुलेसँगै पृथ्वी राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। “ट्रयाक खुल्यो। अब पहिरोको अवस्था अध्ययन गरेर ड्रेन वा अन्य कुनै काम बाँकी भए त्यसको अध्ययन गरी सडक खुलाउने तयारी सुरु गरेका छौँ,” उनले भने।

गत भदौ १२ गते कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएको छ। सडक अवरुद्ध भएपछि पश्चिम नेपालबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन प्रभावित भएका छन्। खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने काठमाडौं उपत्यकामा ग्यास अभावसमेत देखिएको छ।

सडक विभागसहित विभिन्न निकायका टोलीले अवरुद्ध सडक भोलिदेखि नै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइरहेका छन्।

यसैबीच, धादिङकै गजुरीनजिक परेवाभिरमा सडक मर्मतका लागि आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार हाल एकतर्फी सञ्चालनमा रहेको सडकलाई मर्मत गरी दुईतर्फी सञ्चालनयोग्य बनाउन सडक बन्द गर्न लागिएको हो।

आइतबार, २१ भदौ २०८३, १० : १०

प्रतिक्रिया