बाढी प्रभावित क्षेत्रमा सैन्य पोसाकमा परिचालित ‘ग्रिन आर्मी’को दर्ता खारेज

आइतबार, २१ भदौ २०८३, १६ : ३६

काठमाडौं– भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै पोसाक लगाएर परिचालन भएको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक गैरनाफामूलक संस्थाको दर्ता खारेज गरिएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाले नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र संरचना प्रयोग गर्दै गतिविधि सञ्चालन गरेपछि यसको वैधानिकता र कार्यशैलीमाथि प्रश्न उठेको थियो।

उच्च सैनिक स्रोतका अनुसार संस्थाको दर्ता खारेज भएसँगै त्यसले गर्दै आएका सम्पूर्ण गतिविधि रोकिएका छन्। विसं २०७७ साउनमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको संस्थाले कानुनी व्यवस्थाको प्रयोग गर्दै नेपाली सेनाको संरचनासँग मिल्दोजुल्दो स्वरूप निर्माण गरेको पाइएको थियो।

उक्त संस्थाले प्रयोग गर्ने हरियो अर्धसैनिक पोसाक, दर्ज्यानी चिह्न तथा ‘मार्शल’ र ‘क्याडेट’जस्ता दर्जाका विषयमा समेत प्रश्न उठेको थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले रक्षा र गृह मन्त्रालयको सहमतिमा त्यस्तो पोसाक तथा दर्जा प्रयोग गर्न अनुमति दिएको बताइएको थियो।

आइतबार, २१ भदौ २०८३, १६ : ३६

प्रतिक्रिया