रास्वपामाथि तामाङको प्रश्न– पीडित महिलामाथिको आक्रमणबारे किन मौन ?

आइतबार, २१ भदौ २०८३, १६ : १५

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले बाढीमा श्रीमान् बेपत्ता भएकी महिलामाथि सामाजिक सञ्जालमा भएको अमानवीय गालीगलौज तथा आक्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

बाढीमा श्रीमान् बेपत्ता भएको दशौँ दिनसम्म पनि अवस्था पत्ता नलागेपछि खोजी गरिदिन राज्यसँग आग्रह गरेकी पीडित महिलामाथि सरकार समर्थक भनिएका व्यक्तिहरूबाट अश्लील गाली तथा मृत्युको कामनासहितका टिप्पणी गरिएको भन्दै तामाङले गम्भीर आपत्ति जनाएका हुन्।

उनले उक्त घटनालाई पीडित महिलामाथिको आक्रमणमा मात्र सीमित नराखी सभ्य समाजमाथिकै बर्बर हमलाका रूपमा लिनुपर्ने बताएका छन्।

“बाढीमा आफ्नो श्रीमान् बेपत्ता भएर दशौँ दिनसम्म पत्ता नलागेपछि राज्यलाई ‘मेरो श्रीमान् खोजिदेऊ’ भन्ने पीडित महिलामाथि सरकार समर्थक डिजिटल गुण्डाहरूले गरेको अमानवीय आक्रमण सभ्य समाजमाथि भइरहेको बर्बर हमला हो,” तामाङले सामाजिक सञ्जालमा लेखेका छन्।

मानवीय संवेदनाबाट च्यूत हिंस्रक जमातले समाजलाई आतंकित बनाउँदै गैरजिम्मेवार राज्यमाथि प्रश्न नगर्न चेतावनी दिइरहेको उनको आरोप छ। यस्तो प्रवृत्ति लोकतान्त्रिक राज्य र समाजका लागि अस्वीकार्य रहेको उल्लेख गर्दै उनले यसलाई स्वीकार गर्नु मुलुकलाई बर्बर शासनतर्फ जान दिनुसरह हुने चेतावनी दिएका छन्।

तामाङले उक्त आक्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक संलग्न रहेको आरोप लगाउँदै पार्टीले संस्थागत रूपमा नबोल्नु मौन स्वीकृतिसरह हुने बताएका छन्।

उनले रास्वपा सभापति रवि लामिछानेलाई प्रत्यक्ष प्रश्न गर्दै लेखेका छन्, “के तपाईं ती पीडित दिदीबहिनीलाई दोस्रोपटक पीडित बनाउने ‘सेकेन्डरी भिक्टिमाइजेसन’ गर्न चाहनुहुन्छ? टेलिभिजनमा अरूलाई प्रश्न गरेर स्थापित हुनुभएका तपाईंलाई अरूले प्रश्न गर्न नपाउने हो?”

सरकारका प्रधानमन्त्रीसमेत रहेका रास्वपाका वरिष्ठ नेताले ती टिप्पणीकारलाई अपराधी करार गरिसकेको उल्लेख गर्दै तामाङले त्यसबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन पहल गर्न लामिछानेलाई आग्रह गरेका छन्।

“प्रधानमन्त्रीमाथि प्रश्न गर्दा सञ्चारकर्मीलाई गिरफ्तार गर्ने प्रधानमन्त्री स्वयंलाई यो जमातमाथि कारबाही गर्न केले रोकेको छ? प्रधानमन्त्री आफैँले अपराधी करार गरिसकेपछि कारबाही गर्नुपर्दैन?” तामाङले प्रश्न गरेका छन्।

उनले पीडित महिलामाथि गालीगलौज तथा धम्की दिने व्यक्तिहरूमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

“तुरुन्तै कारबाही प्रक्रिया अघि बढाइयोस्। होइन भने, यो बाढीमा जस्तै तपाईंको जमातलाई समाजले बगाउनेछ। चेतना भया!” तामाङले लेखेका छन्।

आइतबार, २१ भदौ २०८३, १६ : १५

प्रतिक्रिया